सिराहामा वैशाख २ देखि आर्थिक गणना सुरु गरिने

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

सिराहा जिल्लामा २०८३ वैशाख २ देखि आर्थिक गणना सुरु गरिन लागेको छ । राष्ट्रिय आर्थिक गणना-२०८२ जिल्ला स्तरीय सचेतना गोष्ठीको आयोजना गरी सिराहा जिल्लामा आर्थिक गणना सुरु गर्न लागिएको जानकारी दिइएको छ।

दोस्रो राष्ट्रिय आर्थिक गणना सिराहा जिल्लामा वैशाख २ देखि असार ७ सम्म आर्थिक विषयवस्तुसँग जोडिएको सबै आर्थिक एकाइहरू (प्रतिष्ठान तथा व्यवसाय) को ठेगाना, दर्ता तथा स्वामित्व स्थिति, व्यवसाय सञ्चालन अवधि, प्रमुख आर्थिक क्रियाकलाप, रोजगारी स्थिति, व्यवसायको प्रकार, लगानी, ऋणमा पहुँच, बिमालगायतको विषय संकलन गरिने आर्थिक गणना कार्यक्रम सिराहाका प्रमुख तथ्यांक अधिकृत विमल यादवले बताएका छन्। 

ढुंगा, बालुवा तथा खनिज पदार्थको उत्खनन क्रियाकलाप गर्ने व्यवसाय, विभिन्न वस्तु उत्पादन गर्ने लघु, घरेलु, साना, ठुला सबैखालका उद्योग, निर्माण व्यवसाय, विद्युत् उत्पादन तथा वितरण गर्ने व्यवसाय, खानेपानी तथा सिँचाइसम्बन्धी संस्था, फोहोरमैला व्यवस्थापन गर्ने संस्था, होटेल तथा लज व्यवसाय, यातायात सेवा सञ्चालन गर्ने व्यवसाय, सूचना तथा सञ्चारसम्बन्धी क्रियाकलाप गर्ने व्यवसाय, वस्तुको थोक तथा खुद्रा बिक्री गर्ने व्यापार व्यवसाय, बैंक तथा वित्तीय संस्था, घरजग्गाको कारोवार गर्ने व्यवसाय, विद्यालय, विश्वविद्यालयजस्ता शैक्षिक संस्था, स्वास्थ्य सेवा दिने अस्पताल तथा संघ-संस्थालगायतको विभिन्न १८ वटा क्रियाकलापको तथ्यांक संकलन गरिने प्रमुख यादवले बताए । 

जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायतले तथ्यांक निकै महत्त्वपूर्ण भएकोले आर्थिक गणना गर्न हरेक क्षेत्रले सहयोग, सहकार्य गरिने बताएका छन् ।

एकजना गणकले ५/६ सय प्रतिष्ठान गणना गर्नुपर्ने गरि ६० जना गणक सिराहा जिल्लामा परिचालन गरिने तयारी गरिएको प्रमुख यादवले जानकारी दिएका छन् । जिल्लास्तरीय सचेतनामा स्थानीय तहका प्रतिनिधि, सरोकारवाला कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
 

सुझावित समाचार