अब बिमा दाबी भुक्तानी अनलाइनबाटै

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

बिमा कम्पनीहरूले सबै प्रकारका बिमा दाबी भुक्तानी विद्युतीय (अनलाइन) प्रणालीमार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । नेपाल बिमा प्राधिकरणले मंगलबार एक परिपत्र जारी गर्दै १ माघदेखि सबै प्रकारका बिमा दाबी भुक्तानी अनलाइनबाट गर्न निर्देशन दिएको हो । 

जीवन बिमा, निर्जीवन बिमा, लघु बिमा, पुनर्बिमा कम्पनी र बिमा दलालहरूलाई यो निर्देशन लागू हुनेछ । उनीहरूले सबै प्रकारका भुक्तानी सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्नेछ । 

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०८२ मा बिमा कम्पनीले अनिवार्य रूपमा व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै, नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा बिमा दाबी भुक्तानीलाई पनि अनलाइनबाटै गर्नुपर्ने निर्देशन जारी गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।

यसअघि प्राधिकरणले बिमा कम्पनीका कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकलाई दिइने पारिश्रमिक अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत भुक्तानी गर्ने व्यवस्था गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको थियो । 

See More On

सुझावित समाचार