- साउन्ड इन्जिनियर श्यामश्वेत रसाइली प्राय: स्टुडियोमा संगीत र स्वरको सन्तुलन मिलाइरहेका भेटिन्छन्
गीत सुन्दा श्रोताले स्वर चिन्छन्, शब्द सम्झिन्छन्, गाउने अनुहार पहिचान गर्छन् । तर, ती गीतलाई सुन्नलायक बनाउने नेपथ्यको कलाकारलाई भने मानिसले सायदै ख्याल राख्छन् । त्यही नेपथ्यका एक निपूण संगीतका शिल्पी हुन्, श्यामश्वेत रसाइली ।
दुई दशकभन्दा बढी समयदेखि नेपाली सांगीतिक संसारमा अनुभवी साउन्ड इन्जिनियरको रूपमा चिनिन्छन् रसाइली । जब गीतले अन्तिम रूप लिँदै स्टुडियोको कोठामा प्रवेश गर्छ, तब उनको काम सुरु हुन्छ । उनी कहिले हेडफोन लगाएर ध्वनिका तरंगसँग मिलाइरहेका भेटिन्छन्, कहिले स्वरको सन्तुलन मिलाइरहेका भेटिन्छन् ।
प्रिज्मा रेकर्डिङ स्टुडियो हो, उनको काम गर्ने अड्डा । स्टुडियोमा रेकर्डिङ भएका सम्पूर्ण गीतको प्राविधिक पाटो उनैले हेर्छन् । उनले पुराना पुस्तादेखि नयाँ पुस्तासम्मका थुप्रै कलाकारका स्वर रेकर्ड, मिक्सिङ र मास्टरिङ गरिसकेका छन् । नेपाली संगीतका प्राय: चर्चित स्वर उनकै स्टुडियोमा रेकर्ड भएका हुन्छन् ।
उनले ओस्कार कलेजमा अडियोग्राफीमा ब्याचलर्स गरेका छन् । लोकसंगीतका चर्चित स्वरहरू राजु परियार, प्रकाश सपुत, खेम सेन्चुरीलगायत थुप्रै कलाकारसँग उनले सहकार्य गरिसकेका छन् ।
गाउँको मादलबाट सुरु भएको उनको सांगीतिक यात्रा आज नेपाली लोकसंगीतको स्थापित प्राविधिक हस्ताक्षरका रूपमा उभिएको छ । बाग्लुङमा जन्मिएका उनी गाउँकै परिवेशमा हुर्किए । बाल्यकालदेखि नै गीत–संगीतको माहोलमा थिए । घरमा आमा, दाजु र दिदी गीत गाउँथे । तिहारमा दाजुहरूले देउसी खेल्न हिँड्दा मादल बजाउने जिम्मा उनलाई सुम्पिन्थे । गाउँका कार्यक्रममा उनी मादलका विभिन्न ताल निकाल्न पोख्त मानिन्थे, त्यसैले कार्यक्रममा उनको खोजी हुन्थ्यो ।
संगीतको यही परिवेशले उनलाई निरन्तर तानिरह्यो । उनका माइला दाजु बिबी अनुरागी पोखरामा स्थापित संगीतकर्मी हुन् । दाइको प्रभावले पनि उनी संगीततर्फ आकर्षित भए । एसएलसीपछि उनी पोखरा झरे । पिएन क्याम्पसमा भर्ना भए ।
२०६० सालतिर दाइ पोखराबाट काठमाडौं आए । उनी पनि सँगै राजधानी छिरे । दाइकै प्रेरणामा संगीतकार बन्ने लक्ष्य बोकेर उनले यात्रा सुरु गरे । अनुरागी नारायण रायमाझीसँग आबद्ध ‘रिमा रेकर्डिङ स्टुडियो’मा संगीत संयोजकका रूपमा कार्यरत थिए । उनी स्टुडियोमा प्राविधिक सहयोगीका रूपमा जोडिए । पछि स्टुडियोको जिम्मेवारी नै सम्हाल्न थाले । २०६१ सालदेखि उनले रिमा रेकर्डिङका सम्पूर्ण प्राविधिक काम सम्हाल्दै संगीत मिक्सिङ र मास्टरिङमा दक्षता हासिल गरे ।
नारायण रायमाझीको चर्चित गीत ‘राम्दी पुल तर्नेबित्तिकै, बाँचे भेट मरे त यत्तिकै...’ को मिक्सिङ र मास्टरिङपछि उनको कामले व्यापक चर्चा पायो । त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेन । नारायण रायमाझीका अधिकांश गीतमा मिक्सिङ गर्दै उनले आफूलाई स्थापित गरे ।
स्टुडियो नै संसार
एक समय उनको दिनचर्या बिहानदेखि बेलुकासम्म स्टुडियोमै बित्थ्यो । ध्वनि परीक्षण, भोकल ट्र्याक सन्तुलन, वाद्यवादन मिलान, इफेक्टको प्रयोग, यही क्रम दोहोरिन्थ्यो । बाहिर घाम झुल्केको वा पानी परेको, उनलाई थाहा नहुने दिन पनि थुप्रै छन् ।
‘कहिलेकाहीँ त हाम्रो स्टुडियो संगीत ‘फ्याक्ट्री’जस्तै चल्थ्यो’ उनी सम्झन्छन्, ‘यहाँबाट रेकर्ड भएका दर्जनौँ कलाकार आज चर्चित छन् । अहिले पनि दैनिक दुईवटासम्म गीत मिक्सिङ गर्छु । महिनामा करिब ३०–४० गीत बजारमा आउँछन् ।’
उनको बुझाइमा मिक्सिङ भनेको कच्चा सामग्रीलाई बजारयोग्य बनाउने प्रक्रिया हो । ‘आफ्नो काममा सानो गल्ती पनि छुट्नुहुँदैन । गीत श्रोताको हो, त्यसलाई राम्रो बनाउने जिम्मा हाम्रो,’ उनी भन्छन् ।
उनको स्टुडियो केबल रेकर्डिङ गर्ने कोठा होइन, संगीतकार, गायक, गीतकार र प्राविधिकबिचको सिर्जनाको संगमस्थल पनि हो । नयाँ गायक डराउँदै आउँछन् । तर, रसाइलीको संयमित व्यवहारले उनीहरूलाई सहज बनाइदिन्छ ।
उनको अनुभवमा गीतको जग शब्द हो । शब्द बलियो भए गीतको आधार बलियो हुन्छ । त्यसपछि कम्पोजरले मेलोडी दिन्छ, संयोजकले वाद्य संरचना तयार पार्छ, अनि मिक्सिङले अन्तिम रूप दिन्छ ।
‘एउटा गीत उत्कृष्ट बन्न ६–७ जनाको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । कुनै एक पक्ष कमजोर भयो भने गीत पनि कमजोर हुन्छ । शब्द बलियो भए पनि गायन, संयोजन र साउन्ड मिक्सिङ नमिले गीत प्रभावहीन हुन सक्छ,’ उनी भन्छन्, ‘स्वर र संगीतको सन्तुलन मिलेपछि मात्रै गीत सुन्नलायक बन्छ ।’
फिल्मका गीतमा पनि उनले मिक्सिङ र मास्टरिङ गरेका छन् । ‘जाउँला रेलैमा...’ गीतसहित ‘गोर्खा पल्टन’ फिल्मको साउन्ड मिक्सिङ गरे । साथै ‘परदेशी’ र ‘परदेशी २’ का गीतहरूको संगीत मिक्सिङ उनले नै गरे ।
‘कुटुमा कुटु’, ‘पहिलो नम्बरमा’, ‘रुपै मोहनी’, ‘सुर्के थैली’, ‘पूर्व पश्चिम रेल’, ‘पर्ख पर्ख मायालु’लगायतका चर्चित गीत उनले मिक्सिङ गरेका हुन् । उनको पछिल्लो गीत ‘कस्मिरे पछ््यौरी दार्जिलिङ रेल...’ निकै हिट बन्यो । गीतमा उनले संगीत संयोजन, बाजाको डिजाइन, मिक्सिङ र मास्टरिङसम्मको सम्पूर्ण जिम्मेवारी सम्हाले ।
युट्युबमा करोड क्लबमा उक्लिएका ‘गोर्खे खुकुरी’ ‘अरेली काँडैले’, ‘म त ढलेँ ढलेँ’लगायत चर्चित गीतको मिक्सिङ र मास्टरिङ पनि उनैले गरेका हुन् । ‘गीत चलेको देख्दा सन्तुष्टि मिल्छ,’ उनी मुस्कुराउँदै भन्छन् ।
करिब २० हजारभन्दा बढी लोकगीत, आधुनिक गीत र चलचित्रका गीत सम्पादन गरिसकेका रसाइलीको अनुभव आफैँमा एउटा जीवित इतिहासजस्तै छ । तीमध्ये दर्जनौँ गीतमा उनले संगीत संयोजनसमेत गरेका छन् । तर, उनले कहिल्यै आफूलाई अग्रपंक्तिमा राखेनन् । नेपथ्यमा बसेर काम गर्न उनी सधैँ सहज महसुस गर्छन् ।
‘म आफूलाई मिक्सिङ आर्टिस्टका रूपमा चिनाउँछु । गीत सम्पादन, म्युजिक एरेन्जमेन्ट र संगीत संयोजन मेरो क्षेत्र हो । गीत गाएर स्टार बन्छु भन्ने सोच कहिल्यै राखिनँ,’ उनी भन्छन्, ‘संगीत क्षेत्रमा आउने सबैको उद्देश्य एउटै हुँदैन । कोही सेलेब्रिटी बन्न चाहन्छन्, कोही आत्मसन्तुष्टिका लागि गाउने गर्छन् । मलाई बजारमा हिट हुनुभन्दा राम्रो संगीत सिर्जना गर्न मन लाग्छ ।’
श्रोताले कसले स्वर दियो र कसले लेख्यो भन्नेतिर मात्रै चासो दिन्छ । एउटा गीत तयार हुन पर्दा पछाडि निकै मिहिनेत गर्नुपर्छ । त्यो कुरा श्रोतालाई थाहा हुँदैन । गीत कविताको रूपमा तयार हुन्छ । जुन छन्दमा मिलाएर लेखिन्छ । त्यसपछि संगीत कम्पोज हुन्छ । शब्दलाई भाकामा तयार गरिन्छ । सुर र तालमा बाँधेर राखिन्छ । त्यसपछि संगीत संयोजकको काम आउँछ । संयोजकले कस्तो किसिमको बाजाको संयोजन गर्ने भन्ने तय गर्छ । संगीत संयोजकले डिजाइन गरेको बाजालाई रिप्लेस गरिन्छ । त्यसमा स्टुडियोमा ओर्जिनल बाजाहरू राखिन्छन् । त्यसपछि म्युजिक ट्र्याक तयार हुन्छ । गीत रेकर्ड गरिन्छ । म्युजिक मिक्सिङ इन्जिनियरको काम हुन्छ । उनको काम मिक्सिङ इन्जिनियर गर्ने हो ।
उनका लागि संगीत केवल धुन र स्वरको संयोजन होइन, ध्वनिको शुद्धता र संवेदनाको सन्तुलन हो । गीत तयार भएपछि अन्तिम रूपमा पुग्नुअघि मिक्सिङ र मास्टरिङको सूक्ष्म प्रक्रियाबाट गुज्रनुपर्छ । त्यही प्रक्रियामा उनी आफ्ना घण्टौँ समय खर्च गर्छन् ।
प्रविधिसँगै बदलिएको यात्रा
दर्जनौँ गीतका संगीत सम्पादन गर्नु सामान्य उपलब्धि होइन । यो केवल परिश्रमको प्रमाण मात्र होइन, नेपाली संगीत उद्योगको परिवर्तनशील यात्राको साक्षी बस्नु पनि हो । क्यासेटको युगदेखि डिजिटल स्ट्रिमिङसम्मको संक्रमण उनले नजिकबाट देखेका छन् ।
‘हिजो एनालग उपकरणमा काम गर्नुपथ्र्थाे । सानो त्रुटि सच्याउन पूरै प्रक्रिया दोहोर्याउनुपर्थ्यो । अटो–ट्युनजस्ता सुविधा थिएनन् । त्यसवेला रहरले मात्र पुग्दैनथ्यो, साधना अनिवार्य थियो,’ उनी भन्छन् । डिजिटल प्रविधिले भोकल ट्युनिङ, टाइमिङ करेक्सन र एरेन्जमेन्ट सहज बनायो । तर, उनी भन्छन्, ‘प्रविधि सहयोगी मात्रै हो ।’
दुई दशकमा संगीत उद्योगमा ठुलो परिवर्तन आएको छ । पहिले रेकर्डिङ प्रक्रिया सामूहिक थियो । अभ्यासपछि टिमसँग बसेर गीत फाइनल हुन्थ्यो । अहिले धेरैले आफ्नो भाग रेकर्ड गरेर निस्कने चलन बढेको छ । ‘अहिले छिटो हिट बन्ने होडबाजी छ । कसरी राम्रो संगीत बनाउने भन्दा पनि कसरी भाइरल हुने भन्ने चिन्ता बढी देखिन्छ,’ उनी भन्छन्, ‘गीत कविता हो । यसमा कथा हुन्छ । प्रविधिले प्रक्रिया सजिलो बनायो, तर धैर्यता घटायो ।’
उनको विश्वास छ, लामो समयसँग टिक्ने संगीत साँचो भावनाबाट जन्मिन्छ । आज धेरै कलाकार सामाजिक सञ्जालमा सक्रिय छन् । प्रचार–प्रसारले बजार बनाउँछन् । तर, उनी आफ्नो प्रचारभन्दा काममा विश्वास गर्छन् । उनलाई चम्किलो प्रकाश मन पर्दैन । स्टुडियोको सानो कोठामा ध्वनिको सूक्ष्म आवाज सुन्दा नै उनलाई सन्तोष लाग्छ ।
यदि मिक्सिङ कमजोर भयो भने उत्कृष्ट स्वर पनि ओझेल पर्न सक्छ । यदि मास्टरिङ सही भएन भने गीत प्रतिस्पर्धामा टिक्न सक्दैन । यही संवेदनशील जिम्मेवारी रसाइलीले वर्षौंदेखि सम्हाल्दै आएका छन् । दुई दशकपछि पनि उनको जाँगर कम भएको छैन । नयाँ प्रविधि सिक्ने, नयाँ कलाकारसँग सहकार्य गर्ने र नेपाली संगीतलाई अझ परिष्कृत बनाउने चाहना उस्तै छ । ‘हामीले राम्रो ध्वनि दिन सके, नेपाली संगीत विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्छ,’ उनी भन्छन् ।
गुणस्तरीय उत्पादन नै उद्योगको दीर्घकालीन आधार रहेको उनको विश्वास हो । त्यसका लागि प्राविधिक पक्ष सुदृढ हुनैपर्छ । धेरै युवा साउन्ड इन्जिनियर बन्न चाहन्छन् । रसाइली उनीहरूलाई एउटै सल्लाह दिन्छन्, ‘संगीतमा साधना चाहिन्छ । साथै ध्वनि सुन्न सिक्नुपर्छ । केवल उपकरण चलाउन जान्नु पर्याप्त हुँदैन ।’