जेन–जी आन्दोलनको पहिलो दिन भएको मानवीय क्षतिमा जिम्मेवार मानिएको आरोपमा गरिएको पूर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पक्राउ मनासिब भन्दै अदालतले थुनामा राख्न अनुमति दिएको छ । ओली र लेखकको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण भन्दै खास गरेर एमालेले विरोध प्रदर्शन गरिरहेका वेला तथा उनीहरूका परिवारले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा दर्ता गराएकै दिन जिल्ला अदालत, काठमाडौंले पाँच–पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।
न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले तीन आधार टेकेर ओली र लेखकलाई थुनामा राख्न अनुमति दिएको हो । प्रतिवादीहरूको बयान गर्न, बुझ्नुपर्ने मान्छेहरूको घटना विवरण कागज गर्न र जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन विश्लेषण गर्ने प्रयोजनका लागि हिरासतमा राख्न माग गरेको अनुमति मनासिब देखिएको आदेशमा छ । यससँगै फौजदारी मुद्दामा उनीहरूसँग प्रहरीले बयान प्रक्रिया अगाडि बढाउन सहज भएको छ ।
‘प्रस्तुत मुद्दामा प्रतिवादीहरूको बयान गर्न, बुझ्नुपर्ने मानिसहरूको घटना विवरण कागज गर्न तथा मिति २०८२/०५/२३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन अध्ययन विश्लेषण गर्नेलगायतको प्रयोजनका लागि प्रतिवादीहरूलाई प्रहरी हिरासतमा राख्न अनुमति माग गरेको व्यहोरा मनासिब देखिँदा प्रतिवादीहरू केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरी हिरासतमा राखी उपरोक्त लेखिएबमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (६) बमोजिम पाँच दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ,’ आदेशमा छ ।
प्रहरीले दुवैजनालाई जरुरी पक्राउ पुर्जी दिएर शनिबार बिहान घरबाट पक्राउ गरेको थियो । प्रहरीले पूर्वगृहमन्त्री लेखकलाई अदालतमै उपस्थित गराएको थियो । तर, ओली अस्पतालमा भएका कारण भर्चुअल माध्यमबाट उपस्थित भएका थिए । पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमेश बडालले अदालतमा ओलीको स्वास्थ्यावस्थाबारे जानकारी गराएका थिए ।
न्यायाधीशले पूर्वप्रधानमन्त्री ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको देखिएका कारण उनको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्नसमेत भनेका छन् । ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । २३ भदौको जेन–जी आन्दोलनमा उनीहरूकै लापरबाहीका कारण बानेश्वर क्षेत्रमा गोली लागेर मानवीय क्षति भएकाले फौजदारी मुद्दामा कारबाही गर्न गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगले सिफारिस गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सोही सिफारिस कार्यान्वयन गर्ने निर्णय गर्दै प्रहरीलाई निर्देशन दिएको थियो । त्यसलगत्तै शनिबार बिहानै ओली र लेखक पक्राउ परेका थिए ।
निको नहुँदासम्म ओली अस्पतालमै
पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश गरे पनि स्वास्थ्यमा सुधार नआएसम्म एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई अस्पतालमै राखिने भएको छ । अदालतले ओलीको उपचारको प्रभावकारी व्यवस्था गर्न पनि भनेको छ ।