तुलसी घिमिरे निर्देशित ‘पहाड’को टिजर सार्वजनिक

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को टिजर सार्वजनिक गरिएको छ। आगामी वैशाख १ देखि प्रदर्शन हुने फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका घिमिरेले बताए।

निर्देशक घिमिरेले यसपटक ‘बलिदान’मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’मा कास्ट गरेका छन्। भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका प्रमोद प्रधानले ‘पहाड’को छायांकन गरेका हुन्।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय छ। निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रूपमा दर्शकसामु ल्याउँदै छन्। यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।

फिल्ममा रञ्जितसिंह गजमेर संगीत निर्देशक छन्। उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन्। उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन्। फिल्म नेपालमा बैंकटेस इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेसनल फिल्म्सले वितरण गर्नेछ। यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो।

फिल्ममा कविराज गहतराज र मिंमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शंकर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ।

सुझावित समाचार