कांग्रेस नेता एवं पूर्वमन्त्री खड्का रास्वपामा, एकैदिन गण्डकीमा दुई हजार एक सयजना रास्वपा प्रवेश

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका नेता कुमार खड्का पार्टी परित्याग गरी शनिबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

पोखरा महानगरपालिका–१६ घर भएका खड्का ०७४ सालको निर्वाचनपछि समानुपातिक कोटामार्फत गण्डकी प्रदेश सभा सदस्य बनेका थिए। त्यसपछि उनी विनाविभागीयमन्त्री हुँदै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र पछि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत भएका थिए।

दोस्रो प्रदेश सभा निर्वाचनमा कास्की–२ ‘ख’ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेका खड्काले आफूले सो क्षेत्रबाट टिकट पाउनुपर्ने भन्दै पार्टीलाई दबाब दिने उद्देश्यसहित आफ्नै वडामा २४ भदौ ०७९ मा ‘कुमार खड्का समर्थक भेला’ आयोजना गरेका थिए। भेलामा खड्काले आफू मुख्यमन्त्री बन्न चाहेको भन्दै पार्टी र पार्टी सभापतिले त्यसको आश्वासन नदिए सांसदका लागि निर्वाचन नलड्ने भन्दै आफूले टिकट पाएमा च्यातिदिने धम्की दिएका थिए।

पछि पार्टीले सो क्षेत्रबाट विन्दुकुमार थापालाई उम्मेदवार बनाएको थियो। थापालाई पार्टीले उम्मेदवार बनाएपछि उनलाई असहयोग गरेपछि २९ कात्तिक ०७९ मा मुख्यमन्त्रीले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री रहेका खड्कालाई बर्खास्त गरेका थिए। पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई २५ असार ०८२ मा पार्टीको साधारण सदस्यसमेत नरहने गरी एक वर्षका लागि निष्कासन गरिएको थियो।

यसअघि खड्काले क्षत्री र जातीय पहिचानसहितको संघीयताको विरोधमा उभिएकाहरूलाई समेटेर जेठ ०७० मा अखण्ड पार्टी नेपाल गठन गर्दै अध्यक्ष बनेका थिए। त्यसपछि दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ अखण्डले एक सिट प्राप्त गरेपछि खड्का सांसद हुँदै ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७३ मा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीसमेत भएका थिए।

०७२ सालमा नयाँ संविधान जारीसँगै निर्वाचनमा दलहरूलाई थ्रेसहोल्डको व्यवस्था राखिएपछि खड्काले नेतृत्व गरेको अखण्ड पार्टीलाई कांग्रेसमा समाहित गरेका थिए भने केही नेताहरू एमालेमा गएका थिए।

नेविसंघबाट राजनीति सुरु गरेका खड्का विद्यार्थी कालमा पोखरा लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानको स्ववियु सभापति समेत भएका थिए। क्षेत्री समुदायमा राम्रो प्रभाव रहेकाले उनले कांग्रेस परित्याग गरेसँगै कास्की साथै समग्र गण्डकी प्रदेशमा कांग्रेसलाई ठूलो धक्का पुगेको अनुमान गरिएको छ। खड्का पद र सत्ताका लागि सर्पले काँचुली फेरेजस्तै रूप फेर्न सक्ने र फेर्ने चतुर खेलाडीका रूपमा परिचित छन्।

खड्कासँगै शनिबार पोखराकी व्यवसायी मिलन थापा पनि रास्वपा प्रवेश गरेकी छन्। अटो व्यवसायसँगै लायन्सलगायत अन्य विभिन्न सामाजिक संघसंस्थामा आवद्ध थापा पनि कांग्रेस त्यागेर रास्वपा छिरेकी हुन्। थापा नाडाका पूर्व अध्यक्ष ध्रुव थापाकी पत्नी हुन् भने गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाकी भाइबुहारी हुन्।

पोखराका अर्का व्यवसायी ‘रुपाकोट रिसोर्ट’ का सञ्चालक पुष्प अधिकारी समेत नेकपा एमाले छाडेर रास्वपामा गोलबन्द भएका छन्।

उनीहरूसँगै गण्डकी प्रदेशका ११ जिल्लाबाट गरी दुई हजार एक सय जना शनिबार रास्वपा प्रवेश गरेको पार्टीको केन्द्रीय सार्वजनिक मामिला विभागका उपप्रमुख उत्तम पौडेलले जानकारी दिए। पोखरा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय सदस्य भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रममा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेलगायत अन्य केन्द्रीय, प्रदेश र जिल्ला नेताको उपस्थितिमा उनीहरूलाई पार्टी प्रवेश गराइएको पौडेलले बताए।

सुझावित समाचार