सवारी दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यसहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सप्ताह– २०८२ को औपचारिक सुरुवात गरेको छ।
शुक्रबारदेखि सुरु भएको यो अभियान एक हप्तासम्म सञ्चालन भई २ माघमा समापन हुने जनाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले पत्रकार सम्मेलनमार्फत बढ्दो दुर्घटनाको प्रवृत्तिलाई नियन्त्रण गर्न ट्राफिक सप्ताह प्रभावकारी हुने विश्वास व्यक्त गरे।
उनका अनुसार ट्राफिक नियमप्रति नागरिकको सचेतना अभिवृद्धि गर्दै दुर्घटनाका कारणहरू न्यूनीकरण गर्नु नै अभियानको मुख्य उद्देश्य हो। दुर्घटनाका कारण जनधनको क्षति भइरहेको अवस्थालाई कम गर्न जनचेतनामूलक कार्यक्रमहरू आवश्यक रहेकाे उनले बताए।
अभियानको सुरुवात रक्तदान कार्यक्रमबाट गरिएको छ। ट्राफिक प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ट्राफिक सप्ताहअन्तर्गत दूरसञ्चार सेवा प्रदायकमार्फत ट्राफिक सचेतना सन्देश रिङटोनका रूपमा प्रसारण गरिने, उपत्यकाका विभिन्न स्थानमा ट्राफिक सूचना बोर्ड राखिने तथा दुर्घटनासम्बन्धी वृत्तचित्र प्रदर्शन गरिनेछ।
यसका साथै रात्रिकालीन लामो तथा मध्यम दूरीका सवारीसाधनमा एक मिनेटको सचेतनामूलक वृत्तचित्र देखाइने, राइड सेयर एपमा आबद्ध चालकहरूलाई लक्षित कार्यक्रम सञ्चालन गरिने र सार्वजनिक तथा भाडाका सवारीसाधनमा जिपिएस तथा सिसिक्यामेरा जडानका लागि आवश्यक समन्वय गरिने बताइएको छ।
ट्राफिक प्रहरीले ट्राफिक सप्ताहमार्फत नागरिक, चालक र सरोकारवाला निकायबिच सहकार्य बढाएर सुरक्षित सडक संस्कृतिको विकास गर्ने अपेक्षा राखेको छ।