साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार १० अंकले घटेको नेप्से सोमबार २६.०५ अंकले घटेर दुई हजार ६७२.३९ विन्दुमा कायम भएको हो।
आज ३२४ कम्पनीका दुई करोड ६७ लाख ६६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आइतबार ११ अर्ब ५९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ समूहमध्ये व्यापार समूह ०.२४ प्रतिशतले बढ्दा बाँकी समूहको सूचकमा गिरावट देखिएको छ। वित्त समूह सर्वाधिक २.२९ प्रतिशतले घट्दा विकास बैंक, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र अन्य समूह एक प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।
बजार घटे पनि खानीखोला हाइड्रोपावर, रिडी पावर र लिबर्टी इनर्जीका लगानीकर्ता सर्वाधिक कमाउने सूचीको शीर्ष स्थानमा छन्। यी कम्पनी क्रमशः ९.९७ प्रतिशत देखि ७.८४ प्रतिशतसम्मले वृद्धि भएका हुन्। यता, मायाखोला हाइड्रोपावर पाँच तथा मबिलुङ इनर्जी, कालिन्चोक दर्शन, नेपाल माइक्रो इन्स्योरेन्स, सुपर माई हाइड्रोपावरसहित नौ कम्पनीको मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ।