एसियाली फुटबल महासंघ(एएफसी)ले इरानले आगामी फिफा विश्वकप नखेल्ने अधिकारिक रूपमा आफूलाई जानकारी नभएको बताएको छ । गत साता इरानले अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आगामी जुन–जुलाईमा हुने विश्वकप नखेल्ने घोषणा गरेको थियो । प्रतियोगिता आउँदो ११ जुन देखि १९ जुलाईसम्म आयोजना हुँदै छ । इरानले फिफालाई पनि यस सम्बन्धमा केही आधिकारिक पत्र पठाएको छैन । फिफाले अहिलेसम्म इरानले विश्वकप नखेल्ने निर्णयको कुनै प्रतिक्रिया दिएको छैन ।
एफसीका महासचिव विन्डसोर जोनले रोयटर्ससँग कुराकानी गर्दै इरानले विश्वकपबाट नाम फिर्ता लिने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाएको जनाएका छन् । ‘इरानको अवस्था गम्भीर छ । विश्वकपमा भाग लिने वा नलिने फुटबल संघको निर्णय हो,’ विन्डोसोरले भने, ‘अहिलेसम्म एएफसीलाई इरानी फुटबल संघले विश्वकपमा सहभागिता जनाउने बताउँदै आएको छ, तर उनीहरूको पछिल्लो निर्णयबारेमा हामीलाई केही थाहा छैन ।’
अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानी फुटबल संघका अध्यक्ष अहमद डोन्यामअलीले द्वन्द्वका कारण विश्वकपमा सहभागिता नजनाउने बताएका थिए । ‘अमेरिकामा गएर हामी फुटबल खेल्न जादैनौँ,’ अहमदले भनेका थिए, ‘हामीलाई राष्ट्रप्रति माया छ ।’ अमेरिका र इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका थिए । सर्वोच्च नेताको निधनपछि इरानले हवाई आक्रमण गर्दै इजरायल र अमेरिकाको विरोध गरेको छ ।
मध्यपूर्वी एसियाको अवस्था निकै खराब रहेका कारण पनि वर्तमान समयमा इरान समस्या रहेको एएफसीका महासचिव विन्डसोरले बताए । उनले संयुक्त राष्ट्र महासंघको सदस्य भएको नाताले पनि विश्वकपमा इरानको सहभागिता हुनुपर्ने जोड दिएका छन् । ‘महासंघको सदस्य राष्ट्र भएकाले इरानको सहभागिता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले चलिरहेको द्वन्द्व छिट्टै समाधान होस् भन्ने एएफसीको चाहना हो,’ उनले भने ।
इरान एएफसीको प्रमुख सदस्य
इरान फुटबल संघलाई एएफसीको परिवारका एक सदस्य रहेको महासचिव विन्डोसोरले बताएका छन् । परिवारभित्रका सदस्यहरूको समस्या समाधान गर्न एएफसी सधै तयार भएको उनको भनाइ छ । ‘उनीहरू हामीहरूकै सदस्य हुन् । हामी चाहन्छौँ इरानले विश्वकप खेल्नुपर्छ,’ महासचिव विन्डोसोरले भने, ‘इरान विश्वकप छनोट चरण पार गरी स्थान बनाएको राष्ट्र हो । विश्वास छ, इरानले छिट्टै आफ्नो समस्याको हल निकाली विश्वकप खेल्नेछ ।’ महासचिव विन्डोसोरले इरानी फुटबल संघलाई आग्रह गर्दै सबैसँग छलफल गर्न भनेका छन् । ‘फुटबल महासंघले खेलाडीहरूको भविष्य हेर्नुपर्छ । विश्वकप खेल्न एक खेलाडीको सपना हो । त्यो सपना संघले उनीहरूको पूरा गर्नुपर्ने दायित्व हो,’ उनले भने । यसपटक विश्वकपमा ४८ राष्ट्रबिच प्रतिस्पर्धा हुँदै छ ।
अमेरिकाले इरानी खेलाडीलाई सुरक्षा दिन नसक्ने
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले विश्वकप खेल्न आउँदा स्वागत गर्ने बताएका थिए । तर, आयोजक अमेरिकाले इरानी खेलाडीहरूको सुरक्षा आफूहरूले गर्न नसक्ने ट्रम्पको भनाई पनि छ । ‘हामीलाई विश्वास छ इरानले विश्वकप खेल्नेछ । हामी उनीहरूको स्वागत गर्न तयार छोँ, तर इरानी खेलाडीहरूको सुरक्षा अमेरिकाले दिन सक्दैन,’ उनले भने, ‘इरान स्वयमले आफ्ना खेलाडीहरूको सुरक्षाबारे सोच्नुपर्छ । खेलाडीले आफ्नो सुरक्षा आफैँले गर्नुपर्छ ।’ गत डिसेम्बरमा निकालिएको ड्रमा इरान समूह ‘जी’मा छ । यो समूहमा इरानसँगै बेल्जियम, इजिप्ट र न्युजिल्यान्ड छन् । इरानले समूह चरणअन्तर्गत अमेरिकाका लस एन्जल्स र स्याटलमा खेल्नेछ । इरानले विश्वकपबाट नाम फिर्ता लिए प्रतियोगिताको इतिहासमा यस्तो कार्य गर्ने यो पहिलो राष्ट्र बन्नेछ ।