पिएम कपमा एकै दिन बने दुई शतक

आर्मीका आसिफ शेख र एपिएफका बसिर अहमदले शतकीय इनिङ्सको योगदान दिए

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री (पिएम) कप एकदिवसीय प्रतियोगिताको दोस्रो दिन आइतबार दुई शतक बनेका छन् । पहिलो दिन शनिबार वर्षाले प्रभावित पिएम कपअन्तर्गत तेस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मीका अलराउन्डर बसिर अहमद र चौथो खेलमा नेपाल एपिएफ क्लबका आसिफ शेखले शतकीय इनिङ्स खेलेका हुन् । बसिरको शतकको सहयोगमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गर्यो । 

बसिरले ८६ बलमा सय रनको योगदान दिए । विवेक यादवको ओभरमा करण केसीबाट क्याचआउट हुनुअघि उनले आठ चौका र दुई छक्का हिर्काएका थिए । आसिफको शतकीय इनिङ्समा एपिएफले बागमती प्रदेशमाथि ७१ रनको जित निकाल्यो । राष्ट्रिय टोलीका नियमित सदस्य आसिफले सर्वाधिक ११४ रन बनाए । उनले १०५ बलमा १४ चौका र तीन छक्का प्रहार गरेका थिए । जितसँगै समूहमा एपिएफ र आर्मीले समान २ अंक जोडेका छन् । 

एपिएफको सानदार जित 
माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको एपिएफले ५० ओभरमा आठ विकेट गुमाउँदै २७१ रन बनाएको थियो । प्रत्युत्तरमा बागमतीले ४५.१ ओभरमा सबै विकेट गुमाउँदा २०० रन मात्र बनायो । बागमतीका विवेक मगरले सर्वाधिक ३४ रन बनाए । उनले ६४ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । सुवास खत्रीले २७, उत्तम मगरले २६, शिवम तिवारीले २५ तथा रिजन ढकालले २० रनको योगदान दिए । बागमतीले २१ अतिक्ति रन पाएको थियो । एपिएफका लागि अभिषेक गौतम र कप्तान रोहितकुमार पौडेलले समान तीन विकेट हात पारे । पहिलो ब्याटिङ गरेको एपिएफका आसिफले सानदार ब्याटिङ गरेका थिए । एपिएफका सन्दीप जोराले ५२ रनको योगदान गरे । उनले ५३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए । लोकेश बमले २९ र युवराज खत्रीले २६ रन बनाए । कप्तान रोहित ९ रनमा आउट भए । बागमतीका रिजन ढकालल चार विकेट लिए । 

पुलिसमाथि आर्मी हाबी 
मूलपानी मैदानमै भएको अर्को खेलमा आर्मीले पहिलो ब्याटिङ गरी ४७ ओभरमा आठ विकेट गुमाएर २४३ रन बनाएको थियो । प्रत्युत्तरमा पुलिसले ४५.३ ओभरमा सबै विकेट गुमाएर २२१ रन जोड्दा आर्मी २२ रनले विजयी भयो । आर्मीका लागि भीम सार्कीले ६५ बलमा ६२ रन जोडेका थिए । उनले ६ चौका र दुई छक्का हिर्काएका हुन् । पुलिसका रसिद खानले ८३ बलमा सर्वाधिक ६० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । 

See More On

सुझावित समाचार