नेप्से ६४ अंकले बढ्दा २१ अर्बभन्दा बढीको सेयर कारोबार

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

बिहीबार नेप्से परिसूचक ६४.६९ अंकले बढेर दुई हजार ८७७.०३ विन्दुमा कायम भएको छ। नेप्से २.३० प्रतिशतले बढ्दा क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.४१ प्रतिशतले वृद्धि भएको छ।

साताको अन्तिम कारोबार दिन नेप्सेसँगै कारोबार रकमसमेत बढेको छ। आज ३४२ कम्पनीका पाँच करोड ६९ लाख २० हजार कित्ता सेयर २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँमा खरिद–बिक्री भएको हो। अघिल्लो दिन साढे ११ अर्बको सेयर कारोबार भएको थियो।

आज नेप्सेका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ। बैंक र विकास बैंक सबैभन्दा धेरै तीन प्रतिशतभन्दा बढीले उकालो लाग्दा जलविद्युत् र जीवन बिमा दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।

आज कर्पोरेट विकास बैंक, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इनका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै आम्दानी गरेका छन्। सबैभन्दा धेरै गुमाएको एभरेस्ट बैंकको सेयर मूल्य ४.३५ प्रतिशतले घटेको छ।

सुझावित समाचार