असनमा पनि अब हरेक शनिबार ‘नो भेहिकल’

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण
  • कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार जीवन्त र समृद्ध (असं) असन कार्यक्रम । सामाजिक, सांस्कृतिक तथा रैथाने व्यापारिक क्रियाकलाप हुने ।

काठमाडौंको प्राचीन सहरी बस्ती असनको मौलिकता पुनर्स्थापना गराउन हरेक शनिबार सवारीसाधन निषेध गरेर जीवन्त र समृद्ध (असं) असन कार्यक्रम सञ्चालन गरिने भएको छ । ‘जीवन्त र समृद्ध (असं) असन’ नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधि हुनेछन् ।

हाँडीगाउँको अवधारणाअनुसार असन क्षेत्रमा पनि सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सिपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुने काठमाडौं महानगरका प्रवक्ता एवं सम्पदा समितिका संयोजक नवीन मानन्धरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । ‘त्यस क्षेत्रमा भएका जीवन्त मूर्त–अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्द्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापको प्रदर्शन र प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन हुनेछन्,’ उनले भने, ‘यसले काठमाडौंको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा, पर्व, संस्कार, संस्कृति पुस्तान्तरण हुँदै जानेछ । पुर्खाको ज्ञान र सिपले निरन्तरता पाउनेछ ।’ कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ । हरेक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिमा त्यस क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिने भएको छ ।

काठमाडौं महानगर वडा नम्बर २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण, आरसिटी क्लबसहित स्थानीय क्लब, टोल सुधार समिति, गुठीयार, सरोकारवाला र साझेदारको कार्यक्रम हुने महानगरले जनाएको छ ।

‘मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौंका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरूपमा निरन्तरता दिन कठिन हुन थालेको छ । परम्परागत चिनारी हराउन थालेका छन्,’ पत्रकार सम्मेलनपछि जारी भएको प्रेस नोटमा भनिएको छ, ‘नुनदेखि सुनसम्म अर्थात् जन्मदेखि मृत्युपर्यन्तका संस्कार र संस्कृतिमा चाहिने सामान पाइने ठाउँ, बिउ–बीजन र विरुवा पाइने ठाउँ, परम्परागत उपचार पद्धति भएको र आयुर्वेदिक औषधि पाइने ठाउँ नासिँदै गएको छ । यसले वस्तु तथा सामान मात्र नासेको छैन । काठमाडौंको पहिचानमा समेत नकारात्मक प्रभाव पारेको छ । यो असर र नकारात्मक प्रभाव रोक्न तथा पुर्खाको ज्ञान, सिपमा आधारित धार्मिक, सांस्कृतिक र सामाजिक जीवनशैलीको पुनरुत्थान गर्ने प्रयास हो, जीवन्त र समृद्ध (असं) असन कार्यक्रम ।’

यो कार्यक्रमले स्थानीयवासीको उद्यमशील तथा व्यावसायिक विकास हुने विश्वास महानगरले लिएको छ । ‘बालबालिका तथा ज्येष्ठ नागरिकलाई निर्वाध सडकमा हिँड्ने अवसर प्राप्त हुनेछ । यसले असन बजारको मौलिकता बढाउन योगदान दिनेछ । यस्तै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरणीय सुधारमा योगदान गर्नेछ,’ मानन्धरले भने । महानगरले असनपछि अन्य क्षेत्रमा पनि कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

निःशुल्क वाटर एटिएम मेसिन सञ्चालन 
असनमा शनिबारबाट निःशुल्क वाटर एटिएम मेसिन सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाभित्र करिब दुई करोड ६० लाख लागतमा आठवटा वाटर एटिएम बुथ निर्माण भएका छन् । काठमाडौं महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समान लागत सहभागितामा निर्माण भएका यी वाटर एटिएमबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ स्तरको पिउनेपानी निःशुल्क उपलब्ध हुने प्रवक्ता नवीन मानन्धरले बताए । उनका अनुसार नेपाली मौलिक शैलीमा निर्माण गरिएका यी बुथमा तीन हजार लिटर पानी भण्डारण क्षमता छ । काठमाडौंको खुलामञ्च, महाबौद्ध, राष्ट्रिय सभागृह, दरबार हाई स्कुलबाहिर, वडा नम्बर १७ लिंक रोड ढल्को चोक, वडा नम्बर ५ नरःदे (हाँडीगाउँ), वडा नम्बर २६ परिसर र वडा नम्बर ३१ परिसरमा यो प्रणाली जडान भएको छ ।

यी क्षेत्रमा शनिबार ‘नो भेहिकल’
काठमाडौं महानगरका अनुसार शनिबार जीवन्त र समृद्ध (असं) असन कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश पाउनेछैनन् । त्यस्तै, भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइनेछैन । वीर अस्पतालबाट महाबौद्ध स्तूपातर्फ सवारी प्रवेश निषेध हुनेछ । वटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपातर्फ प्रवेश पाइनेछैन । इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ । मच्छिन्द्रवहाल, मांस गल्लीबाट मोटरसाइकलसमेत प्रवेश रोकिनेछ । त्यौड गल्ली हुँदै गोसिफबाट अगाडि प्रवेश पाइनेछैन । गोसिफबाट इनबहाल गणेश मन्दिर जान सकिनेछ । गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइनेछैन । कान्तिपथतर्फ ज्याठा अन्नपूर्ण स्कुलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ । शनिबार असन आउने आगन्तुकले धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कुल तथा अन्य तोकिएका स्थानमा सवारीसाधन राखेर पैदल यात्राबाट असन प्रवेश गर्नुपर्ने प्रवक्ता नवीन मानन्धरले बताए । 

See More On

सुझावित समाचार