- २७ चैतसम्म बेलका नगरपालिका– ८, बोप्ताङडाँडामा चल्ने प्याराग्लाइडिङ प्रतियोगिताको एक्युरेसीमा चार विदेशीसहित ३५ जना पाइलटले प्रतिस्पर्धा गर्ने
कोशी प्रदेशस्तरीय प्याराग्लाइडिङ प्रतियोगिता बिहीबारदेखि उदयपुरमा सुरु हुँदै छ । कोशीमा पहिलोपटक प्रदेशस्तरीय प्याराग्लाइडिङ हुन लागेको हो । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ जिल्ला समिति उदयपुरको संयुक्त आयोजनामा प्रतियोगिता २७ चैतसम्म बेलका नगरपालिका– ८, बोप्ताङडाँडामा चल्नेछ । संघका उदयपुर सचिव जितेन्द्र रोइलाले एक्युरेसीमा चार विदेशीसहित ३५ जना प्याराग्लाइडिङ पाइलट सहभागी हुने बताए । ‘एक्युरेसीमा दुई भारतीय, जर्मनी र चीनका समान एक खेलाडी हुनेछन् । बाँकी सबै नेपालका सहभागी रहनेछन्,’ सचिव रोइलाले भने ।
उदयपुरमा ०७८ देखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण सुरु गरिएको हो । त्यसपछि यहाँ पहिलोपटक प्याराग्लाइडिङ प्रतियोगिता हुन लागेको हो । प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता विशेष हवाई खेलकुद हो । यसको मुख्य उद्देश्य पाइलटहरूले हावामा उडेर जमिनमा तोकिएको निश्चित विन्दुमा कसरी अवतरण गर्न सक्छन् भन्ने प्रतिस्पर्धा गराउनु हो । एक्युरेसीमा एकजना प्याराग्लाइडिङ पाइलटले तीनपटक अवसर पाउनेछन् । उदयपुरमा हुने प्याराग्लाइडिङले नेपालको पर्यटन र साहसिक खेल क्षेत्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । सचिव रोइलाले प्रतियोगिताको बजेट चार लाख ९० हजार रुपैयाँ रहेको बताए ।
उदयपुरमा प्याराग्लाइडिङको सम्भावना
उदयरपुरको विभिन्न स्थानमा प्याराग्लाइडिङ खेल आयोजना गर्न सकिने सम्भावना रहेको संघका केन्द्रीय सदस्य महेन्द्र राईले बताए । ‘नेपालको विभिन्न स्थानमा प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्न सकिन्छ । यसमध्ये उदयपुरमा सम्भावना धेरै भएको पाएका छौँ,’ राईले भने । उनका अनुसार रौतामाई गाउँपालिकाको रौतापोखरी, उदयपुरगढी गाउँपालिकाको उदयपुरगढी, चौदण्डीगढी नगरपालिकाको चौदण्डीगढी, कटारी नगरपालिकाको महाभारत क्षेत्र तथा त्रियुगा नगरपालिकाका विभिन्न डाँडा उपयुक्त स्थानका रूपमा रहेका छन् । प्रतियोगिता सञ्चालन गर्न निर्णायक तथा मूल्यांकनकर्तामा एक भारतीयसहित तीन नेपाली रहेका छन् । उदयपुरमा दुईजना महिला र १६ जना पुरुष गरी जम्मा १८ जना सोलो पाइलट रहेका छन् ।
विदेशी आउँछन् प्रशिक्षण गर्न
उदयपुर जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय विदेशी पाइलटहरूले प्याराग्लाइडिङ प्रशिक्षण लिन आउने गरेका छन् । यहाँ नेपालका साथै भारत, चीन तथा युरोपका स्पेन, फ्रान्स, जर्मनी, पोल्यान्ड, पोर्चुगललगायत पाइलटहरूले प्रशिक्षण लिन आउने संघले जनाएको छ । बेलका नगरपालिका– ८, बोप्ताङमा फ्लाइङ अन्डर प्याराग्लाइडिङ स्कुल उदयपुर प्रालिले प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा गरिरहेको छ । कम्पनीले आधारभूत पाइलट तालिम प्रदान गरेको छ ।
हालसम्म स्थानीय तहहरूले आफ्नै योजनाअनुसार प्याराग्लाइडिङ क्षेत्रको विकासमा लगानी गरेका छन् । ‘कटारी नगरपालिकाले दुई लाख, त्रियुगा नगरपालिकाले पाँच लाख, चौदण्डीगढी नगरपालिकाले एक लाख र बेलका नगरपालिकाले १८ लाख रुपैयाँ खर्च गरेका छन्,’ राइले भने, ‘यो रकम हाम्रो संघले मात्र खर्च गरेको होइन, स्थानीय तहहरूले आफ्नै योजनाअनुसार लगानी गरेका हुन् ।’
उदयपुरमा सम्भावना उच्च भए पनि पूर्वाधार (टेकअफ र ल्यान्डिङ)को अभाव र सरकारी नीति स्पष्ट नहुनु मुख्य समस्या रहेको प्याराग्लाइडिङ सोलोपाइलट भूपाल राउतले बताए । ‘उदयपुरको प्राकृतिक सौन्दर्य, पहाडी भूगोल र अनुकूल मौसमका कारण यहाँ प्याराग्लाइडिङको राम्रो सम्भावना छ,’ राउतले भने । महाभारत क्षेत्रबाट भित्री मधेशतर्फ पर्ने चुरेका फाँटहरू टेकअफ र ल्यान्डिङका लागि उपयुक्त रहेको उनको भनाइ छ ।