यसपटक ‘इतिहास’कै दबाबमा ओली

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण
  • गृहजिल्ला झापाबाट विगतमा फराकिलो मतान्तरले जित्दै आएका ओलीले यसपटक ‘क्षेत्र सुरक्षित’ गर्ने उच्च दबाब झेलिरहेका छन्, प्रतिकूल नतिजाले राजनीतिक इतिहासमा पार्ने प्रभावको आकलन गरेर झापा ५ मै केन्द्रित भएका छन्

‘राजनेता’को ब्रान्डिङ, देशभर दौडधुप, आवश्यकताअनुसार काठमाडौंमै बसेर चुनावी समन्वय र थोरै समय मात्र आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय । विगतका धेरैजसो निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीको ‘रुटिङ’ यस्तै रहन्थ्यो । तर, यसपटकको निर्वाचनमा उनको ‘रुटिङ’मा धेरै बदलाव आएको छ, उम्मेदवार रहेको झापा ५ मै केन्द्रित छन् । विगतमा फराकिलो मतान्तरले जित्दै आएका ओलीले यसपटक ‘क्षेत्र सुरक्षित’ गर्ने उच्च दबाब झेलिरहेका छन् ।

२३–२४ भदौको जेन–जी विद्रोहमा सत्ता गुमाएका ओलीलाई एमालेले भावी प्रधानमन्त्रीको ‘फेस’ बनाएको छ । तर, मनोनयन दर्ताको एक महिनामा उनी आफ्नो निर्वाचन क्षेत्र झापा ५ र काठमाडौंमा सीमित बनेका छन् । बदलिएको परिस्थितिमा ओली झापामा जसरी केन्द्रित छन्, यसले उनी २१ फागुनको निर्वाचनमा निकै ठुलो दबाबमा छन् भन्ने देखाएको छ । राप्रपाले एमालेसँगको गठबन्धन अस्वीकार गरेको छ ।

मनोनयनयता ओली तीनपटक झापा आएका छन् र कुल १४ दिन बसेका छन् । पछिल्लोपटक आइतबार काठमाडौंबाट झापा झरेका उनी अझै केही दिन बस्ने एमालेले जनाएको छ । देशदौडाह ओलीको कार्यसूचीमा परेको छैन । झापामा पनि आफ्नो निर्वाचन क्षेत्रबाहेक उनी गएका छैनन् । बरु एमाले उम्मेदवार उनलाई भेट्न दमक पुग्ने गरेका छन् । ०७९, ०७४, ०७० का निर्वाचन हेर्ने हो भने ओली यसपटक फेरिएका देखिन्छन् ।

देशदौडाहमा निस्कने अनि झापा पुग्दा आफ्नो घरमा मतदाता, कार्यकर्तालाई भेट दिने ओली यसपटक भने मतदातालाई भेट्न गाउँ–गाउँ पुगिरहेका छन् । यसअघि उनी निर्वाचनका सभा र छलफलमा गएर सम्बोधन गर्दै आएका थिए । अहिले मतदाताका तीखा प्रश्नको सामना उनले गरिरहनुपरेको छ । विगतमा यस्तो दृश्य कमै देखिन्थ्यो । आफूमाथिको आरोपको सफाइसमेत ओलीले दिइरहेका छन् ।

एमाले झापा अध्यक्ष प्रेम गिरीले यसपटक चुनावी रणनीति बदलिएकाले ओली देशदौडाहमा नरहेको प्रतिक्रिया दिए । ‘उहाँ आफैँ उम्मेदवार भएका कारणले झापा ५ मा सक्रिय हुनुभएको छ । झापा र काठमाडौंबाट नै बराबर देशभरको चुनावी कमान्ड गरिरहनुभएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘झापामा लामो ग्यापपछि आउनुभएको कारण पनि यहाँ समय दिनुभएको हो । तर, सबै चुनावी रणनीति मिडियालाई भन्न मिल्दैन ।’ 

हुन त जेन–जी आन्दोलनमा सत्ताको नेतृत्वमा रहेका ओली, गृहमन्त्री रमेश लेखकसहित अधिकारीमाथि १२ असोजदेखि स्थानहद (काठमाडौं उपत्यकाबाहिर जान रोक) लगाएको थियो । तर, २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगले बयान लिएपछि मात्र २१ पुसमा ओलीको स्थानहद फुकुवा गरेको थियो ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा ५ मा ओली र बालेनसँगै २४ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र दुईजना अन्य गरी एक लाख ६३ हजार ३७९ मतदाता छन्, जसमा नौ हजार ९० नयाँ मतदाता थपिएका हुन् । यो क्षेत्रमा ६१ मतदानस्थल र १८५ मतदान केन्द्र छ ।

बालेनको इन्ट्रीले फेरिएका ओली, १० दिनमै सय टोलमा घरदैलो
ओली आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुनुमा मुख्यत: जेन–जी विद्रोह र रास्वपा वरिष्ठ नेता बालेन शाह चुनाव लड्न उनकै क्षेत्रमा आउनुलाई मानिएको छ । विगतमा पटक–पटक राप्रपासँग तालमेल हुने गरेकोमा यसपटक ओली एक्लै मैदानमा छन्, यो पनि अर्को दबाब छ । विगतमा मतदाता भेट्न घरदैलो न्यून गर्ने उनी यसपटक टोलटोल पुग्ने प्रयासमा छन् । माघ अन्तिम साता मात्रै उनले कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका र गौरादह नगरपालिकाका ८० वटा टोलमा घरदैलो र मतदाता भेटघाट गरेको एमालेले जनाएको छ । बिचमा काठमाडौं गएर आइतबार पुन: फर्किएका उनले मंगलबारसम्म दमक नगरपालिकाका विभिन्न वडाका १५ टोलमा घरदैलो गरेका छन् । यसपटक ओलीले मतदाताको तिखा प्रश्नको पनि सामना गरिरहेका छन् ।

जेन–जी विद्रोह र बालेनको इन्ट्रीले फेरिएका ओली
एमाले अध्यक्ष केपी ओली आफ्नो निर्वाचन क्षेत्रमा सीमित हुनुमा मुख्यत: जेन–जी विद्रोह र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ओलीकै क्षेत्रबाट उम्मेदवारी दिनुलाई मानिएको छ । विगतमा पटक–पटक राप्रपासँग तालमेल हुने गरेकोमा यसपटक ओली एक्लै मैदानमा छन्, यो पनि ओलीका लागि अर्को दबाब छ ।

जेन–जी विद्रोहमा राज्यतर्फबाट बल प्रयोग भएको विषयमा तत्कालीन प्रधानमन्त्री ओलीमाथि प्रश्न उठ्ने गरेका छन् । अनि त्यही विद्रोहताका जेन–जीबाट प्रधानमन्त्रीको अफर पाएका र अहिले भावी प्रधानमन्त्रीका रूपमा रास्वपाबाट चुनावी मैदानमा उत्रिएका बालेनका कारण ओलीमाथि चुनौती थपिएको विश्लेषण छ । त्यही भएर ओली यसपटक झापामा धेरै समय बिताइरहेका छन् ।

मनोनयन दर्ताका लागि ५ माघमा झापा आएका ओली चार दिनसम्म निर्वाचन क्षेत्रमा सक्रिय भए । उनले यहाँका कार्यक्रमलाई सम्बोधन गर्ने तथा रिसाएका कार्यकर्ता फकाउने प्रयास गरे । घोषणपत्र लेख्न भनेर ९ माघमा काठमाडौं गए । तर, २३ माघमा पुन: झापा आए । त्यसपछि एक हप्ता निर्वाचन क्षेत्रमा बिताएका उनले कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका र गौरादह नगरपालिकाका ८० वटा टोलमा घरदैलो र मतदाता भेटघाट गरेको एमालेले जनाएको छ ।

२९ माघमा काठमाडौं गएका ओली आइतबार पुन: झापा आएर मतदाता भेटघाटमा व्यस्त छन् । मंगलबार प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन् । यसपटक दमकका घरघरमा पुगेर मत माग्ने एमाले झापा ५ निर्वाचन परिचालन समितिले जनाएको छ । ओली अझै केही दिन झापा ५ मा नै बसेर मतदाता भेट्नेछन् । उनी दमक २ स्थित एमालेका एक कार्यकर्ताको घरमा बसिरहेका छन् ।

जेन–जी आन्दोलनपछि ओलीमाथि मतदातामा देखिएको निराशा र यही वेला लोकप्रिय रहेका बालेन झापा ५ मा आएपछि ओलीको शैली फेरिएको हो । हुन त बालेन पनि ओलीजस्तै मतदाताका घरघरमा पुगिरहेका छन् । तर, सँगसँगै बालेन देशदौडाहमा पनि छन् ।

ओली यसपटक निवासमा कार्यकर्ता भेटघाटसँगै घरदैलामा पनि छन् । उनको परम्परागत निर्वाचन क्षेत्रमा बालेनको आगमनसँगै यो निर्वाचन क्षेत्रले देशकै ध्यान केन्द्रित गरिरहेको छ । यो निर्वाचन क्षेत्रलाई ‘इलेक्सन इपिसेन्टर’का रूपमा हेरिएको छ ।

विगतको तुलनमा असहज महसुस ठानेर ओलीको सक्रियता बढेको दमक बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख मोहन भण्डारीको बुझाइ छ । उनका अनुसार विगतको तुलनमा ओलीलाई यसपटक केही असहजता देखिएको छ । ‘पानी परेन भने छाता ओड्नुपर्दैन, पानी परेपछि छाताको जोहो गर्ने हो । सक्रियता पनि आवश्यकताअनुसार हुने हो । यसपटक आवश्यकता ठानेर सक्रियता बढाएको हुनुपर्छ,’ उनले भने, ‘सामान्य र सहज हुँदा सक्रियता धेरै चाहिएन । यसपटक अलिक मिहिनेत गर्नुपर्छ भन्ने उहाँले नै सोच्नुभएको हुन सक्छ । नयाँप्रति अहिलेको जुन हल्ला छ, त्यसले असहज महसुस गरेर बढी सक्रिय हुनु भएको हुन सक्छ ।’

एमालेले पनि विगतभन्दा केही असहजता भएका कारण ओली घरदैलोमा निस्किएको जनाएको छ । ०४८ सालदेखि ओलीको चुनावी कमान्ड सम्हाल्दै आएका एमाले नेता देवेन्द्र दाहाल ०६४ अघिको निर्वाचनसम्म ओलीले सहज रूपमा जित्दै आएको बताउँछन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीको हल्लाका कारण ओली निर्वाचनमा पराजय हुनपुगेको उनको भनाइ छ । यद्यपि, ०६४ पछिका तीन निर्वाचनमा ओलीले सहज ढंगले चुनाव जितेको एमाले झापा ५ का निर्वाचन परिचालन समिति संयोजक दाहाल बताउँछन् ।

‘०४८ मा त झापा जिल्लाभरि एमालेले जितेको थियो । जो उठाउँदा पनि जित्ने अवस्था थियो । पछिका निर्वाचनमा पनि जनताले माया नै गर्नुभयो । उहाँ(ओलीले) सहजै जित्नुभयो,’ दाहालले भने, ‘०६४ को निर्वाचनमा माओवादीको होहल्ला थियो । जनतालाई नयाँलाई मूलधारमा ल्याऊ भन्ने पनि थियो । त्यसवेला अनेक खालका षड्यन्त्र हुँदा उहाँ हार्नुभएको थियो । त्यसपछि अहिलेसम्म सबै निर्वाचन सहजै जित्नुभएको छ ।’

विगतका तुलनमा २१ फागुनमा हुने निर्वाचनमा केही असहजता रहेको उनी बताउँछन् । विगतभन्दा अहिले परिस्थिति फेरिएका कारण सक्रियता बढेको दाहालको भनाइ छ । यद्यपि, बाहिर हल्ला भएजस्तो नभई ओलीको जित निश्चित भएको उनी दाबी गर्छन् ।

‘अहिले नयाँ र पुरानोको नाराले केही समस्या भएजस्तो सुनिएको छ । तर, हल्ला गरिए जस्तो गाह्रो अवस्था नै त होइन । जनतामा छरिएका भ्रम चिर्नका लागि पनि मसिनो ढंगले लाग्नुपर्ने अवस्था छ । त्यहीअनुसार जनतासँग संवाद गर्ने कार्यक्रम बनाएर लागेका हौँ,’ दाहालले नयाँ पत्रिकासँग भने, ‘सामाजिक सञ्जालले जनतामा अन्योल सिर्जना गरेको छ । नागरिकले अध्यक्षकै कुराकानी सुन्न जरुरी भएकाले मसिनो गरी लागेका छौँ । त्यही भएर हामीले उहाँ (ओली)लाई जनतासँग लिएर आएका हौँ । यसले जनता र उहाँबिचमा आत्मीयता पनि बढेको छ ।’

ओलीका चुनावी शृंखला
ओलीले ०४८ को चुनावबाट संसदीय राजनीति थालेका हुन् । योबिचका सातमध्ये ६ निर्वाचन उनले झापाबाटै जितेका छन् । ०६४ मा भने पराजित भएका थिए । ०७० यताकोे निर्वाचनमा ओलीले पाएको मतपरिणामलाई हेर्दा ओलीलाई झापा ५ सहज देखिन्छ । तर, बदलिँदो परिस्थिति र बालेनको चुनौतीले उनीमाथि दबाब छ । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा ओलीले तत्कालीन झापा ७ (हालको झापा ५)बाट निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेशकुमार योङहाङलाई आठ हजार २४५ मतान्तरले पराजित गरेका थिए । ओलीले १९ हजार २८७ मत पाउँदा योङहाङले ११ हजार ४१ मत पाएका थिए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले निकटम प्रतिस्पर्धी कांग्रेसकै खगेन्द्र अधिकारीलाई दोब्बर मतान्तरले हराए । तत्कालीन माओवादी र राप्रपाको साथ पाएका ओलीले ५७ हजार १३९ मत प्राप्त गर्दा अधिकारीले २८ हजार ८४२ मत मात्र पाएका थिए ।

तीन वर्षअघि ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि ओलीले कांग्रेसका अधिकारीभन्दा झन्डै दोब्बर मत पाएका थिए । ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दा अधिकारीले २८ हजार ५७६ मत पाएका थिए । उनीहरूबिच २३ हजार ७४३ मतान्तर थियो । यद्यपि, त्यो वेला ओलीलाई राप्रपाको र कांग्रेसका अधिकारीलाई तत्कालीन माओवादीको साथ थियो । यसपटक ओलीले झापामा राप्रपासँग तालमेल गरेका छैनन् । एक्लाएक्लै निर्वाचनमा लड्दा पनि निर्वाचन क्षेत्रमा ओलीको सक्रियता बढ्दो छ ।

मतदाताले ओलीसँग के चाहेका छन् ?

२४ माघमा कमल गाउँपालिका– १ का मतदाता मोहनबाबु शेर्माले जेन–जी आन्दोलनमा नेताहरूको घरमा भेटिएको भनिएको पैसाको बारेमा प्रश्न गरेका थिए 

जवाफमा ओलीले भने : कसको घरबाट निस्कियो ? मेरोबाट त निस्किएन । सबैको जिम्मा त मैले लिन सक्दिनँ । अरूको कारोबार त मैले थाहा पाउँदिनँ नि ! शेरबहादुरजीको घरमा देखाइएको पैसा अर्कै देशमा कहीँकतै एआईबाट फोटो बनाएर यस्तो देखियो भन्छन् । एउटा हजारको नोट त देखाउँदै हिँडेर जलेको नोट देखियो भनेको मैले पनि देखेँ । हजार–दुई हजार त होला । तर, जुन देखाइयो त्यो नक्कली हो । दुष्प्रचारको भ्रममा पर्नुहुँदैन । मैले भनेको छु म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । हामी छानबिन गर्छौँ प्रमाणित भए कारबाही गर्छौँ । तर, अहिलेको त प्रमाणित हुने कुरा छैन ।

२४ माघमा कलम १ का सुकुमवासीले पटकपटक जिताउँदा पनि धनीपुर्जा नपाएको गुनासो गरे ।

जवाफमा ओलीले भने : के–के भएको तपाईंहरूले बुझ्नुभएको छ ? जब आयोगले धनीपुर्जा वितरण गर्न थाल्छ सरकार ढल्छ । फेरि आयोग खारेज हुन्छ । फेरि अर्को आउँछ बाँड्न लागेपछि भंग गरिदिन्छ । अस्ति आयोग खत्तम गर्‍यो । हामीले आयोग अदालतबाट लडेर ल्याएका छौँ ।

२५ माघमा कमल गाउँपालिकाका मतदाताले आदिवासी रंगशाला र औद्योगिक पार्क नबन्नुको प्रश्न सोधे ।

जवाफमा ओलीले भने : रंगशाला बनाउन तपाईंहरू सहमत भए रंगशाला बन्छ । अर्बौँको रंगशाला बनाउनु छ, यहाँ उपभोक्ता समिति बनेको छ । उपभोक्ता समिति त फुटबल खेल्ने होला । रंगशाला बनाएपछि फुटबल खेल्न जतिवेला पनि पाइँदैन । त्यसको नियम हुन्छ । हामीले पहल गरेर बनायौँ भने पनि त्यहाँ त नियमअनुसार बस्नुपर्छ । हामीले नै कार्यक्रम गर्न पाइँदैन । गाउँको उपभोक्ता समितिले बजेट कसरी ल्याउँछ ? नहुने कुरा गरेर राजनीति गरेर हुँदैन । उपभोक्ता समिति बनाएर अनेक खालका कुरा नगरौँ । त्यसलाईचाहिँ ठेक्का लगाऊँ भन्ने कुरा गरेका हौँ । त्यसवेला केही राजनीतिक दल बनाउन दिन्नौँ भनेर उफ्रने, अनेक समस्या पैदा गर्नेतिर लागे । त्यस्तो नगर्दा बनिहाल्थ्यो नि ! यो रंगशालाको कुरा मैले उठाएको हो । अरूको कल्पना पनि थिएन । प्रहरीसँग जग्गा पनि मैले लिएको हो । औद्योगिक पार्क पनि बन्छ । तर, त्यो बनाउन नदिन विभिन्न शक्ति लागेका छन् । त्यसलाई हामीले पराजित गर्नुपर्छ । हामी त्यसमा लागेका छौँ ।

२६ माघ सीमावर्ती गाउँ गौरीगन्जका मतदाताले सोधे : चुनाव सकिएको तीन वर्षपछि यो गाउँमा तपाईंको पाइला पर्‍यो । ०४८ देखि चुनाव लड्दै आउनुभएको छ । योबिचमा दुईपटक पाइला टेक्नुभयो । अघिल्लो चुनावका वेलामा टावर (मोबाइलको टावर) दिन्छु भनेर मुखले बोलेर जानुभयो । हामीलाई व्यक्तिगत केही परेन । यहाँको बाटो कहिले बन्छ ? कि यो गाउँमा मधेशी छ भनेर हेप्नुभएको हो ?

ओलीले जवाफमा भने : हुलाकी राजमार्ग बनेको देख्नुभएको छ । पाडाजुंगीसम्मको बाटो पनि बनेको देख्नुभएको छ । विद्यालय बनेको देख्नुभएको छ । अरू बाटो पनि देख्नुभएको छ । केही बाँकी होला । के गर्नुपर्छ हामी गर्छौँ । 

२७ माघमा चीन नेपाल औद्योगिक पार्क प्रभावित जनताले आसु झार्दैउचित मुआब्जा नपाएको गुनासो गरे । उनीहरूले एमालेका तल्लो तहका कार्यकर्ताले ओलीसम्म कुरा नपुर्‍याएको गुनासो गर्दै कार्यकर्ता खराब भएको बताए । 

ओलीले जवाफमा भने : मैले त यो कुरा थाहा पाएको छैन । मैले भन्ने त तपाईंहरूलाई मुआब्जा दिनुपर्छ भन्ने हो । 

४ फागुन दमकमा पत्रकारले यसपटक निर्वाचनलाई चुनौतीपूर्ण ठान्नुभयो भन्ने प्रश्न सोधे । 

ओलीको जवाफ : मैले चुनावलाई चुनौतीपूर्ण ठान्नुपर्ने कारण नै छैन । किनभने यस क्षेत्रमा मात्र होइन देशमै मेरो नेतृत्वको सरकारले गरेका काम जहाँ उभिनुभएको छ । देख्न सक्नुहुन्छ ।

ओलीले सार्वजनिक गरे आफ्नो प्रतिबद्धतापत्र : भ्रष्टाचार नियन्त्रणदेखि सुकुमवासीलाई लालपुर्जा बाँड्नेसम्मका योजना

पार्टीको औपचारिक घोषणापत्र नआउँदै एमाले अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी ओलीले मंगलबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । ओलीको प्रतिबद्धतापत्रमा राष्ट्रिय र स्थानीय मुद्दा चार बुँदा र ४२ वटा उपबुँदामा समेटिएको छ । 

घरदैलोको क्रममा दमक नगरपालिका– ९, अमरसिंह चोकमा आयोजित कार्यक्रममा ओलीले देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियताको सवालदेखि झापा ५ को विकासको सन्दर्भ उल्लेख गरेर प्रतिबद्धतापत्र ल्याएका हुन् । ओलीले झापा ५ मा आव ०८२/८३ मा बजेट विनियोजन भई हाल रोकिएका र अधुरा विकास निर्माणका काम पूरा गर्न सशक्त पहलकदमी गर्ने वाचासमेत गरेका छन् ।

भूमिहीन, दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने कार्यलाई तीव्रता दिने प्रतिबद्धता छ । आदिवासी, जनजाति, दलित, सन्थाल, मुस्लिमलगायत पछाडि पारिएका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने, सबै ग्राभेल सडक कालोपत्रे गर्ने, अन्न, फलफूलका लागि शीतभण्डार स्थापना गर्नेलगायत प्रतिबद्धता छ । प्रत्येक पालिकामा एक–एक सुविधासम्पन्न खेलमैदान निर्माण र क्रमश: वडास्तरसम्म खेलमैदान विस्तार गर्ने प्रतिबद्धता ओलीको छ । 

त्यस्तै, ओलीले सबै सामुदायिक विद्यालय, क्याम्पसलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउने, कृषि क्षेत्रमा सिँचाइ पुर्‍याउने, कृषिलाई आधुनिकीकरण, बजारीकरण र यान्त्रीकरणमा पहल गर्ने, जैविक मल कारखाना स्थापना गर्ने, खानेपानीका सबै अधुरा आयोजना पूरा गर्ने प्रत्येक घरपरिवारलाई स्वच्छ खानेपानीको प्रबन्ध गर्न पहल गर्ने उल्लेख गरेका छन् । यसबाहेक सबै नदीमा आवश्यकताअनुसार तटबन्ध निर्माण गर्ने, लामो समयदेखि अलपत्र परेको दमक–चिसापानी सडक पुन: ठेक्का लगाउँदै निर्माण सम्पन्न गर्नेलगायत विषय प्रतिबद्धता–पत्रमा भनिएको छ । विगतमा अलपत्र रहेका आयोजना पूरा गर्ने ओलीले प्रतिबद्धता जनाएका छन् । 

लामो समयदेखि अलपत्र परेको कमल ५ स्थित आदिवासी रंगशाला निर्माण गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख छ । यो रंगशाला ०७२ सालमा नाम परिवर्तन हुँदै मदन भण्डारी नामांकन गरेपछि काम अघि बढ्न सकेको थिएन । एमाले–कांग्रेस गठबन्धनको सरकारका पालामा ओलीकै दबाबमा नाम परिवर्तन भएको थियो । आदिवासी–जनजाति समुदायको विरोधपछि  काम हुन सकेको थिएन । ०६७ सालमा शिलान्यास भएको यो रंगशाला हालसम्म अलपत्र छ । ओली त्यसयता पटक–पटक प्रधानमन्त्री हुँदा पनि निर्माणको रंगशाला निर्माणमा चासो दिएका छैनन् । 

दमक ३ मा प्रस्ताव गरिएको मदन भण्डारी रंगशाला निर्माणमा पहल गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख छ । चालू आर्थिक वर्षको बजेटमा समावेश भएको यो रंगशालाको काम अघि बढ्न सकेको छैन । ओलीको प्रतिबद्धता–पत्रमा दमक ३ मा रहेको बिजनेस टावर (भ्युटावर) सञ्चालनमा ल्याउँदै आसपासका जग्गामा ल्यान्डपुलिङ गर्न पहल गर्ने उल्लेख छ । यो भ्युटावर उद्घाटनको एक वर्ष बितिसक्दासमेत सञ्चालनमा आउन सकेको छैन । 

दमक, कमल र गौरादहको संगमस्थलमा बन्ने भनिएको चीन–नेपालमैत्री औद्योगिक पार्क निर्माण कार्यसम्पन्न गर्ने ओलीको प्रतिबद्धता–पत्रमा उल्लेख छ । यो पार्क ओलीले पाँच वर्षअघि शिलान्यास गरेका थिए । तर, यसको काम अगाडि बढ्न सकेको छैन । 

निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको सभागृह सञ्चालनमा ल्याउने ओलीले प्रतिबद्धता गरेका छन् । एक करोड खर्च गरेपछि अलपत्र परेको १७ अर्बको देशकै विशाल बुद्धको मूर्तिसहितको विराट बुद्धपार्क निर्माण गर्न पहल गर्ने उल्लेख छ । 
   

See More On

सुझावित समाचार