क्यानडाको एडमन्टन सहरमा सन् २०१६ मा स्थापना भएको हिमालयन तेक्वान्दोले दशौँ वार्षिकोत्सव मनाएको छ। विशेष कार्यक्रमसहित दोस्रो र तेस्रो ब्याचका प्रशिक्षार्थीलाई ब्ल्याक बेल्ट, प्रमाणपत्र एवं ब्याच वितरण गरी दशौँ वार्षिकोत्सव मनाएको हो।
जनवरी २४ शनिबारका दिन सेन्ट अल्बर्ट कम्युनिटी हलमा सम्पन्न भएको कार्यक्रममा २५० भन्दा बढीको उपस्थिति रहेको थियो। कार्यक्रममा हिमालयन तेक्वान्दोका प्रशिक्षक एवं सञ्चालक राजु गड्तौलाले हाल ९० जना नेपाली बालबालिकालाई प्रशिक्षण प्रदान गरिरहेको जानकारी दिए। उक्त कार्यक्रममा बोल्दै अभिभावक कृष्ण निरौलाले यस तेक्वान्दो स्कुलले विदेशमा रहेर पनि दक्ष एवं अनुभवी नेपाली प्रशिक्षकबाट प्राप्त ज्ञानले बालबालिकाको शारीरिक एवं मस्तिष्क विकासमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

सातजना प्रशिक्षार्थीले ब्ल्याक बेल्ट लिए
उक्त समारोहमा तेक्वान्दो प्रशिक्षार्थीहरू भविस लामिछाने, एरिक पौडेल, प्रियल गुरुङ, आरम्भ खरेल, विवेक तिमिल्सेना, आयुष ओझा र आर्यन भट्टराईलाई एडमन्टनमा रहेका ज्येष्ठ बुबाआमाहरूबाट प्रमाणपत्र, ब्याच र ब्ल्याक बेल्ट प्रदान गरिएको थियो। कार्यक्रममा प्रशिक्षक गड्तौलालाई उनले गरेको कार्यको उच्च मूल्यांकन गर्दै सम्मानस्वरूप प्रमाणपत्र र अवार्ड पनि प्रदान गरिएको थियो। कार्यक्रममा प्रशिक्षक गड्तौलाले आफ्नो मन्तव्यमा अभिभावकहरू, प्रशिक्षार्थी र आफ्नो निरन्तर प्रयासबाट संस्थाले प्रगति गरेको जानकारी गराए । उनले अल्वर्टाको प्रतिकूल मौसम र कोभिडजस्तो महामारीको वेला पनि नेपाली मूलका बालबालिकाहरूलाई निरन्तर उनीहरूको मानसिक, शारीरिक र वैयक्तिक विकासका लागि आफूले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

नेपाली समुदायबिच लोकप्रिय रहेको यस तेक्वान्दो स्कुलको निरन्तरता र सफलताको कामना गर्दै स्कुल स्थापनाको अनुभव होमन गौतमले सुनाएका थिए । कार्यक्रममा सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो।