प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गरेकी छिन्। सम्बोधनका क्रममा उनले आफ्नो राजनीतिक यात्रालाई संयोग र परिस्थितिले बनाएको भन्दै यो क्षण फेरि नआउन सक्ने संकेत गरिन्।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले आफू योजनाबद्ध रूपमा सत्तामा नआएको स्पष्ट पारिन्। संसदमा उभिएर बोल्नु आफ्नो आकांक्षा नभई समय र परिस्थितिको परिणाम भएको उनको भनाइ थियो।
‘यो जीवनमा कहिल्यै नसोचेको क्षण हो। रहरले होइन, खोजेर होइन, परिस्थितिले यहाँ ल्यायो,’ उनले भनिन्, ‘आज जुन अवसर मैले पाएकी छु, सायद फेरि जीवनमा दोहोरिन गाह्रो होला। मैले यसको आशा पनि गरेकी थिइनँ।’
पहिलोपटक संसदमा सम्बोधन गर्ने अवसरलाई उनले जीवनको महत्त्वपूर्ण मोडका रूपमा लिएको बताइन्। यस्तो ऐतिहासिक क्षणको साक्षी बन्न पाउँदा आफूलाई खुसी लागेको उनको भनाइ छ।
‘आजको दिन मेरो जीवनको एउटा विशेष अनुभव बनेको छ। समयले साथ दिएर यहाँसम्म आइपुगेकी छु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘हेर्ने अवसर पनि पाएँ, बोल्ने मौका पनि पाएँ- यो नै ठुलो कुरा हो।’