चार वर्षपछि २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप बुधबारदेखि पोखरामा सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा सुरु च्याम्पियनसिपको पहिलो चरणका खेल भएका छन् ।
यसअघि च्याम्पियसिपको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खेलाडीलाई झन्डा हस्तान्तरण गर्दै गरेका थिए । च्याम्पियनसिपमा नेपालसहित नौ देशका ५२ पुरुष र ११ महिला गरी ६३ जनाले प्रतिस्पर्धा गरेका छन् ।
पहिलो दिन मौसमका कारण केही समस्या भएको थियो । प्रतिस्पर्धीले सराङकोटबाट उडान भरी खपौदीमा अवतरण गर्नेछन् । च्याम्पियनसिपबाट दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशका प्याराग्लाइडिङ खेलाडीसमेत छनोट गरिनेछ ।
आयोजक नाका अध्यक्ष अनिल केसीका अनुसार सहभागी पाइलटहरूले तीन विधामा प्रतिस्पर्धा गर्नेछन् । एफएआई क्याटोगरी २ अन्तर्गत सञ्चालन गरिएको च्याम्पियनसिपमा एक्युरेसी पुरुष (ओभरअल), एक्युरेसी महिला (ओभरअल) र टिम (ओभरअल) गरी तीन विधाका खेलहरू सञ्चालन हुने उनले बताए । तीन विधामध्ये पुरुषतर्फ पहिलो हुनेले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् ।