फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी खटिएका छन् भने निर्वाचनका लागि आवश्यक सामग्रीहरू पनि पुगिसकेको छ । मतदान प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिमपश्चात् निर्वाचन आयोगको कार्यतालिकाअनुसार कर्मचारीहरू केन्द्रमा खटिएका हुन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीहरूले मतपत्र, मतपेटिका, मतदान गोप्य कक्ष, छाप, मतदाता नामावलीलगायतका ५१ प्रकार सामग्री बुझेका छन् । धनकुटामा ११९ मतदानस्थलअन्तर्गत रहेका १६६ मतदान केन्द्रमा सोमबार साँझसम्म कर्मचारी र सामग्री पुर्याइएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । मतदान केन्द्रमा पुगेर सोमबार नै अनुसूची ३, ४, ६ र ७ टाँस गरिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए ।
अनुसूची ३ मा मतदान केन्द्रको चार किल्ला निर्धारण, अनुसूची ४ मा मौन अवधिमा प्रचारप्रसार निषेध, अनुसूची ६ मा मादक पदार्थ प्रयोग तथा सेवन निषेध र अनुसूची ७ मा हातहतियार निषेधसम्बन्धी सूचना उल्लेख गरिएको छ। यसैबिच आज उनीहरूले स्थानीयस्तरमा सर्वदलीय बैठक बोलाएर राजनीतिकहरूसँग बिहीबार हुने निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सल्लाह, सुझाव लिने कार्य पनि गरिरहेका छन् भने कतिपय मतदान केन्द्रमा सर्वपक्षीय बैठक सम्पन्न भएको जानकारी प्राप्त भएको पनि सूचना अधिकारी श्रेष्ठले बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता छन् । धनकुटामा ५९ हजार ४८३ जना पुरुष र ५८ हजार ९४२ महिला मतदाता छन् । सातवटा स्थानीय तह रहेको धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्रै निर्वाचन क्षेत्र छ ।
धनकुटामा १४ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी कुल १७ जना चुनावी मैदानमा रहेका छन् । प्रत्येक केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ६ जना कर्मचारी खटाइएको छ । जिल्लाका १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र गरी कुल एक हजार दुईजना कर्मचारी परिचालन गरिएको छ । निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ९८९ जना निर्वाचन प्रहरी पनि सोमबारदेखि नै खटिएका छन् ।