रुपन्देही, नवलपरासी र कपिलवस्तुलाई जोडेर निर्माण गरिएको ग्रेटर लुम्बिनी परियोजनाका लागि विश्व बैंकले ८५ मिलियन डलर ऋण सहयोग गर्ने भएको छ । गत वर्षको मार्चमा ‘ग्रेटर लुम्बिनी’ परियोजनाको प्रस्ताव गरिएको भए पनि यही १३ मार्चमा भएको विश्व बैंकको बोर्ड बैठकले ऋण दिने निर्णय गरेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए । बैंकले यस विषयमा केही दिनमै नेपाल सरकारलाई औपचारिक जानकारी दिने र मन्त्रिपरिषद् बैठकले ऋण स्वीकार गरेपछि परियोजना कार्यान्वयनमा जाने निर्देशक राईले बताए ।
तीन जिल्लाको भूभागलाई ‘बृहत् लुम्बिनी क्षेत्र’ का रूपमा विकास गर्ने लक्ष्यसहित पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अगाडि सारेको ड्रिम प्रोजेक्ट हो । ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनका लागि १२ अर्ब रुपैयाँबराबरको ऋण दिने निर्णय भएको जानकारी पाएसँगै रुपन्देहीका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
बजेट सुनिश्चित भएसँगै गौतमबुद्धसँग जोडिएका नवलपरासी र कपिलवस्तुमा विकासको ढोका खुल्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए । उनले भने, ‘बजेट अभावले अलपत्रजस्तै अवस्थामा रहेको भगवान् गौतमबुद्धसँग जोडिएर अलपत्र अवस्थामा रहेका पुरातात्विक क्षेत्रको संरक्षण र विकासमा बजेट सुनिश्चितता हुनु सबैका लागि खुसीको कुरा हो ।’
बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्ला समेटिने ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ सहरी विकास मन्त्रालयमार्फत अगाडि बढेको छ । परियोजनाले लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक र पर्यटन केन्द्रका रूपमा स्थापित गर्दै समग्र क्षेत्रको पूर्वाधार, आर्थिक गतिविधि, रोजगारी र दिगो सहरी विकासलाई एकीकृत ढंगले अघि बढाउने उद्देश्य राखेको राईले बताए । सम्पदाको संरक्षण, दिगो विकास, सुशासन र समुदायको जीविकोपार्जनका विषयलाई यसमा प्राथमिकतामा राखिएको वरिष्ठ निर्देशक राईले बताए ।