तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ,
हजारौँ वर्ष हिँडेर तिमीलाई सोध्न आइपुगेँ
ए मन भएको मान्छे,
मनलाई सञ्चै छ कि बिरामी ?
यी पंक्तिहरू केवल एउटा गीतका शब्द होइनन्, शताब्दियौँदेखि उत्पीडनमा पारिएका दलित समुदायको पीडा, प्रतिरोध र चेतनाको सशक्त अभिव्यक्ति हुन् । गीतले नेपाली समाजमा गहिरोसँग जरा गाडेको जातीय विभेदमाथि प्रश्न उठाउँछ र समानता तथा न्यायको पक्षमा आवाज बुलन्द गर्छ । लेखक तथा विश्लेषक आहुतीद्वारा रचित ‘तिमीले थुनेको नर्कलाई’ बोलको यस गीतमा स्वर र संगीत दिएका छन् गायक तथा संगीतकार बिबी अनुरागीले ।
सयौँ गीतमा स्वर र संगीत भरिसकेका अनुरागीका लागि भने यो गीत विशेष छ । उनी यसलाई आफ्नो जीवनकै सबैभन्दा प्रिय गीतमध्ये एक मान्छन् । कारण, गीतले केवल मनोरञ्जन मात्र गर्दैन, मानिसको चेतना जगाउने, सोच बदल्ने र समाजलाई प्रश्न गर्ने शक्ति पनि बोकेको छ ।
अनुरागीको विश्वास छ, गीत आफैँमा शासनसत्ता होइन, तर समाज परिवर्तनको यात्रामा यसको महत्वपूर्ण भूमिका हुन्छ । ‘गीतले मान्छेलाई सोच्न बाध्य बनाउँछ, चेतना विकास गर्न सहयोग गर्छ । त्यसैले स्रष्टा–सर्जकले समाजका सवाललाई गीतमार्फत उठाइरहनुपर्छ,’ उनी भन्छन् ।
समाज र जीवनका यिनै प्रश्नहरूप्रति उनको संवेदनशीलता आकस्मिक रूपमा आएको होइन । यसको जग बाल्यकालमै बसिसकेको थियो । संगीतप्रतिको मोहले उनलाई सानैदेखि फरक बाटोमा डोर्याएको थियो ।
बाग्लुङको गाउँमा सामान्य परिवेशमै हुर्किएका उनी बिहान–बेलुका मेलापात गर्ने, घाँस काट्ने र गाईबस्तु चराउने काममा व्यस्त हुन्थे । दिउँसो विद्यालय पुग्थे, अनि फुर्सद मिल्नेबित्तिकै बाजागाजा र संगीतको संसारमा हराउँथे ।
उनी सानो हुँदा बाँस काटेर मुरली र बाँसुरी बनाउँथे । राम्रो बाँस देख्नेबित्तिकै त्यसलाई संगीतको साधनमा रूपान्तरण गर्ने उनको बालसुलभ रहर थियो । सात–आठ कक्षामा पढ्दादेखि नै संगीतप्रतिको मोह अरूभन्दा फरक र गहिरो थियो । त्यही फरकपनले उनलाई आज राम्रो संगीतकार बनायो ।
गाउँघरमा हुने देउसी, पञ्चेबाजा र सांस्कृतिक कार्यक्रममा उनी सधैँ सक्रिय हुन्थे । विद्यालयस्तरका प्रतियोगिता, नाटक र सांस्कृतिक गतिविधिमा उनको उपस्थिति अनिवार्यजस्तै थियो । अभिनय मात्रै होइन, उनी नाटक लेख्ने र निर्देशन गर्ने काममा समेत रुचि राख्थे ।
उनले लेखेको ‘घर छोडेपछि’ शीर्षकको नाटक गाउँमा निकै चर्चित बन्यो । नाटकमा घर छोडेपछि मानिसले भोग्नुपर्ने पीडा, संघर्ष र एक्लोपनको कथा समेटिएको थियो । आफ्नै अनुभव त्यति नभए पनि गाउँका अग्रजहरूको भोगाइ सुनेर उनले त्यस्ता संवेदनशील विषयलाई कथामा उतारेका थिए ।
बाल्यकालमै देखिएको यही सिर्जनशीलता र संगीतप्रतिको मोहले पछि उनको जीवनको बाटो नै तय गरिदियो । उनले सारंगी, मादलजस्ता बाजा पनि आफैँ बनाएर बजाउन सिके ‘औपचारिक रूपमा संगीत सिक्ने अवसर पाइनँ, सुनेर र अभ्यास गरेर सिकेँ,’ उनी स्मरण गर्छन् ।
विद्यालय पढ्दादेखि नै उनले नारायणगोपाल, बमबहादुर कार्की, नारायण रायमाझीका गीतहरू सुने । मञ्चपछाडि बसेर बाजा बजाउन उनलाई बढी आनन्द लाग्थ्यो । तर, गाउँघरमा भने उनी गायककै रूपमा परिचित थिए । संगीतप्रतिको मोह, बाजाप्रतिको लगाव र सांस्कृतिक कार्यक्रममा निरन्तर सक्रियताले उनलाई स्थानीयस्तरमै अलग पहिचान दिलाइसकेको थियो ।
धौलागिरि क्षेत्रमा सञ्चालन भएको ‘धौलागिरि सांस्कृतिक संगम’ सँग उनी जोडिए । गाउँ–गाउँ पुगेर लोकसंस्कृति, लोकगीत र परम्पराको खोज तथा संकलन गर्ने काममा उनी सक्रिय भए । सांस्कृतिक अभ्यास, प्रस्तुति र अभियानमार्फत स्थानीय कला–संस्कृतिलाई जोगाउने प्रयासमा उनी निरन्तर लागिरहे ।
उक्त अभियानसँग जोडिएपछि उनको यात्राले थप गति लियो । गाउँ–गाउँ पुगेर लोकगीत, लोकसंस्कृति र परम्पराको खोज तथा संकलन गर्ने काम उनले गरे । त्यो यात्रामा उनले केवल कलाकारको भूमिका मात्रै निभाएनन्, संगठनात्मक जिम्मेवारी पनि सम्हाले । संस्थाको सचिवदेखि अध्यक्षसम्मको भूमिकामा रहेर उनले सांस्कृतिक अभियानलाई अघि बढाए ।
यही यात्राका बिच अभियानले ‘छड्के नजर’ नामक दोहोरी गीतको क्यासेट निकाल्यो । त्यो एल्बमको निकै चर्चा भएको थियो । क्यासेटमा मायाप्रेमका गीत मात्र होइन, गाउँघरका कथा, लोकसंस्कृतिका भाका र समाजका अनुभूति मिसिएका गीतहरू थिए । गीत संकलन गर्ने, शब्द लेख्ने, स्वर दिने र बाजा बजाउनेसम्मका अधिकांश काम उनी आफैँ गर्थे ।
त्यो केवल सांगीतिक प्रयास थिएन, आफ्नै समाज र संस्कृतिको आवाज बचाइराख्ने अभियान पनि थियो । त्यो समय ‘प्रगतिशील’ भन्ने शब्दलाई धेरैले सिधै कम्युनिस्ट विचारधारासँग जोडेर बुझ्थे । तर, उनको बुझाइ फरक थियो । उनी प्रगतिशीलतालाई समाजलाई अगाडि बढाउने सोचका रूपमा व्याख्या गर्थे । भन्छन्, ‘प्रगतिशील कुनै एउटा दल वा विचारधारामा सीमित हुँदैन ।’
०५० सालमा एसएलसी पास गरे । त्यसपछि उच्च शिक्षा अध्ययन गर्न पोखरा झरे । पोखरा उनका लागि सजिलो थिएन । तर, पिएन क्याम्पसमा भर्ना भए । भन्छन्, ‘एक्लो थिएँ । पोखरा बिरानो ठाउँ थियो । डेरा खोजेर बस्नुपर्थ्यो । त्यसपछि जातको कारणले डेरा नपाउने समस्या छँदै थियो । होस्टेलमा बसेर पढ्न थालेँ ।’
अनुरागीले २०५१ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराबाट आफ्नै शब्द र स्वरमा गीत रेकर्ड गरे । गीतको बोल थियो, ‘दुःखी मुहार आँसुले धुँदै, छोडे गाउँघर उज्यालो नहुँदै ।’ गीतलाई सबैले मन पराए । गाउँभरि चर्चा चल्न थाल्यो । त्यसपछि उनले ‘मेरो माया नकुल्च त्यसरी’ बोलको गीत रेकर्ड गरे । लोकपप शैलीको गीत । पछिल्लो गीतले पनि सोचेभन्दा बढी चर्चा पायो ।
२०५५ सालमा राजकुमार बगरको ‘उडेर जून छुन्छु भन्थेँ’ गीतमा संगीत भरे । गीतलाई गायक रामभक्त जोजिजूले रेडियो नेपालको राष्ट्रव्यापी प्रतियोगितामा गाएका थिए । गीत गायन र शब्दमा प्रथम भयो । गीतको चर्चासँगै संगीतकारको खोजी हुनथाल्यो ।
गायक तथा संगीतकार नारायण रायमाझीसँग उनको भेट भयो । नारायणले उनको संगीत औधि मन पराउँथे । नारायणले उनीसँग सहकार्य गर्ने निधो गरे । त्यसछि उनलाई आफ्नो स्टुडियोमा ‘म्युजिक एरेन्जर’को जिम्मेवरी सुम्पिए । नारायणले उनलाई राम्रो तलबको व्यवस्था गरे । त्यसपछि उनी पूर्णकालीन संगीतमा लागे ।
०६२ सालमा नारायणले स्टुडियो आफ्नै घरमा सार्ने भए । बबरमहलमा रहेको नारायणको स्टुडियो अनुरागीलाई दिए । अनुरागीले चलचित्रका गीतहरूमा संगीत भरे । जुन अधिकांश सफल भए । गोर्खा पल्टन चलचित्रको गीतमा संगीत संयोजन उनैले गरे । ‘जाउँला रेलैमा गोर्खा पल्टन..’, अझै पनि लोकप्रिय छ ।
उनको संगीत एरेन्जमा राजु परियारले धेरै गीत गाएका छन् । उनको कम्पोजमा धेरै गीत गाउने गायक स्वरूपराज आचार्य पनि हुन् । ‘जहाँ तिमी त्यहाँ म... ’गीत कम्पोज उनले गरे । गायिका अञ्जु पन्तले पनि उनको कम्पोजमा धेरै गीत गाएकी छिन् । विभिन्न गायकगायिकाहरूले उनको संगीत कम्पोजमा एक सयभन्दा बढी हिट गीत गाएका छन् ।
दलित समुदायलाई अझै पनि समाजले ‘सानो जात’ भनेर हेपिरहेको छ । तर, सभ्यता निर्माणमा दलित समुदायको ठुलो योगदान रहेको उनी बताउँछन् । भन्छन्, ‘छाला प्रशोधन गर्ने, जुत्ता बनाउने, बाजागाजा तयार पार्नेजस्ता सिपका काम यही समुदायले पुस्तौँदेखि गर्दै आएको छ । यो विडम्बना अन्त्य हुनुपर्छ ।’