सल्यानमा एसइई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका– २ औलबेसीका १६ वर्षीय सेतुराम बुढाथोकीको भेरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार वनगाड कुपिन्डेको मुक्ति मावि हिलेपोखरीमा अध्ययनरत बुढाथोकी वनगाड कुपिन्डे– १ मा रहेको प्रभाकर मावि देवस्थल परीक्षा केन्द्रबाट एसइई दिइरहेका थिए। शुक्रबार एसइई दिएर फर्किएका उनी अपराह्न करिब ४ः३० बजे भेरी नदीमा डुबेका थिए।
घटनाबारे खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी निरीक्षक सागर पौडेलको कमाण्डमा पाँचजनाको टोली खटिएको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उनलाई बनगाड कुपिण्डे नगर अस्पतालमा लगिएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि साँझ ४ः५५ बजे मेहेलकुना अस्पताल, सुर्खेत रिफर गरिएको थियो।
साँझ ६ः०५ बजे अस्पताल पुगेपछि चिकित्सकले बुढाथोकीलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।