एन्फाको असहयोगपछि सावित्राले मागिन् आर्थिक सहयोग

सात सातादेखि घुँडाको गम्भीर चोट बोकेकी महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचार खर्च ८० हजार अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान छ, तर एन्फाले केवल पाँच लाख मात्र दिन सक्ने जनाएको छ ।

मंगलबार, १२ फागुन, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपचारका लागि सहयोग गर्ने तयार नभएपछि राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारीले सोमबार सामाजिक सञ्जालबाट आर्थिक सहयोग अपिल गरेकी छिन् । सात सातादेखि घुँडाको एसिएल र ग्राफटमा गम्भीर चोट बोकेकी सावित्राले शल्यक्रिया र विश्वस्तरीय उपचार गर्न ८० हजार अमेरिकी डलर (१ करोड १५ लाख रुपैयाँ) खर्च हुने जनाएकी छिन् । उनले आफ्नो गम्भीर प्रकृतिको उपचार कतारमा मात्र सम्भव हुने जनाइन् । 

‘एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पाइएन । मैले पटक–पटक प्रयास गर्दा पनि उहाँहरूलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैँले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो,’ सावित्राले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘उहाँले पाँच लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो । मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै दुई महिनापछि मात्र शल्यक्रिया मितिका लागि फेरि प्रयास गर्नुपर्ने भएको छ ।’

सावित्राले कतारमा उपचार गराउन नेपाली फुटबलकै अभिभावक मानिने एन्फाले आबद्ध क्लबले खर्च व्यहोर्नुपर्ने जवाफ फर्काउँदा निराश भएको बताइन् । एन्फाका प्रवक्ता सुरेश साहले खेलाडीको उपचारका लागि पाँच लाख रुपैयाँ उपलब्ध हुने र यसबाहेक थप रकम दिन नसक्ने बताएका छन् । सावित्राको सामाजिक सञ्जालमा दिइएको अभिव्यक्तिबाट एन्फाको गम्भीर ध्यानाकर्षण भएको उनले जनाए । 

‘महिला टोलीकी कप्तान सावित्राको सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति एन्फाको गम्भीर ध्यानाकर्षण भएको छ,’ साहले नै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक क्लब फुटबलमा कुनै पनि खेलाडी घाइते भए उसको उपचारको जिम्मा क्लबकै रहने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ । सावित्राको हकमा उहाँको क्लबले न्युजिल्यान्डको अस्पतालमा उपचारको पहल गरेको, तर खेलाडीले कतारमा गई उपचार गराउने इच्छा राखेकाले एन्फाले यसका लागि सबै प्रयास र पहल गरिराख्ने जानकारी गराउँछौँ ।’ 

दक्षिण एसियाली फुटबलकै उत्कृष्ट महिला स्ट्राइकर मानिएकी सावित्रा न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी छिन् । न्युजिल्यान्डको क्लब भए पनि उसले अस्ट्रेलियन ‘ए’ लिग खेल्ने गर्छ । अस्ट्रेलियाकै क्लब ब्रिसबन रोअरविरुद्ध खेल्दा सावित्रा घाइते भएकी थिइन् । क्लबले तत्काल उनको प्रारम्भिक उपचार थालिने भएको थियो । सबै किसिमको उपचारपछि क्लबले सावित्रा कम्तीमा नौ महिना मैदानबाहिर रहने जनाएको थियो । केही समय न्युजिल्यान्डमै रहे पनि सावित्रा एन्फाको पहलमा कतारमा उपचार हुने आशाका साथ स्वदेश फर्केकी हुन् । तर, उनले एन्फाबाट सोचेजस्तो आर्थिक सहयोग पाउन नसक्दा सामाजिक सञ्जालबाटै आर्थिक सहयोग अपिल गर्न बाध्य भएको बताइन् । 

‘मेरो चोट गम्भीर रहेको र पछिल्लोपटक कतारको अस्पेटारमा गरिएको उपचार उच्चस्तरको रहेकाले पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा राखेकी हुँ । क्लबले बिमाबाट प्राप्त रकम मेरा लागि निकासा गरिदिने भएको छ, तर उक्त रकम मेरो शल्यक्रिया र सात–आठ महिना रिह्याबका लागि अपुग हुने भएकाले आमसमर्थकमाझ सहयोग माग्न आइपुगेकी छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आकलन रहेको छ,’ उनले भनेकी छिन् । 

यसअघि एन्फाले एसिएल गुमाएका महिला खेलाडीहरू दीपा शाही, प्रीति राई, हिराकुमारी भुजेल, गीता राना, जुनम जर्घामगर, पूर्वकप्तान रेनुका नगरकोटे र सविता रानामगरलगायत खेलाडीको उपचार नेपालमै गराएको थियो । उनीहरूको सबै उपचार खर्च एन्फाले नै गरेको प्रवक्ता साहको भनाइ छ । यसैगरी, खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फाबाट सावित्रामाथि अमानवीय व्यवहार गरेको बताएका छन् । ‘अहिले एकजना खेलाडी पीडामा छन् । भोलिका दिनमा प्रशिक्षक र रेफ्री पर्न सक्छन् । यो बेथिति, लापरबाही र अमानवीयता इतिहासले अवश्य लेख्नेछ,’ लामाले भने, ‘विदेश भ्रमणमा करोडौँ खर्च गर्न सक्ने एन्फाले खेलाडीका लागि केही लाख खर्च गर्न किन यति धेरै पीडा भयो ? ।’

एक्स्ट्रिम एनर्जी ड्रिंकद्वारा पाँच लाख सहयोग घोषणा
सावित्राको उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले पाँच लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । हाल घुँडाको गम्भीर चोटका कारण उपचारको तयारीमा रहेकी सावित्रालाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । एक्स्ट्रिम एनर्जीले देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडीलाई कठिन समयमा साथ दिनु आफ्नो दायित्व भएको बताएको छ । ‘हामी उपचार तथा पुनः मैदानमा फर्किनका लागि सानो सहयोगस्वरूप यो रकम प्रदान गर्न लागिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै छिट्टै पूर्ण रूपमा स्वस्थ भई पुनः नेपालको जर्सी लगाएर मैदानमा फर्किने विश्वास छ ।’

एन्फाबाट सहयोग पाइनँ
 सावित्रा भण्डारी, कप्तान, महिला टोली

एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पाइएन । पछिल्लोपटक कतारको अस्पेटारमा गरिएको उपचार उच्चस्तरको रहेकाले त्यहीँ उपचार गराउने इच्छा राखेकी हुँ । क्लबले बिमाबाट रकम मेरा लागि निकासा गरिदिने भएको छ । तर, मेरा लागि त्यो अपुग हुन्छ । 

न्युजिल्यान्डको क्लबले नै जिम्मा लिनुपर्छ
 सुरेश शाह, प्रवक्ता, एन्फा

व्यावसायिक क्लब फुटबलमा कुनै पनि खेलाडी घाइते भए निजको उपचारको जिम्मा क्लबकै रहने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ । सावित्राको उपचार पनि न्युजिल्यान्डको क्लबले नै लिनुपर्छ । खेलाडीले कतारमा गई उपचार गराउन इच्छा राखेकाले एन्फाले यसका लागि सबै प्रयास र पहल गरिरहेको छ । 

खेलाडीमाथि खर्च गर्न किन पछि हट्यो एन्फा ? 
 विक्रम लामा, अध्यक्ष, खेलाडी संघ

आज एकजना खेलाडी पीडामा छ । भोलि प्रशिक्षक र रेफ्री पर्न सक्छन् । यो केवल सुरुवात हो । महिला फुटबल टोलीकी कप्तान सावित्राको उपचारका लागि एन्फाले आवश्यक रकम सहयोग गराउन नसक्ने थाहा पाउँदा दुःख लागेको छ । मुद्दा मामिलामा करोडौँ खर्च गर्न सक्ने, पेस्कीका नाममा लाखौँ झिक्न सक्ने, एकपटकको खानामा लाखौँको बिल तिर्न सक्ने तपाईंहरूलाई आज खेलाडीका लागि केही लाख खर्च गर्न किन यति धेरै पीडा र पछि हट्नुभयो ?

कतार फुटबल संघलाई एन्फाले गर्यो पत्राचार
सावित्राको उपचारका लागि सहयोग गर्न एन्फाले कतार फुटबल संघ (क्युएफए)लाई पत्राचार गरेको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले क्युएफएसँग अघिल्लोपटकमा जस्तै यसपालि पनि सावित्राको उपचार गर्न आग्रह गरेका छन्,’ नेम्वाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सन् २०२१ मा कतार फुटबल संघकै सहयोगमा सावित्राले अस्पेटार अस्पतालमा उपचार गराएकी थिइन् । ‘योपटक सावित्राको चोट अलि गम्भीर छ । खेलाडीको चाहना कतारमै गराउने हो । यसैकारण एन्फा उसको उपचारका लागि सहयोग गर्न अपिल गर्दछ,’ नेम्वाङले भने, ‘हामीले आवश्यक पर्ने सावित्राको सबै कागज पठाएका छौँ ।’ 

नेपालको फुटबल इतिहासमा युरोपदेखि अस्ट्रेलियासम्म व्यावसायिक फुटबल खेल्ने सावित्रा मात्र एकमात्र खेलाडी हुन । ५७ अन्तर्राष्ट्रिय खेल खेलिसकेकी सावित्रासँग फ्रान्सको शीर्ष डिभिजन लिग खेलेको अनुभव छ । सावित्रापछि राष्ट्रिय टोलीकी गोलरक्षक तथा पूर्वकप्तान अञ्जिला तुम्बाप्पो सुब्बा मात्रै युरोपेली लिग खेल्ने दोस्रो खेलाडी हुन् । 

सुझावित समाचार