हुन्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नयाँ बानेश्वर क्षेत्रबाट आइतबार साँझ ७ बजे ३० लाख रुपैयाँसहित चारजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चितवन रत्ननगर– २ घर भई ललितपुरको झम्सिखेल बस्ने शिवहरि अधिकारी र अनिता वाग्लेका छोरा ३२ वर्षका सवन अधिकारी, काठमाडौं तारकेश्वर–४, लोलाङ बस्ने हरि अधिकारी र लीला अधिकारीका छोरा २५ वर्षीय आशिष अधिकारी, चितवन भरतपुर– ८ घर भई काठमाडौंको ठमेल बस्ने गोपाल गहतराज र गाम्दी माया गहतराजका छोरा ३२ वर्षीय रबिन जिआर र ललितपुर महालक्ष्मी– ४, इमाडोल बस्ने श्याम शाक्य र पर डुकु शाक्यका छोरा ३७ वर्षीय अनित्य शाक्य रहेका छन्।
उनीहरूको साथबाट ३० लाख नगद, ६ थान मोबाइल र एक थान म्याकबुक बरामद गरेको प्रहरीले जनाएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर तथा दफा १६२ (क) बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।