ओलीको तस्बिरविनै पार्टी स्थापना दिवसमा एमालेको प्रचार

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

एमालेले पार्टीको ७७औँ स्थापना दिवसका लागि अध्यक्ष केपी ओलीको तस्बिरविनै कार्यक्रमको प्रचार गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो २ बजे आयोजना गरिएको कार्यक्रमका लागि महासचिव शंकर पोखरेलले नै अध्यक्ष ओलीको तस्बिरविनैको सूचना सामग्रीको प्रचार गरेका छन् ।

एमालेभित्र पार्टीलाई केन्द्रदेखि तलैसम्म पुनर्गठन गर्नुपर्ने आवाज उठिरहेका वेला पार्टी स्थापना दिवसका अवसरमा गरिने कार्यक्रमको सूचना सामग्रीमा तयार पारिएका विभिन्न सामग्रीमा ओलीको तस्बिर नराखिएकाले एमाले वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । जबकि ओलीको विश्वासपात्र महासचिव पोखरेलले नै उनको तस्बिर नराखिएको सूचना पोस्टरमार्फत कार्यक्रममा सहभागी हुन पार्टीपंक्तिलाई अपिल गरेका छन् ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले कार्यक्रममा सहभागी हुन आह्वान गरिएको सूचना मात्र भएकाले कसको तस्बिर राखियो कि राखिएन भन्ने कुराको कुनै अर्थ नै नभएको बताए । ‘मूल ब्यानरमा होइन, कार्यक्रममा सहभागी हुन सूचित गरिएको सूचना सामग्रीमा अध्यक्षको तस्बिर नराखिएको हो, सूचना सामग्रीमा कहाँ राखिन्छ त ?’ अधिकारीले भने । उनले कार्यक्रमको मूल ब्यानर तयार नभइसकेको भन्दै स्वास्थ्य अवस्थाका कारण अध्यक्ष ओलीको उपस्थितिमा स्थापना दिवससम्बन्धी कार्यक्रम आयोजना हुने कि नहुने अझै निश्चित भइनसकेको बताए । ‘अध्यक्षज्यू अप्रेसन गरेर स्वास्थ्य लाभमा हुनुहुन्छ, यस्तो अवस्थामा उहाँ स्थापना दिवसजस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी हुने कि नहुने अझै तय भइसकेको छैन, त्यसैले सहभागिताका लागि आह्वान गरिएको सूचना सामग्रीमा उहाँको तस्बिर किन राखिएन भन्ने प्रश्नकै अर्थ रहेन,’ उनले भने ।

स्थापना दिवस पनि एमालेले सामान्य रूपमै मनाउने तयारी गरेको छ । १७ चैतमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले पार्टी स्थापना दिवसमा अन्तर्क्रिया, संवाद, विचार गोष्ठीलगायत विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउने निर्णय गरेको थियो । अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण पनि कार्यक्रममा वक्ता को–को रहने, कसरी कार्यक्रम सञ्चालन गर्ने तय भइनसकेको केन्द्रीय कार्यालययले जनाएको छ । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र सल्लाहकार र उपत्यकामा रहेका पार्टीका कार्यकर्ता तथा शुभेच्छुकको उपस्थितिमा कार्यक्रम आयोजना गरिए पनि अरू पार्टीबाट सहभागी हुने गरी एमालेले कसैलाई पनि आमन्त्रण गरेको छैन ।

विगतमा भने एमालेले आफ्नो प्रचार सामग्री तयार गर्दा र पार्टी कमिटीहरूले कुनै पनि कार्यक्रमको ब्यानर बनाउँदा अध्यक्ष ओलीको तस्बिर अनिवार्य राख्न निर्देशन दिएको थियो । २९ साउन ०८० को सचिवलाय बैठकले सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीबाहेक अन्यको फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो । त्यतिवेला तत्कालीन उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी पार्टीका निर्णयबारे नेता–कार्यकर्तालाई परिपत्र गरिएको सामाजिक सञ्जालबाटै पनि जानकारी दिएका थिए ।

See More On

सुझावित समाचार