केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री प्रदीप पौडेलले पेस गरेको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सुरु भएको छ, मंगलबार २६ जनाले धारणा राखेका छन्
निर्वाचनअघि विशेष महाधिवेशनबाट नेतृत्वमा आएका कांग्रेस सभापति गगन थापाले २४–२६ भदौमा पार्टीको १५औँ केन्द्रीय महाधिवेशन प्रस्ताव गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकको सुरुमा सम्बोधन गर्ने क्रममा थापाले गरेको प्रस्ताव पार्टी महामन्त्री प्रदीप पौडेलले बैठकमा औपचारिक रूपमा पेस गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरूको सुझाव समेटेर कांग्रेसले महाधिवेशनको निर्णय लिनेछ ।
बैठकमा पेस भएको कार्यतालिकाअनुसार असारसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक टुंग्याइने, साउनभित्र जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने, ६ साउनमा ६ हजार ७४३ वडामै वडाअधिवेशन सम्पन्न गर्ने उल्लेख छ । १२ साउनमा गाउँ–नगरपालिका अधिवेशन, २३ साउनमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र ३० साउनमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्रै क्षेत्र भएको जिल्लाको अधिवेशन पनि सम्पन्न हुनेछन् । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।
प्रस्तावित कार्यतालिकाअनुसार ६ र ७ भदौमा जिल्ला अधिवेशन, १५–१६ भदौमा प्रदेश अधिवेशन सम्पन्न गर्ने तथा २४–२६ भदौमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव पेस भएको छ । यसबारे बैठकमा छलफल सुरु भएको छ । मंगलबार २६ जना केन्द्रीय सदस्यले यसबारे बोलेका छन् ।
मंगलबार बैठकमा केन्द्रीय सदस्यहरू डा. गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मीकि, अजयबाबु सिवाकोटी, भरतकुमार शाह, सुधीर सिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर बानियाँ, जितनारायण श्रेष्ठ, रमेश धमला, दीपनकुमार श्रेष्ठ, वसन्त भट्टराई, जनकराज गिरी र शम्भुबहादुर बुढाथोकीले धारणा राखेका थिए । यसबाहेक तीर्थजंग शाही, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई, शिवबहादुर सुनार, सूर्यबहादुर विक, दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय, रामपल्टन साह, प्रदेश सभापतिहरू कृष्णप्रसाद यादव (मधेश) र इन्द्रबहादुर बानियाँ (बागमती)ले पनि धारणा राखेको कांग्रेसले जनाएको छ ।
सरकारलाई सुझाव, प्रतिपक्षी भूमिकामा जोड
बैठकमा सभापति थापाले कांग्रेस रचनात्मक प्रतिपक्षी भूमिकामा रहने र काण्डहरूको निष्पक्ष अनुसन्धान गरेमा सरकारलाई सहयोग गर्ने बताएका छन् । उनले ०४६ सालको जनआन्दोलनपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग पनि दोहोर्याए । ‘गलत ढंगले आर्जन गरिएको सम्पत्ति जफत गरिनुपर्छ, यो हाम्रो प्रतिज्ञा–पत्रको मुख्य बुँदा हो,’ थापाले भने, ‘गिरिबन्धु, ललितानिवास, वाइडबडीजस्ता चर्चित प्रकरणहरू अब सार्वजनिक खपतको विषय मात्र नभई दुधको दुध पानीको पानी हुनुपर्छ र दोषीले सजाय पाउनुपर्छ । यस्ता काण्डहरूको निष्पक्ष अनुसन्धान गरेमा सरकारलाई कांग्रेसको पूर्ण साथ रहन्छ । कांग्रेसको रचनात्मक प्रतिपक्षी भूमिका रहन्छ ।’ अर्को प्रसंगमा सभापति थापाले संविधानका आधारभूत स्तम्भ कायम राख्दै सुशासनका लागि संशोधन गर्नुपर्नेमा जोड दिए ।
बैठकमा गगनको गर्जन : पार्टीको अब ग्रान्ड रिफर्म हुन्छ, मैला पातहरू हटाइन्छ
चुनावपछि पहिलोपटक केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्र अब व्यापक शुद्धीकरण र ‘ग्रान्ड रिफर्म’ (बृहत् सुधार) गरेर अघि बढ्ने उद्घोष गरे । ‘पार्टीमा अब सानो सुधार होइन, ग्रान्ड रिफर्म चाहिएको छ । सत्ताका लागि सिद्धान्तहीन सम्झौता र राज्यशक्तिको दुरुपयोग गर्नेजस्ता मैला पातहरू अब हटाउनुपर्ने समय आएको छ,’ थापाले भने, ‘पार्टीको भद्दा संरचनाले यसको मौलिकता थिचिएको छ । चार पुस्ताको विविधतालाई कांग्रेसको शक्तिमा बदल्नुपर्नेछ । कांग्रेस पार्टीलाई केवल इलेक्सन मेसिन मात्र बनाउने होइन, एक जीवन्त सामाजिक आन्दोलनका रूपमा पुनर्जागृत गर्नुपर्ने संकल्प गर्ने वेला आएको छ ।’
थापाले हतास मानसिकताका आधारमा नभएर राजनीतिक जवाफदेहिताको कसीमा उभिएर चुनावी हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बताए । ‘म यो टिमको क्याप्टेन हुँ र मेरो नेतृत्वमा हामी निर्वाचनमा गएका हौँ । त्यसैले हारको जिम्मेवारी मैले लिनुपर्छ भन्ने मेरो दृढ निष्कर्ष थियो,’ सभापति थापाले भने । तर, विशेष महाधिवेशनबाट आएको नेतृत्वले नै बाँकी जिम्मेवारी पूरा गर्नुपर्ने पार्टी निर्णय गरेपछि त्यसलाई सम्मान गरेको बताए । सभापति थापाले अब पार्टीमा नयाँ अध्यायको प्रारम्भ भएको पनि बताए । ‘अब राजीनामाको अध्याय समाप्त भयो । पार्टीलाई १५औँ महाधिवेशनतर्फ डोर्याउने जिम्मेवारी अब पूरा गर्नेछु,’ थापाले भने ।
पार्टीमा समानान्तर गतिविधि सुरु गर्ने तयारीमा रहेको देउवा समूहलाई लक्षित गर्दै सभापति थापाले पार्टीको ‘गाडी’ अब अगाडि बढिसकेको र अब नछोड्ने टिप्पणी गरे । उनले पूर्वसभापति देउवालाई लक्षित गर्दै विगतमा ५–६ पटक उम्मेदवार भएर चुनाव जितेकाहरूले यसपटक निर्वाचनका वेला पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने वा रुख चिह्नमा मत नमागेको भन्दै आलोचना गरे ।
यस्तो प्रवृत्तिलाई उनले गम्भीरतापूर्वक ‘नोटिस’मा लिएको बताए । ‘पार्टीको सदस्य भएर शपथ खाएपछि उम्मेदवारलाई जिताउनु कर्तव्य हो । तर, ५–६ पटक विगतमा उम्मेदवार भएकाहरूले हिजो उनका लागि झोला बोकेर हिँडेका नेता–कार्यकर्तालाई मत माग्न एकपटक पनि नटेक्ने प्रवृत्तिलाई मैले गम्भीरतापूर्वक नोटिसमा लिएको छु,’ थापाले भने ।