संसद् भवनपरिसरमा जेन–जी सहिदको सालिक बन्ने

सिंहदरबार गुरुयोजना संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण
संसद् भवनपरिसरमा जेन–जी सहिदको सालिक बन्ने

सहरी विकास मन्त्रालयमातहत रहेको संसद् भवनमा जेन–जीको सालिक बनाउन लागिएको हो । सालिक बनाउनका लागि मन्त्रिपरिषद्ले सिंहदरबार गुरुयोजना संशोधन गर्ने निर्णय पनि गरेको छ ।

  • सिंहदरबारमा निर्माणाधीन संसद् भवनपरिसरमा ४५ सहिदको सालिक बन्नेछ 

सरकारले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा जेन–जी सहिदको सालिक बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ सहिदको सालिक बनाउने निर्णय गरेको हो । 

२३ र २४ भदौको जेन–जी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरिसकेको छ । उनीहरूको सम्मानमा सालिक बनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । 

सहरी विकास मन्त्रालयमातहत रहेको संसद् भवनमा जेन–जीको सालिक बनाउन लागिएको हो । सालिक बनाउनका लागि मन्त्रिपरिषद्ले सिंहदरबार गुरुयोजना संशोधन गर्ने निर्णय पनि गरेको छ । 

भ्रष्टाचारविरुद्ध गत २३ भदौमा जेन–जी पुस्ताले गरेको आन्दोलनमा राज्यबाट दमन हुँदा गोली लागेर १९ युवाको ज्यान गएको थियो भने सयभन्दा धेरै घाइते भएका थिए । सो दमनको विरोध हुँदा भोलिपल्ट देशैभरि आन्दोलन भएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका थिए । दुई हजार ४२९ जना घाइते भएका थिए । सरकारले जेन–जी सहिदको सम्झनामा पार्क पनि बनाउने तयारी गरिरहेको गृहमन्त्री अर्यालले जानकारी दिए । 

मंगलबारकै मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । विधेयकमा विवादास्पद प्रावधान भएकाले सरकारले फिर्ता लिने निर्णय गरेको हो । 

सुझावित समाचार