अदालतको आदेशका कारण माघ दोस्रो साता हुने भनिएको नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि उपत्यकाभित्र २ र ३ माघ र उपत्यकाबाहिर १५, १६ र १७ माघमा मतदान हुने तयारी थियो । तर, उच्च अदालत पाटनले आइतबार यथास्थितिमा चुनाव नगर्न अन्तरिम आदेश जारी गरेपछि चुनाव अन्योल बनेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले तोकिएको मितिमा निर्वाचन नगर्न–नगराउन नेपाल चिकित्सक संघ र निर्वाचन समितिको नाममा अन्तरिम आदेश जारी गरेको हो । अदालतले मुख्यत: उम्मेदवारलाई उम्मेदवारी सच्याउने मौका र समयसीमा नदिएकोमा प्रश्नसमेत उठाएको छ ।
संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले अदालतको आदेशअनुसार चुनाव हुने बताए । ‘तोकिएको मितिमा हुँदैन, अर्को मितिमा हुन्छ, हामीले कानुनी राय परामर्श लिइरहेका छौँ,’ उनले भने, ‘निर्वाचन समितिले अदालतको अन्तिम आदेश आएपछि मात्रै काम गर्छ, सोहीअनुसार चुनावका लागि फेरि अर्को मिति तोकिन्छ, अहिलेलाई कुर्नुको विकल्प भएन ।’ चिकित्सक संघको चुनावी प्रक्रिया चित्त नबुझेको भन्दै डा. अजयकुमार मिश्रसहितले संघलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै अदालतले संघको निर्वाचन नियमावली, २०७० को परिच्छेद ४ अन्तर्गतको नियम ६ अनुसार प्रक्रिया पूरा नभएको आदेशमा उल्लेख गरेको छ । प्रक्रिया पूरा नगरेको र एकलौटी रूपमा चुनाव गर्न लागेको भन्दै डा. अमृत भुसाल टिम असन्तुष्ट थियो । अदालतले रिटको अर्को पेसी ६ माघका लागि तोकेको छ ।
अदालतले पेसी तोकेको मितिभन्दा अघि २ र ३ माघमा निर्वाचन मिति तोकिएको थियो । ‘संघको केन्द्रीय कार्यकारणी समितिको निर्वाचन प्रक्रियामा निर्वाचनका निम्ति कायम रहेको निर्वाचन नियमावली, २०७० को परिच्छेद ४ को नियम ६ मा उल्लेखित प्रक्रिया पूरा गरेको नदेखिएको परिप्रेक्ष्यमा पछि अन्तिम आदेश भएबमोजिम हुने गरी हाललाई उक्त सूचनाद्वारा प्रकाशित कार्यक्रमअनुरूप हुने निर्वाचनमा निवेदकहरूसमेतलाई उम्मेदवारी दिनेलगायतका निर्वाचनमा सहभागिताको कार्यमा रोक नलगाउन उपयुक्त नहुँदा हाललाई यथास्थितिमा निर्वाचन नगर्न–नगराउन भनी उच्च अदालत नियमावली, २०७३ को नियम गरी पेस गर्नू,’ अदालतको आदेशमा भनिएको छ ।
नेतृत्वका लागि तीन समूहबिच रस्साकस्सी
आगामी माघमा हुने भनिएको नेपाल चिकित्सक संघ (एनएमए)को चुनावमा तीन समूह प्यानलसहित भिड्ने तयारी गरेका थिए । तर, यो टिम उच्च अदालतको अर्को पेसीको आदेश आएपछि मात्रै चुनावी प्रक्रियामा अघि बढ्न पाउनेछ । १७ हजार ५० चिकित्सक मतदाता रहेको चुनावमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुसालको समूह प्रतिस्पर्धामा छन् । तीनवटै समूहले वरिष्ठ चिकित्सकलाई अध्यक्षको प्रत्याशी बनाएका छन् । संघको विधानअनुसार केन्द्रीय अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव, सहकोषाध्यक्षसहित सातै प्रदेशबाट एक–एकजना उपाध्यक्ष (प्रादेशिक संयोजक) र ६ जना कार्यसमिति सदस्य रहने व्यवस्था छ । गत २ मंसिरमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएपछि तीनवटै समूहका चिकित्सकहरू चुनावी प्रचारप्रसारमा व्यस्त देखिएका छन् ।
चुनावमा होमिन डा. बद्री रिजालको प्यानलले प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको थियो । यो समूहले चुनाव जितेमा पाँच वर्षभित्र १० हजारभन्दा बढी चिकित्सकको दरबन्दी थप्न सरकारलाई दबाब दिने एजेन्डा अघि सारेको छ । रिजालको टिमलाई लोकतान्त्रिक समूह (कांग्रेसनिकट)का रूपमा हेरिएको छ । यो टिमले चिकित्सकीय सुरक्षा, पेसागत हकहित र सम्मानलाई प्राथमिकतामा पारेको छ । पछिल्लो समय कार्यस्थलमा चिकित्सकमाथि आक्रमणका घटना बढेको भन्दै चिकित्सकको सुरक्षा बढाउन राज्यसँग पहल गर्ने, सरकारीमा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूको पारिश्रमिक वृद्धि गर्न र दुर्गम भत्ता वृद्धिलगायत एजेन्डालाई प्राथमिकतामा राखेको छ ।
अध्यक्षका प्रत्याशी डा. मंगल रावलले आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छ । संघलाई पेसागत सहभागितामूलक, सेवामूलक र पारदर्शी बनाउने नारा अघि सारिएको छ । प्यानलले ‘हाम्रो एनएमए, सबैको एनएमए’लाई प्राथमिकतामा राखेको छ । साथै, यसअघि स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको बाराकोटी प्रतिवेदन कार्यान्वयन गर्ने, चिकित्सक पलायन रोक्नेलगायत एजेन्डा पनि राखेको छ ।
यस्तै संघको निर्वाचनमा डा. नारायण भुसालको प्यानल पनि छ । जसमा स्वतन्त्र डाक्टरहरू समावेश छन् । यो टिमलाई अन्य दुईवटा टिमले पेलेको र उनीहरूको उम्मेदवारी प्रक्रियामा अवरोध गरेको आरोप डा. भुसाल टिमले लगाउँदै आएको छ । उनीहरूले स्वतन्त्र तवरले एनएमए हाँक्नुपर्ने दाबीसहित चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । ‘हामीले बिरामीको उपचार पाउने अधिकार, चिकित्सक एकता, चिकित्सकको तलब सुविधा, विदेश पलायन रोक्नेलगायत एजेन्डा अघि सारेका छौँ,’ स्वतन्त्रबाट महासचिवका उम्मेदवार डा. अमृत भुसालले भने, ‘एनएमए हाँक्न स्वतन्त्र र बलियो टिम चाहिन्छ, त्यसमा हाम्रो समूह प्रतिबद्ध छ, अब चुनाव सर्ने पक्का भयो, तर चुनाव लड्ने टिम यही हो ।’
चिकित्सक जनशक्ति पलायन रोक्ने तीनवटै प्यानलको प्रतिबद्धता
चुनावका लागि उत्रिएका तीववटै प्यानलले आगामी चुनावको मुख्य एजेन्डामा चिकित्सक जनशक्ति पलायन रोक्नेलाई राखेको छ । उनीहरूले नेपालमा दिनप्रतिदिन चिकित्सकको संख्या घटेको, चिकित्सकहरू स्वदेशमा अवसर नदेखेर विदेश गएकोलगायत विषयलाई प्राथमिकतामा राख्दै आफूहरू विजयी भएमा यसलाई रोक्ने दाबी गरेका छन् । अध्यक्षका प्रत्याशी डा. बद्री रिजालले हाल नेपालबाट चिकित्सक विदेश जाने ट्रेन्ड घटाउन उनीहरूलाई आकर्षित गर्न राज्यलाई घचघच्याउने बताए ।