बंगलादेशमा बिएनपीलाई दुईतिहाइ जनादेश

बिएनपीका अध्यक्ष तारिक रहमान अबका प्रधानमन्त्री

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण
  • डेढ वर्ष लामो राजनीतिक संक्रमण अन्त्य गर्ने गरी बंगलादेशमा अन्तरिम सरकारले गराएको संसदीय निर्वाचनमा बिएनपीलाई दुईतिहाइ बहुमत 
  • बिएनपीको जित लामो राजनीतिक असन्तोष, युवा आन्दोलन, अवामी लिगको प्रतिबन्ध र परिवर्तनको आकांक्षाको सामूहिक अभिव्यक्ति

सन् २०२४ मा भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि सम्पन्न पहिलो प्रतिस्पर्धात्मक तथा तुलनात्मक रूपमा स्वतन्त्र मानिएको संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले दुईतिहाइ बहुमतसहित ऐतिहासिक विजय हासिल गरेको छ । यो परिणामलाई लामो राजनीतिक असन्तोष, युवा आन्दोलन र परिवर्तनको आकांक्षाको सामूहिक अभिव्यक्तिका रूपमा विश्लेषण गरिएको छ । 

डेढ वर्षअघि नागरिक विद्रोहले शेख हसिना नेतृत्वको सरकार ढालेपछि भएको यो पहिलो संसदीय निर्वाचन हो । सन् २००९ देखि निरन्तर सत्तामा रहेकी हसिना विद्यार्थी आन्दोलनको दबाबपछि पदमुक्त भई हाल भारतको नयाँदिल्लीमा निर्वासनमा छिन् ।

निर्वाचनबाट करिब दुई दशक प्रताडित भएको र दबिएको बिएनपी उदाएको छ । १३औँ संसदीय निर्वाचनको परिणामलाई बंगलादेशको राजनीतिमा नयाँ अध्यायको प्रारम्भका रूपमा हेरिएको छ । वर्षौँसम्म प्रतिस्पर्धाविहीन चुनावको आरोप झेलेको देशमा यसपटक तुलनात्मक रूपमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।

बिएनपीले २९९ सिटमध्ये २१२ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको छ । निर्णायक विजयसँगै पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनी अर्को साता पद तथा गोपनीयताको शपथ लिने तयारीमा छन् ।

बिएनपीको विजयका पछाडि लामो समयदेखिको राजनीतिक असन्तोष, भ्रष्टाचार र कुशासनविरुद्धको जनआक्रोश, जनमुखी एजेन्डा, अवामी लिगमाथि प्रतिबन्ध, उच्च मतदान सहभागिता र गठबन्धनको प्रभावलाई मुख्य कारण मानिएको छ । विश्लेषकहरूका अनुसार विद्यार्थी आन्दोलनले भयको राजनीति तोड्दै मतदातालाई विकल्प रोज्ने मनोबल दिएको थियो । यद्यपि, पूर्वसत्तारूढ अवामी लिगले निर्वाचन निष्पक्ष नभएको आरोप लगाउँदै परिणाममाथि प्रश्न उठाएको छ । यसले संक्रमणकालीन राजनीतिक तनाव अझ केही समय कायम रहने संकेत दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई बंगलादेशको राजनीतिक इतिहासमा महत्वपूर्ण लोकतान्त्रिक मोडका रूपमा चित्रित गरेका छन् । उनीहरूले विद्यार्थी आन्दोलनलाई परिवर्तनको आधारशक्ति मानेका छन् । साथै, नयाँ सरकारका लागि आर्थिक पुनर्निर्माण, लगानी पुन: आकर्षण र रोजगारी सिर्जना प्रमुख चुनौती हुने उल्लेख गरेका छन् ।

दक्षिण एसियादेखि विश्वका प्रमुख देशहरूले बिएनपीको विजयलाई स्वागत गरेका छन् । भारत, चीन, अमेरिका, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानले नयाँ नेतृत्वसँग सहकार्यको अपेक्षा व्यक्त गरेका छन् । भारतसँग चार हजारभन्दा धेरै किलोमिटर खुला सीमा जोडिएको बंगलादेशका लागि नयाँ चरणमा द्विपक्षीय सम्बन्ध स्थापित गर्ने अवसर आएको छ । 

बंगलादेशका लागि पूर्वराजदूत तथा पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले बंगलादेशमा निर्वाचनमार्फत मूलधारको परिपक्व तथा स्थापित राजनीतिक दलले सरकार गठन गर्न लागेको टिप्पणी गरे । ‘अतिवादी शक्तिलाई बंगलादेशका जनताले मन पराएनन्, अनुभवी दललाई उनीहरूले छानेका छन् । बंगलादेशको राजनीतिक स्थिरता र क्षेत्रीय स्थिरताका लागि यो सकारात्मक परिस्थिति हो,’ आचार्यले भने, ‘भारतसँग उनको सम्बन्धले सार्क प्रक्रिया अघि बढाउन पनि सहयोग पुग्छ । यसमा उनको भूमिका महत्वपूर्ण हुन्छ ।’ 

बंगलादेशका लागि नेपाली पूर्वराजदूत डा वंशीधर मिश्रले बंगलादेशमा जनताले राजनीतिक स्थिरताका पक्षमा फैसला गरेको टिप्पणी गरे । ‘बंगलादेशमा विकास र समृद्धि भयो, तर लोकतान्त्रिक मूल्य–मान्यता लत्याएर अवामी लिगले अधिनायकवादी शासन सञ्चालन गरेको थियो । तर, जनताले अतिवादी सोच र समूहलाई अस्वीकार गरेको छ,’ पूर्वराजदूत मिश्रले भने । बंगलादेशमा बढ्दो इस्लामीकरणको चिन्ता हटेको छ, तर अल्पसंख्यक हिन्दुहरूको सुरक्षाबारे अझै अनिश्चय कायम छ । ‘बंगलादेशका जनताले स्थापित र संस्थागत पार्टीलाई जिताएका छन् । अतिवादीकरणको चिन्ता अहिलेलाई साम्य भएको छ र राजनीतिक स्थिरता सुनिश्चित हुने संकेत देखिएको छ,’ पूर्वराजदूत मिश्रले भने । 

नेपालमा प्रजातन्त्र स्थापना (२००७) को २० वर्षपछि जन्मिएको बंगलादेशले यस वर्ष १३औँ संसदीय निर्वाचन सम्पन्न गरेको छ । बंगलादेश दक्षिण एसियाको कान्छो देश हो । यसअघि २२ पुस ०८० मा सम्पन्न १२औँ संसदीय निर्वाचनमा अवामी लिगलाई दुईतिहाइ मत प्राप्त भएको थियो । २६ मार्च १९७१ पाकिस्तानबाट स्वतन्त्र भएको बंगलादेशले राजनीतिक र सैन्य विद्रोह तथा आन्दोलनको सामना गर्दै आएको छ

सन् २००९ देखि अविच्छिन्न रूपमा सत्तामा रहेकी हसिना २१ साउन ०८१ को विद्यार्थी विद्रोहको बलमा सत्ताच्युत भएर भागेकी थिइन् । उनी हाल नयाँदिल्लीमा निर्वासित जीवन व्यतीत गरिरहेकी छिन् । विद्यार्थी विद्रोहले सत्ता परिवर्तन गरेसँगै अन्तरिम सरकारले निर्वाचन गराएको छ भने देशको स्वतन्त्रताका लागि लडेको खानदान परिवार र दल उसकै कारण किनारामा परेको छ । 

नागरिक विद्रोहपछि गठित मोहम्मद युुनुस नेतृत्वको अन्तरिम सरकारले प्रतिबन्ध लगाएको अवामी लिग पार्टी नेतृ हसिनाको शासन ढलेपछि बंगलादेशले स्थापित र पुरानो दललाई सरकारको नेतृत्व सुम्पिने तयारी गर्दै छ । बिएनपीले यसअघि दुईपटक सरकारको नेतृत्व गरेको छ । 

बंगलादेश जमात ए इस्लामी तथा नागरिक विद्रोहको नेतृत्वकर्ताले खोलेको नेसनल सिटिजन्स पार्टी (एनसिपी)सहित ११ दलीय गठबन्धनले जम्मा ७७ सिट पाएको छ । एनसिपीले जम्मा ६ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

कुनै समय गरिबीमा फसेको, अस्थिर राजनीति भएको, सबैतिरबाट हेपिएको देशले २०२४ अगस्टसम्म दक्षिण एसियामा सबैभन्दा तीव्र आर्थिक दर हासिल गरेको थियो । तर, लोकतान्त्रिक संस्कार, पारदर्शिता अभाव, कुशासनका कारण समृद्धिको वाहक हसिना सरकार ढलेको थियो । २०२४ अगस्टसम्म आइरन लेडीको उपमा पाएकी हसिनाले गरिब देशबाट बंगलादेशलाई एसियाको उदाउँदो बाघ (राइजिङ टाइगर)सम्म बनाएकी थिइन् । उनको निरंकुश शैलीले त्यो बिरासतलाई बंगलादेशमा अहिले मेटाइदिएको छ ।

तारिकलाई नेपाल, भारत र विश्वकै बधाई
भावी प्रधानमन्त्री एवं बिएनपीका अध्यक्ष तारिक रहमानलाई दक्षिण एसियादेखि विश्वभरबाट बधाई सन्देश व्यक्त भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा विजयका लागि तारिकलाई बधाई दिँदै उनीसँग सहकार्य गर्ने जनाएकी छिन् । निर्वाचन परिणामलाई उल्लेखनीय विजयको संज्ञा दिँदै कार्कीले आपसी हितका विविध क्षेत्रमा बंगलादेशसँग अझ नजिकको सहकार्यको अपेक्षा व्यक्त गरेकी छिन् ।

उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमा र ट्विटमा बधाई दिएका छन् । पार्टीलाई निर्णायक विजय दिलाएकोमा तारिकलाई मोदीले बधाई दिँदै भनेका छन्, ‘यो विजयले बंगलादेशी जनताले तपाईंको नेतृत्वप्रति गरेको विश्वास झल्काएको छ । भारत बंगलादेशमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको समर्थनमा निरन्तर उभिरहनेछ ।’

सरकारबाट हसिनाको बहिर्गमनपछि भारत र बंगलादेशबिच बिग्रेको सम्बन्ध पुनस्र्थापना हुने विश्वास गरिएको छ । भारतसँग बंगलादेशको चार हजार ९६ किलोमिटर सीमा जोडिएको छ । बंगलादेशको पश्चिम, उत्तर र पूर्वी सिमाना भारतसँग जोडिएको छ, दक्षिण–पूर्वी सिमाना म्यानमारसँग र दक्षिण बंगालको खाडीको तटीय क्षेत्रमा जोडिएको छ । 

चीनले बंगलादेशसँगको समग्र रणनीतिक सहकार्यको साझेदारी एवं स्थिर विकासलाई कायम राख्न सहकार्य गर्न तयार रहेको जनाएको छ । शुक्रबार जारी वक्तव्यमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बंगलादेशसँग सहकार्य अझ मजबुत बनाउँदै द्विपक्षीय सम्बन्धलाई गहिरो बनाउन बेइजिङ इच्छुक रहेको बताएका छन् । 

ढाकास्थित अमेरिकी दूतावासले ‘ऐतिहासिक विजय’का अवसरमा बिएनपी र अध्यक्ष तारिकलाई बधाई दिएको छ । 

पाकिस्तानका प्रधानमन्त्री साहबाज सरिफले सानदार विजय भएको भन्दै बिएनपी अध्यक्ष तारिकलाई बधाई दिएका छन् । उनले नयाँ बंगलादेशी नेतृत्वसँग नजिकबाट सहकार्य गर्दै ऐतिहासिक, भ्रातृभावपूर्ण तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन् । साथै, दक्षिण एसिया र बाहिर शान्ति, स्थिरता र विकासका साझा लक्ष्य अघि बढाउने पनि उनको प्रतिबद्धता छ । 

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बंगलादेशी मतदाताले तारिक रहमानप्रति देखाएको विश्वासको सम्मान गर्दै द्विपक्षीय सम्बन्ध सुदृढ गर्न आतुर रहेको बताएका छन् ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले चुनावी सफलताको प्रशंसा गर्दै दीर्घकालीन मित्रता र सहकार्यलाई अझ गहिरो बनाउने आशा व्यक्त गरेका छन् ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बंगलादेशको जनादेशलाई प्रभावशाली भन्दै तारिक नेतृत्वप्रति विश्वास प्रकट गरेका छन् । भारतमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेलगायतले बधाई दिएका छन् ।

बिएनपीका अध्यक्ष तारिक रहमान अबका प्रधानमन्त्री

को हुन् तारिक ? 
बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)को निर्णायक विजयसँगै अध्यक्ष तारिक रहमान बंगलादेशका प्रधानमन्त्री हुने निश्चित भएको छ । बंगलादेशमा २९ माघमा भएको संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले दुईतिहाइ मत पाएसँगै अर्को साता सरकार गठनको तयारी थालेको छ । 

बिएनपी अध्यक्ष रहमानले अर्को साता प्रधानमन्त्रीको शपथ लिँदै छन् । रहमान १७ वर्ष बेलायतमा निर्वासनपछि गत वर्ष स्वदेश फर्किएका थिए । उनका पिता जियाउर रहमानले सन् १९७८ मा पार्टी स्थापना गरेका थिए भने उनकी आमा वेगम खालिदा जिया दुईपटक प्रधानमन्त्री बनेकी थिइन् ।

जियालाई अदालतले भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजायको फैसला सुनाएपछि तारिक सन् २०१८ देखि बिएनपीको कार्यवाहक अध्यक्ष थिए । यस वर्ष जियाको निधनपछि तारिक पार्टी अध्यक्ष भएका थिए । उनी बंगलादेशका सातौँ राष्ट्रपति जियाउर रहमानका जेठा छोरा हुन् । बंगलादेशमा हसिनाको सत्ता ढलेकै दिन बिएनपी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री जिया रिहा भएकी थिइन् । 

प्रधानमन्त्रीका रूपमा ६० वर्षीय तारिकले बंगलादेशको नेतृत्व सम्हाल्न लागेका छन् । उनी सन् २००९ मा बिएनपीको वरिष्ठ उपाध्यक्ष, सन् २०१८ देखि कार्यवाहक अध्यक्ष तथा यस वर्ष उनकी आमा वेगमको निधनपछि पार्टी अध्यक्ष भएका छन् । उनको नेतृत्वमा बिएनपीले दुईतिहाइ मत प्राप्त गरेको हो । 

रहमान २००१ मा बिएनपीमा सक्रिय भएका थिए । बिबिसीका अनुसार २००२ मा तारिकले आफ्ना अभिभावकको राजनीतिक पदचापमा पछ्याउँदै पार्टी राजनीतिमा सक्रियता जनाए । 

२००७ मा सैन्य समर्थित कामचलाउ सरकारको समयमा भ्रष्टाचार आरोपमा तारिक पक्राउ परेका थिए । अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको उनको भनाइ थियो । उनी १८ महिना जेल बसेर रिहा भएका थिए । रहमान १७ वर्षपछि २५ डिसेम्बर २०२५ मा बंगलादेश फर्किए र पाँच दिनपछि उनकी आमा जियाको निधन भयो । 

बिएनपीले विगतमा बंगलादेशमा दुईपटक सरकारको नेतृत्व गरेको छ । यो पार्टी सन् १९७८ मा पूर्वराष्ट्रपति जियाउर रहमानले स्थापना गरेका थिए । उनले आफ्नो राष्ट्रपतिकालमा बंगलादेशी राष्ट्रवादी राजनीतिक विचारधारा अघि सारेका थिए भने बजारमुखी आर्थिक सुधारको सुरुवात गरेका थिए ।

सन् १९८१ मा जियाउरको हत्या भएपछि पार्टीको नेतृत्व उनकी पत्नी वेगम खालिदा जियाले गरेकी थिइन् । उनी दुईपटक (१९९१–१९९६ र २००१–२००६) प्रधानमन्त्री भइन् । सन् १९९१ मा सैन्य कुपछि बंगलादेशमा संसदीय लोकतन्त्र पुनस्र्थापना गरेको श्रेय पनि उनलाई जाने गरेको छ । यद्यपि, त्यसवेला भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, कमजोर संस्थागत नियन्त्रण भएकोलगायत आरोप लाग्ने गरेको छ । 

सुझावित समाचार