- आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र युएईबिच आगामी १२ देखि २२ वैशाखसम्म पहिलो सिरिज, २९ वैशाखदेखि ८ जेठसम्म नेपाल, स्कटल्यान्ड र अमेरिकाबिच प्रतिस्पर्धा
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले लगातार दुईवटा एकदिवसीय सिरिज खेल्ने भएको छ । घरेलु मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले आइसिसी विश्वकप लिग २ का दुईवटा एकदिवसीय सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपालले सुरुमा विश्वकप लिगअन्तर्गत ओमान र युएई सम्मिलितको सिरिजमा प्रतिस्पर्धा गर्नेछ । यो आगामी १२ देखि २२ वैशाखसम्म त्रिवि मैदानमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । ‘नेपालले एकैपटक दुईवटा लिग २ का सिरिज हुँदै छ,’ लामाले भने ।
विश्वकप लिग २ सकिएको एक सातापछि नै नेपालले अमेरिका र स्कटल्यान्डसँग त्रिकोणात्मक एकदिवसीय सिरिजमा सहभागिता जनाउनेछ । यो पनि त्रिवि रंगशालामा हुनेछ । पूर्वखेल कार्यतालिकाअनुसार नेपाल, ओमान र युएईबिचको सिरिज गत २६ फागुनदेखि ६ चैतसम्म कीर्तिपुरमा हुनुपर्ने थियो । तर, क्यानले मध्यपूर्वी एसियाको तनावपूर्ण स्थितिलाई मध्यनजर गरी विश्वकप लिग २ का खेल अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको थियो ।
निर्धारित समयमा सिरिज हुन नसक्नुको कारण अमेरिका–इजरायल र इरानबिचको युद्ध नै थियो । प्रतियोगितामा सहभागी हुने ओमान र युएईले त्यसवेला खाडी मुलुकमा देखिएको संकटका कारण भ्रमण गर्न नसकिने जनाएका थिए । क्यानले सिरिजका लागि सबै तयारी गरिसक्दा खेल नै स्थगित गरेको थियो । क्यानले आइसिसीको सहकार्यमा नयाँ मिति घोषणा गर्ने जनाएको थियो । अहिले नेपालले विश्वकप लिग २ अन्तर्गत दुईवटा त्रिकोणात्मक सिरिज आयोजना गर्न लागेको हो ।
अमेरिका र स्कटल्यान्डसँगको सिरिज भने तोकिएको समयमा हुनलागेको क्यानका प्रवक्ता लामाले बताए । क्यानले दुईवटै सिरिजका लागि मंगलबार नयाँ मिति घोषणा गरेको छ । नयाँ तालिकाअनुसार स्थगित रहेको नेपाल युएई र ओमान सम्मिलित खेल वैशाखमा हुनेछ । नेपाल र यूएईबिच पहिलो खेल १२ वैशाखमा हुनेछ ।
नेपालले १६ वैशाखमा ओमानको सामना गर्नेछ । सहभागी टोलीले एकआपसमा समान दुई खेल खेल्नेछन् । नेपालले १८ वैशाखमा तेस्रो खेलमा युएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
सिरिजअन्तर्गत नेपालको चौथो खेल ओमानसँग २२ वैशाखमा रहेको छ । विश्वकप लिग २ अन्तर्गत अर्को सिरिज २९ वैशाखबाट सुरु हुनेछ । जसमा नेपालले स्कटल्यान्डबिच पहिलो खेल २९ वैशाखमै छ ।
त्यसपछि नेपालले २ जेठमा अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । ४ जेठमा नेपालले स्कटल्यान्डसँग खेल्नेछ । यस सिरिजमा नेपालले आफ्नो अन्तिम खेल अमेरिकाविरुद्ध ८ जेठमा खेल्नेछ ।
सातौँ स्थानमा नेपाल
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले आइसिसी विश्वकप लिग २ मा अहिलेसम्म खराब प्रदर्शन गरेको छ । नेपालले लिग २ मा २० खेल खेल्दा केवल पाँच जित निकालेको छ । १२ अंक जोडेको नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । नेपालले लिग २मा १३ खेल गुमाएको छ । लिग २ सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई तीनपटक हराएको छ । यसैगरी, स्कटल्यान्डमाथि पनि नेपालले दुई खेलमा पराजित गरेको छ । सिरिजमा नेपाल ओमानबिचको एक खेल रद्द हुँदा एक–एक अंक बाँडिएको थियो । यसैगरी, नेपालले स्कटल्यान्डसँग एक खेलमा एक अंक बटुलेको थियो ।
नेपाल भ्रमण गर्न लागेको युएई अंकतालिकाको पुछारमा छ । युएईले २० खेलमा पाँच जित र १५ हार सामना गरी १० अंक जोडेको छ । नेपालले विश्वकप लिगमा लगातार ६ खेल गुमाउँदा अंकतालिकामा दरिलो उपस्थिति जनाउन नसकेको हो । लिगको सुरुवातमै नेपालले लगातार चार खेल गुमाएको थियो । नेपालले नेदरल्यान्ड्सलाई हराएर खाता खोलेको थियो । सन् २०२५ को १० जुनमा नेपालले नेदरल्यान्ड्समाथि १६ रनको जित निकालेको थियो । त्यसवेला नेपालले चारमध्ये तीन खेल जित निकाल्यो । त्यसपछि भने नेपालको प्रदर्शन खस्कँदै गयो ।
अमेरिका शीर्ष स्थानमा
विश्वकप लिग २ मा अमेरिका शीर्ष स्थानमा रहँदै एकदिवसीय विश्वकप ग्लोबल छनोटको आधार बलियो बनाएको छ । अमेरिकाले अहिलेसम्म २४ खेलमा सर्वाधिक १८ जित निकालेर ३६ अंक जोडेको छ । युरोपियन राष्ट्र स्कटल्यान्डले २६ खेलमा ३२ अंक जोडेर दोस्रो स्थान बलियो बनाएको छ । स्कटल्यान्डले अहिलेसम्म १३ खेलमा जित निकालेको छ । अर्को युरोपियन राष्ट्र नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ ।
नेदरल्यान्ड्सले २४ खेलमा १३ जित निकाली २८ अंक हात पारेको छ । नेपाल भ्रमणमा रहेको ओमान अंकतालिकाको चौथो स्थानमा छ । ओमानले २२ खेलमा १२ जित र सात हार सामना गरी २७ अंक हात पारेको छ । आगामी एकदिवसीय विश्वकपको ग्लोबल छनोट स्थान सुरक्षित गर्न कम्तीमा नेपालले विश्वकप लिग २ को शीर्ष तीनभित्र समावेश हुनुपर्नेछ । शीर्ष पाँचभन्दा बाहिरका राष्ट्रहरूको एकदिवसीय मान्यता गुम्नेछ ।
