पेट्रोलियम खपत घटाउँदै सरकार : सातामा दुई दिन बिदा, आजबाट बिहान नौ बजेदेखि कार्यालय सञ्चालन

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

पश्चिम एसिया (मध्यपूर्व)मा एक महिनादेखि जारी युद्धका कारण पेट्रोलियम आपूर्तिमा देखिएको असहजतापछि सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबारका साथै आइतबार पनि बिदा दिने निर्णय गरेको हो । यसले पेट्रोलियम पदार्थको खपत कम गर्ने र असहजता नबढ्ने सरकारको अपेक्षा छ । 

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पेट्रोलियम आपूर्तिको असहजताका कारण दुईदिने बिदाको निर्णय लिइएको हो । तर, कार्यसम्पादन समय नघट्ने गरी सरकारले सोमबारदेखि शुक्रबारसम्म भने सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि नै खुल्ने निर्णय लिएको छ । यो नियम सोमबारदेखि नै लागू हुने गरी आइतबार नै राजपत्रमा सूचना प्रकाशन गरिएको छ । 

मध्यपूर्वमा चलिरहेको युद्धका कारण इन्धन आपूर्ति प्रभावित बनेको छ । भविष्यमा आपूर्ति घट्न सक्ने भएकाले सरकारले खपत घटाउने नीति लिएको जनाएको छ । दुई दिन बिदा दिँदा इन्धन खपत घट्ने आकलन छ ।

शैक्षिक सत्र १५ भदौदेखि 
आगामी वर्षदेखि सरकारले १५ वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ । तुलनात्मक रूपमा सरकारले ढिलो गरी शैक्षित्र सत्रको मिति तोकेको हो । त्यस्तै, बैठकले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि ९ करोड डलर तथा दिगो र समावेशी परियोजनाका लागि नौ करोड ५० लाख डलर ऋण लिने निर्णय गरेको छ ।

महान्यायाधिवक्तामा डा. कँडेल 
सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायण कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आइतबार नियुक्त गरेका हुन् । 

डा. कँडेलले आइतबार नै पद तथा गोपनीयताको शपथ लिई पदभारसमेत ग्रहण गरेका छन् । बागलुङ स्थायी घर भएका डा. कँडेल पत्रकारिताबाट कानुन व्यवसायमा लागेका हुन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक उनले ०६० सालमा अधिवक्ताको लाइसेन्स लिएका थिए । बेलायतबाट उनले कानुनमै विद्यावारिधि गरेका छन् । 

सुझावित समाचार