अवैध रूपमा नदीजन्य वस्तु गिट्टी, बालुवा उत्खनन बढ्दो छ । यहाँका विशेषगरी चन्दननाथ नगरपालिकाको दानसाँघु र उठिल्ले, गुठीचौर गाउँपालिकाको झारज्वाला र गुठीचौर, पातारासी गाउँपालिकाको लासी र उर्थ, तातोपानी गाउँपालिकाको हाँकुटापु, तिलाकोट र राँकानजिकको नदीछेउछाउमा अवैध रूपमा गिट्टी, बालुवा उत्खनन हुने गरेको छ।
यस्तै, तिला गाउँपालिकाको कुडारी, त्रिवेणी र रारा, सिँजा गाउँपालिकाको धितालिही, नराकोट, विष्टवाडा र रनुखाना, कनसुन्दरी गाउँपालिकको कोटघर, लासीपाटन र हिमा गाउँपालिकाको बाघबजार, बाँजागाड र आचार्यलिहीमा अवैध रूपमा नदीजन्य वस्तु उत्खनन गर्ने गरेका छन् ।
यहाँ जवा, तिला र हिमा नदी बग्ने गरेका छन् । यिनै नदी क्षेत्रमा आक्रामक रूपले अवैध रूपमा नदीजन्य वस्तु गिट्टी, बालुवा उत्खनन हुने गरेकाे छ। तर, सरोकारवाला निकायका प्रमुख प्रतिनिधि तैँ चुप मै चुप अवस्थामा छन् । उनीहरू मूकदर्शक बनेर बसेका छन् ।
स्थानीय सरकारको प्रमुख राजस्व आम्दानीको रूपमा रहेको नदीजन्य वस्तु गिट्टी, बालुवा व्यक्तिले जथाभावी उत्खनन गर्ने र व्यक्तिगत रूपमा लाभ लिने गरेका छन् । स्थानीय सरकारलाई ऐन, कानुन, कार्यविधि बनाएर गिट्टी, बालुवाबाट राजस्व संकलन गरी बिक्री–वितरण गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि बेवास्ता गरिएको छ । अवैध रूपमा डोजर प्रयोग गरी उत्खनन गर्दा नदी कुरूप बन्दै गएको छ भने अर्कोतर्फ माछा, भ्यागुता, सर्पजस्ता चलचर प्राणी लोप हुँदै गएका छन् । उनीहरूको जीवन–चक्र नै ध्वस्त पारिएको छ ।
कानुन बाझिने गरी सहमति
यिनै अवैध रूपमा नदीजन्य वस्तु गिट्टी, बालुवा उत्खनन गर्ने स्थान तातोपानी गाउँपालिका– ४ हाँकुटापु हो । यहाँ बाह्रै महिना गिट्टी, बालुवा उत्खनन हुने गरेको छ। अवैध रूपमा गिट्टी, बालुवा उत्खननले हाँकुटापुमा रहेको रंगशाला पनि जोखिममा रहेको छ ।
अवैध रूपमा गिट्टी, बालुवा उत्खननका कारण घेरा–पर्खाल भत्केको छ। सरकारी लगानी एक वर्ष नपुग्दै क्षतिग्रस्त बनेको छ । स्थानीय पूर्वाधार आयोजना कार्यालय (डोली) प्रदेश इकाइ सुर्खेतको गत आर्थिक वर्ष ०८१/८२ मा एक करोड लागतमा निर्माणाधीन रंगशाला घेरा–पर्खाल भत्काइएको छ । गत आर्थिक वर्ष ०८१/८२ को मलेप प्रतिवेदनले पनि अवैध रूपमा बालुवा संकलन गर्ने पक्षबाट राजस्वबापत् चार लाख असुल गर्नू भनी बेरुजुसमेत लेखेको छ ।
तर, तातोपानी गाउँपालिका र हाँकु गाउँवासीबिच कानुन बाझिने गरी सहमति भएको छ। हाँकुवासीले हाँकु टापुमा पालिकास्तरीय रंगशाला निर्माण गर्ने र टापुछेउछाउ नदीको बालुवा गाउँले संकलन गर्ने सहमति भएको छ । तातोपानी गाउँपालिका– ४ हाँकु गाउँका भानुभक्त न्यौपानेका अनुसार हाँकु टापुकाे बालुवा दुई–चारजना व्यक्तिले संकलन गरेको होइन । यो हाँकु गाउँले नै बालुवा संकलन गर्ने गरेको छ।
उनले भने, ‘पहिलो स्थानीय तह तातोपानी गाउँपालिका अध्यक्षमा नवराज न्यौपाने निर्वाचित हुँदा हाँकु टापु पालिकास्तरीय रंगशाला निर्माण गर्ने र त्यो टापुवरिपरिको बालुवा गाउँलेले संकलन गर्ने सहमति भएको थियो । सोहीबमोजिम अहिलेसम्म संकलन हुँदै आएको छ। संकलित गिट्टी, बालुवा बिक्री–वितरण गरेर आम्दानी भएको रकम गाउँको हितमा खर्च गर्ने गरिएको छ ।
गिट्टी, बालुवा बिक्री–वितरण गरी संकलन गरिएको करिब १५–२० लाख रकम हाँकु गाउँकै चौपट सामुदायिक वन समितिको खातामा जम्मा गर्ने गरिएको छ । त्यही रकमबाट खानेपानी मर्मत गर्नेदेखि दुःखी गरिब बिरामी हुँदा खर्च गर्ने गरिएको उनले बताए । उनले भने, ‘यस्तै दुई–तीनपटक गाउँको स्कुलमा पनि आवश्यक खर्च दिएका छौँ। त्यो सबै खर्चको हिसाब सामुदायिक वन समितिले राख्ने गरेको छ। गिट्टी, बालुवा संकलन गर्ने क्रममा रंगशालाको केही पर्खाल भत्केको छ । त्यो पर्खाल दुई–तीन दिनमा मर्मत गर्ने सल्लाह गरेका छौँ।’
अर्का स्थानीय तीर्थराज न्यौपानेले भने, ‘हाँकु गाउँवासी र तातोपानी गाउँपालिकाबिच भएको त्यतिवेलाको सहमति कानुनतः बाझिएको छ । त्यतिवेला नै तातोपानी गाउँपालिका चुकेको देखिन्छ। त्यही सहमतिअनुसार नै अहिलेसम्म हाँकु टापु क्षेत्रको बालुवा संकलन हुँदै आएको छ।’ तर, स्थानीय स्रोतका अनुसार अवैध रूपमा गिट्टी, बालुवा उत्खनन गर्ने तातोपानी गाउँपालिका– ४ हाँकु गाउँका नरेन्द्र न्यौपाने, हरिदत्त न्यौपाने हरिचन्द्र न्यौपाने, गंगाबहादुर हमाल र भानुभक्त न्यौपाने रहेको आरोप छ ।