एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा)को कारोबार गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीनजनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले गत शुक्रबार तीनजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत पश्चिम बंगालको मोदिनीपुर जिल्ला मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भई ललितपुरको एकान्तकुना बस्ने ४१ वर्षीय प्रवेश अली, बाँकेको नेपालगन्ज उपमहानगर– २० घर भई काठमाडौंको जोरपाटी बस्ने ३१ वर्षीय नरेश रेउले र सर्लाही ईश्वरपुर– ३, भक्तिपुर घर भई ललितपुर महालक्ष्मी– २५, नक्खु बस्ने ३० वर्षीया दीप्ति पोखरेल रहेका छन्।
शुक्रबार दिउँसो साढे २ बजेतिर सामाखुसीबाट प्रहरीले रेउलेलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। उनको बयानको आधारमा सोही दिन अपराह्न साढे ४ बजेतिर सामाखुसी रेर्डन पुलबाट पोखरेललाई १५ लाख ३० हजार रुपैयाँसहित र अलीलाई साँझ ७ बजे एकान्तकुनाबाट पक्राउ गरेको हो।
अलीको मोबाइलबाट बाइनान्स आइडी प्रयोग गरी हालसम्म ९१ लाख ८१ हजार ५१३ अमेरिकी डलर (एक अर्ब ३६ करोड ८० लाख ४५ हजार ५८० नेपाली रुपैयाँ) बराबरको क्रिप्टाेकरेन्सी कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।