देउवाको नाममा भोट माग्दै सुदूरपश्चिमका कांग्रेस उम्मेदवार

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण
  • १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा देउवा पक्षको बलियो पकड छ । त्यसैले देशभर थापा पक्षबाट ‘ब्ल्याकआउट’ गरिएका देउवालाई सुदूरपश्चिममा भने केही उम्मेदवारले चुनावी पोस्टरमा राखेका छन् ।
  • कांग्रेसबाट कञ्चनपुर ३ का उम्मेदवार हरि बोहरा र बैतडीका उम्मेदवार चतुरबहादुर चन्दले पनि सभापति गगन थापासँगै देउवाको तस्बिरसहितका चुनावी सामग्री लिएर प्रचार–प्रसारमा हिँडेका छन्, मतदाताको घरदैलो पुगिरहेका छन् । 

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको नेतृत्वमा कांग्रेस आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएको छ । पार्टीको केन्द्रीय नारा छ– बदलियो कांग्रेस, बदल्छौँ देश । प्रधानमन्त्रीका रूपमा अघि सारिएका थापाकै तस्बिर र यही नारालाई देशभरका अधिकांश कांग्रेस उम्मेदवारले चुनावी अभियानको मुख्य आधार बनाएका छन् । 

तर, निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भने दृश्य बिलकुलै फरक छ । सभापति थापाले यसपटक देउवालाई टिकट नदिएपछि त्यहाँ नैनसिंह महर उम्मेदवार बनेका छन् । उनले आफ्नो चुनावी प्रचारमा ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नारा कतै प्रयोग गरेका छैनन् । बरु, देउवाको गृहजिल्लामा कांग्रेसको चुनावी प्रचार फरक, अर्थपूर्ण र रणनीतिक रहेको सन्देश दिएका छन् । यति मात्र होइन महरले सभापति थापाको तस्बिरसमेत कतै प्रयोग गरेका छैनन् । बरु महरले देशभर थापा नेतृत्वको कांग्रेस र धेरैजसो उम्मेदवारबाट ‘ब्ल्याकआउट’ गरिएका देउवालाई चुनावी पोस्टरमा राखेका छन् । महरको चुनावी प्रचार कांग्रेसभित्र मात्र होइन चुनावी राजनीतिमा नजर राख्ने सबैका लागि चासोको विषय बनेको छ । 

‘जोडबल’ले सभापतिबाट अपदस्त गरिएको भन्दै देउवा वर्तमान नेतृत्वप्रति असन्तुष्ट छन्, सोहीकारण निर्वाचनमा निष्क्रिय र मौन छन् । निर्वाचनको सुरुवाती दिनमा थापा पक्षधर कांग्रेस नेताहरूले देउवाको ‘फेसभ्यालु’ प्रयोग गरेर पार्टीको पक्षमा नतिजा ल्याउन कोसिस गर्ने दाबी गरेका भए पनि यो सम्भव भएको छैन । 
बरु, २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको मौन अवधि सुरु हुन एक साता मात्र बाँकी रहँदा कांग्रेस निवर्तमान सभापति देउवा पार्टीको चुनावी प्रचारमा देखिएका छैनन् । कांग्रेस विशेष महाधिवेशनले थापालाई सभापति चयन गरेपछि पदच्यूत देउवा मतदान गर्न गृहजिल्ला डडेल्धुरा जाने÷नजाने पनि अहिलेसम्म यकिन छैन । तर, देउवाकै गृहजिल्लामा उनकै नाममा मत मागिएको छ । 

डडेल्धुरामा कांग्रेसका उम्मेदवार महर सामाजिक सञ्जालमा गरिने पोस्ट र चुनावी कार्यक्रमका ब्यानरमा देउवाको तस्बिर छुटाउँदैनन् । पोस्टर र ब्यानरमा उनले देउवाकै तस्बिरलाई ‘ब्रान्डिङ’ गरेर मत मागिरहेका छन् । चुनावी कार्यक्रममा पनि उनले देउवाको प्रतिनिधिका रूपमा आफूलाई उभ्याउने गरेका छन् । 
बहालवाला सभापतिको उपेक्षा गरेर देउवालाई ‘ब्रान्डिङ’ गर्दै किन मत माग्दै छन् महर ? जवाफमा भन्छन्, ‘यो उहाँ (देउवा) प्रतिको आस्था र सम्मान हो । कसैको तस्बिर बलपूर्वक राखिँदैन, मायाले राखिने हो । उहाँले पठाएर, सल्लाह गरेर नै म चुनाव लड्न आएको हुँ ।’ 

महर पार्टीमा देउवा खेमाकै नेता हुन् । देउवाको अनुपस्थितिमा यसपालिको चुनावमा डडेल्धुरामा कांग्रेसलाई विरासत जोगाउने चुनौती छ । डडेल्धुराबाट ०४८ सालयताका सातवटै संसदीय चुनावमा अपराजित रहेर देउवाले इतिहास रचेका थिए । देउवा चुनावी प्रचारमा समेत नदेखिँदा प्रमुख दल कांग्रेसको विरासत भत्काउने दाउमा छन् । 

राजनीतिक मामलाका जानकारहरू देउवालाई आफ्नो राजनीतिक आदर्शका रूपमा उनकै तस्बिरसहित मत मागिरहेका महरले दुई सन्देश दिएका छन् । पहिलो–महरले देउवाप्रति आफ्नो निष्ठा प्रस्ट पारिरहेका छन् र दोस्रो–कांग्रेसभित्रको गुटगत समीकरण अझै जीवित रहेको संकेत दिइरहेका छन् । यसबाहेक देउवालाई अगाडि सारेर डडेल्धुरामा निर्वाचन जित्ने महरको मुख्य रणनीति हुन सक्छ । 

जिल्लामा मात्र होइन देउवा गृहप्रदेशमै चुनावी प्रचारमा नदेखिए पनि यहाँ कांग्रेसका उम्मेदवार चुनावी प्रचारका ब्यानरमा उनको तस्बिर राखेर मतदातासँग मत मागिरहेका छन् । कांग्रेसबाट कञ्चनपुर ३ का उम्मेदवार हरि बोहरा र बैतडीका उम्मेदवार चतुरबहादुर चन्द पनि देउवाको तस्बिरसहितका चुनावी ब्यानर, पोस्टरलगायत प्रचार सामग्री लिएर मतदाताको घरदैलो पुगिरहेका छन् । पार्टी र देशका लागि योगदान दिएको व्यक्ति भएकाले देउवाको सम्मानस्वग्प चुनावी प्रचार सामग्रीमा उनको तस्बिर राख्ने गरेको बोहराले बताए । ‘उहाँ चुनावमा नआउँदा पार्टीलाई केही असर छ, पर्छ नै,’ बोहराले भने, ‘हामीलाई त आइदिए हुन्थ्यो भन्ने नै छ ।’

१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमभरि कांग्रेसमा देउवा पक्षको बलियो पकड छ । तर, विशेष महाधिवेशनमार्फत देउवा सभापतिबाट हटाइँदा यसपालि टिकट वितरणमा पनि यहाँ उनको पक्ष उपेक्षामा प¥यो । कञ्चनपुर २ बाट उम्मेदवार बनेका एनपी साउद, कैलाली ४ मा गोरखबहादुर विष्ट ‘आनन्द’ र अछाम २ बाट पुष्पबहादुर शाह देउवानिकट हुन् । डडेल्धुरामा देउवानिकट महर प्रतिस्पर्धामा छन् । अरू सबै क्षेत्रमा संस्थापन पक्षकालाई उम्मेदवार बनाइएको छ । देउवा मात्रै होइन, उनका विश्वास पात्र मानिने नेता रमेश लेखकले कञ्चनपुर ३ बाट टिकट पाएनन् । यहाँ हरि बोहरा उम्मेदवार बनेका छन् ।

चुनावमा देउवाको अनुपस्थिति खड्किए पनि आफ्नो उम्मेदवारीलाई लिएर जनतामा कुनै दुविधा नरहेको महरले बताए । ‘उहाँ आइदिएको भए हुन्थ्यो भन्ने छ । त्यत्रो घटनाबाट बचेका नेतालाई जनता भेट्न, देख्न चाहन्छन्,’ महरले भने, ‘तर उहाँले नलड्ने भनिसकेपछि सहमतिमै म चुनाव लड्न आएको हुँ । डडेल्धुराका जनताको कांग्रेसप्रतिको विश्वास उस्तै छ ।’कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउद डडेल्धुरामा देउवाको विरासत जोगाउन कांग्रेस सक्षम रहेको दाबी गर्छन् । देउवा आउने/नआउनेबारे भने यकिन नरहेको उनले बताए । 

कैलाली ५ बाट उम्मेदवारसमेत रहेका कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाह ‘मनु’ निवर्तमान सभापति देउवालाई यहाँ ल्याउने प्रयास भइरहे पनि चुनावी प्रचारमा आउने तय भइनसकेको बताए । देउवा चुनावमा नआउँदा सुदूरपश्चिममा स्वाभाविक रूपमा कांग्रेसलाई असर पर्ने उनको बुझाइ छ । 
‘यहाँका उम्मेदवारले उहाँलाई प्रदेशका सबै निर्वाचन क्षेत्रमा पुगिदिन आग्रह गरेका हौँ, तर उहाँ विभिन्न कारणले आउन सक्नुभएन,’ शाहले भने, ‘उहाँ नआउँदा असर त पर्छ नै । सबैभन्दा ठुलो असर डडेल्धुरामा पर्छ ।’ सुदूरपश्चिममा चुनावमा कांग्रेस धेरै उत्साहित र धेरै निराश हुनुपर्ने स्थितिमा नरहेको उनले बताए । ‘केन्द्रदेखि नै पार्टीमा सबै कुरा मिलाएर लगेको भए झनै राम्रो परिणाम आउन सक्थ्यो होला,’ शाहले भने ।

विगतका निर्वाचनमा यहाँ कतिपय ठाउँमा चुनावी सभामा देउवा पुग्थे । देउवापत्नी आरजु राणा पनि निर्वाचनमा खटिएकी हुन्थिन् । निकट उम्मेदवारले ब्यानर र पोस्टरमा देउवाको पनि तस्बिर राखेर आन्तरिक एकता रहेको सन्देश दिन र कांग्रेसप्रति आस्था राख्नेहरूले मत जोगाउन खोजेको देखिन्छ । कतिपय उम्मेदवारले चुनावी सभा र घरदैलो कार्यक्रमका ब्यानरमा सभापति थापासँगै देउवाको पनि तस्बिर राख्ने गरेका छन् । 

०७९ को निर्वाचनमा तत्कालीन माओवादी र एकीकृत समाजवादीसँगको गठबन्धनमा कांग्रेसले सुदूरपश्चिमका १६ मध्ये आठ सिट जितेको थियो । यसपालि कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले यो निर्वाचनमा देउवाको अभाव खड्किए पनि जनतामा कांग्रेसप्रतिको विश्वास कायमै रहेको बताए । हुन त बलायरले कैलाली ४ बाट टिकट पाएका थिए । तर, अन्तिम समयमा आएर उनले चुनाव नलड्ने घोषणा गरेका थिए ।यो निर्वाचनमा सुदूरपश्चिममा कुल १७ लाख १६ हजार ६६० मतदाता छन् । ४२ हजार ३१ मतदाता यसपटक नयाँ थपिएका हुन् । गृहप्रदेशमै चुनावमा देउवाको निष्क्रियता र टिकट वितरणमा प्रदेशभरि नै उपेक्षामा पर्दा चुनावमा कांग्रेसलाई त्यसको असर कति पर्ला त्यो चुनावको नतिजापछि नै थाहा होला । 

सुझावित समाचार