दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको सानदार जित

बिहिबार, १२ कार्तिक, २०८३
प्रिन्ट संस्करण
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी ब्याटिङ गर्दै ।

कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेको ७४ रन साझेदारीमा दुईपटकको साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले बुधबार तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको छ । सुदूरपश्चिमले दोस्रो खेलमा पहिलो जित निकालेको हो ।

सुदूरपश्चिमको जितमा दीपेन्द्रले महŒवपूर्ण ५१ रन बनाए । उनले ३६ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । उनको ब्याटिङ स्ट्राइक १४१.६६ रह्यो । चौथो विकेटका लागि म्याच विनिङ साझेदारी गरेका ईशानले पनि ३१ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३७ रन बनाए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेलमा पराजित भयो । एनपिएल इतिहासमा पोखरा मात्र प्लेअफमा पुग्न नसकेको एक मात्र टोली हो ।

सुदूरपश्चिमले सानदार जित निकाले पनि ओपनिङ जोडीले गतिलो योगदान दिन सकेनन् । ओपनर विनोद भण्डारी ४ र सैफ जैब १५ रनमा आउट भए । सुदूरपश्चिमले ६.३ ओभरमा तीन विकेट गुमाएर ५६ रन बनाएको थियो । दीपेन्द्र र ईशानले १३.३ ओभरसम्म ब्याटिङ गर्दै जितको आधार बनाए ।

पोखराको प्रतिस्पर्धात्मक लक्ष्य
पहिलो इनिङ्समा पोखराका लागि अर्जुन घर्तीले अविजित ४० रनको योगदान दिए । उनले अन्तिम ओभरमा दुई चौका र एक छक्का प्रहार गर्दा पोखराले सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धामक योगफल खडा गरेको हो । अर्जुनले पहिलोपटक पोखराबाट खेलेका हुन् । कर्णालीबाट दुई संस्करण खेलेका अर्जुनलाई यसपटक रिटेन गरेन । पोखराका बंगलादेशी ओपनर मेहदी हसनले २१ बलमा ३२ रन बनाए । उनले चार चौका र एक छक्का हिर्काए । उनलाई अनिल खरेलले दीपेन्द्रबाट क्याच गराएका थिए ।

कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन बनाए । श्रीलंकाका सदिरा समराविक्रमाले ८ र धनञ्जयले ११ रनको योगदान गरेका थिए । बलिङमा सुदूरपश्चिमका अनिल खरेलले तीन ओभरमा २३ रन दिएर सर्वाधिक तीन विकेट लिएका थिए ।

दीपेन्द्रले एकै खेलबाट कमाए डेढ लाख
पोखराविरुद्धको जितमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनकै अर्धशतकीय योगदानमा सुदूरपश्चिमले जित निकालेको हो । ब्याटिङ, बलिङ र फिल्डिङमा एकनासको प्रदर्शन गरेका कारण नै उनी खेलकै म्यान अफ दी म्याच भए । समग्रमा दीपेन्द्रले विभिन्न चार विधाको पुरस्कार पाए । म्यान अफ दी म्याच हुँदा उनले ५० हजार रुपैयाँ जिते । फिल्डिङका क्रममा उत्कृष्ट क्याच लिएपछि २५ हजार पाए । उनले ईशान पाण्डेसँग चौथो विकेटका लागि ७४ रन जोडे । यसका लागि उनले थप २५ हजार रुपैयाँ जिते ।

एनपिएलमा सकिबको डेब्यु
null विश्वचर्चित अलराउन्डर सकिब अल हसनले नेपाल प्रिमियर लिगमा डेब्यु गरेका छन् । तेस्रो संस्करणअन्तर्गत चौथो खेलमा सकिबले पोखरा एजेन्जर्सबाट डेब्यु गरेका हुन् । पहिलो ब्याटिङ गरेको पोखराले उनलाई चौथो ब्याटिङ क्रममा उतारेको थियो । ब्याटिङमा उनी सुस्त देखिए । उनले १६ बलमा एक चौकाको सहयोगमा १४ रन जोडेका थिए । उनी इनिङ्सको १०.६ ओभरमा आउट भए । विश्वचर्चित अलराउन्डर सकिबको विकेट नेपालका अनिल खरेलले लिएका हुन् ।

ब्याटिङमा चल्न नसकेका सकिबले दोस्रो इनिङ्सको चौथो ओभरमै बलिङको अवसर पाए । उनले ४.४ ओभरमा ब्रान्डन म्याकमुलेनको विकेट लिए । सकिबले आफ्नो चार ओभरको कोटामा २४ रन खर्चे । बंगलादेशी खेलाडीमध्ये धेरै फ्रेन्चाइज क्रिकेट खेल्नेमा उनी अगाडि छन् । उनले विश्वका सबैजसो फ्रेन्चाइज लिग खेलेका छन् । इन्डियन प्रिमियर लिगमा उनले कोलकाता नाइटराइडर्सबाट खेलेका छन् । बंगलादेशबाट उनले समग्रमा १४ अन्तर्राष्ट्रिय शतक लगाएका छन् । उनले टी–२० आईमा १३ अर्धशतकीय इनिङ्स खेलेका छन् ।

कप्तानका भनाइ

सुधारिएको ब्याटिङ प्रदर्शन भयो : दीपेन्द्रसिंह ऐरी, कप्तान, सुदूरपश्चिम
पहिलो खेलमा पावर प्लेमै विकेट गुमायौँ । तर, दोस्रो खेलमा ब्याटिङमा सुधार आएपछि पोखराविरुद्ध जित्न सहज भयो । त्रिवि क्रिकेट मैदानमा जति खेल हुँदै जान्छ, त्यहीअनुसार खेलाडीले यहाँको पिचबारे जानकारी प्राप्त गर्छन् । यसले आगामी खेलमा खेल्न सजिलो हुनेछ । मैदानमा रहँदा सधैँ तीनवटै क्षेत्रमा शतप्रतिशत दिन मन लाग्छ । ईशानसँग साझेदारी राम्रो भयो । एक किसिमले जितको आधार पनि बन्यो । आगामी खेलमा समर्थकलाई खुसी बनाउने प्रयास हुनेछ ।

प्रतिस्पर्धात्मक लक्ष्य दिएका थियौँ : कुशल भुर्तेल, कप्तान, पोखरा
त्रिवि मैदानको पिचअनुसार पहिलो ब्याटिङ राम्रो थियो । हाम्रो ब्याटिङ नराम्रोजस्तो पनि लाग्दैन । लगभग १५० रनको लक्ष्य दियौँ । त्यो भनेको जितको आधारसमेत हो । तर, साँझ हुँदै गएपछि ड्यु फ्याक्टरको प्रभाव पर्छ । सुदूरपश्चिमसँगको खेलमा यस्तै भयो । दोस्रो इनिङ्समा बलिङको प्रभाव पर्ने अनुमान थियो । तर, सुदूरपश्चिमको ब्याटिङ राम्रो देखियो । पोखराको बलिङ बलियो छ । प्रतिस्पर्धामा स्पिनरले राम्रो गर्ने धेरै प्रयास गरेका थिए । यसपटक हाम्रो लक्ष्य प्ले अफ हो । 

सुझावित समाचार