कमला डाइभर्सनलाई उदाहरण बनाउँदै कुलमान घिसिङ भन्छन्- भाषण होइन, परिणाममुखी राजनीति

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष तथा पूर्वसहरी विकासमन्त्री कुलमान घिसिङले विकास र सुशासनका लागि परिणाममुखी काम नै नयाँ राजनीतिक संस्कारको आधार हुनुपर्ने बताएका छन्। उनले कमला नदीमा सञ्चालनमा आएको अस्थायी डाइभर्सनलाई यही सोचको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले भनेका छन्, ‘राजनीति अब भाषण र प्रतिबद्धतामा सीमित हुन नहुने समय आएको छ। हामी बहाना खोज्ने होइनौँ, समाधान दिन्छौँ ।’ उनले काम गरेर देखाउने अभ्यासलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन्।

तराई–मधेशको मुख्य आवागमन मार्ग मानिने हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने कमला नदीमा १४ वर्षसम्म पुल नबन्दा स्थानीयले भोग्दै आएको कठिनाइप्रति संकेत गर्दै उनले मंसिर ५ गतेको स्थलगत निरीक्षणपछि तत्काल कदम चालिएको स्मरण गराए। निरीक्षणका क्रममा जोखिमपूर्ण यात्रा, लामो वैकल्पिक मार्ग र नागरिकको दैनिक जीवनमा परेको असर देखिएपछि ह्युमपाइप प्रयोग गरी अस्थायी डाइभर्सन निर्माण गर्न निर्देशन दिइएको र त्यसको कार्यान्वयनसमेत भएको उनले उल्लेख गरे।

डाइभर्सन सञ्चालनमा आएपछि स्थानीय बासिन्दा र यात्रुहरूले सहजता महसुस गर्न थालेको भन्दै घिसिङले यसलाई प्रशासनिक सक्रियताको सकारात्मक नतिजा भनेका छन्। साथै, १४ वर्षदेखि अधुरो अवस्थामा रहेको ४६९ मिटर लामो कमला पुल निर्माण कार्य पनि हाल अन्तिम चरणमा पुगेको जानकारी गराउँदै उनले कडा अनुगमन, स्पष्ट चेतावनी र सक्रिय हस्तक्षेपकै कारण यो सम्भव भएको बताए।

उनका अनुसार काममा ढिलासुस्ती गर्ने रुग्ण ठेक्का तोडिने चेतावनी, नियमित निगरानी र जवाफदेहिताको अभ्यासले नै कमला पुललाई अधुरो योजनाबाट सम्पन्नतर्फ ल्याएको हो। उनले भने, ‘आज कमला पुल सपना होइन, यथार्थ बन्दै छ ।’ उनले यसैलाई नयाँ राजनीतिक संस्कारको सारका रूपमा व्याख्या गरेका छन्।

सुझावित समाचार