विपत् संकटग्रस्त इलामको सडकलाई सवा दुई अर्ब

बर्खामा सडक चल्नेमा ढुक्क छैन सडक डिभिजन, श्रीअन्तु सडकमा परेन बजेट

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

सरकारले विपत् संकटग्रस्त घोषित जिल्ला इलामको सडक तथा पुल पुनर्निर्माणका लागि दुई अर्ब १९ करोडको बजेट उपलब्ध गराउने भएको छ । १८ र १९ असोजमा आएको भारी वर्षाका कारण क्षतिग्रस्त भएको इलामको सडक र पुल मर्मत र पुनर्निर्माण गर्न अर्थ मन्त्रालयले दुई अर्ब १९ करोडको स्रोत सहमति दिएपछि बर्खाअगावै पुनर्निर्माण हुने निश्चित भएको छ । बाढी र पहिरोका कारण इलामको मेची राजमार्ग, मेची करिडोर, मेची राजमार्गको वैकल्पिक सडक तिल्केनी–सिमलगोलाई सडक क्षतिग्रस्त बन्न पुगेको थियो । 

सरकारले मेची राजमार्ग पुनर्निर्माण गर्न एक अर्ब ५० करोड, मेची राजमार्गअन्तर्गतकै माईखोला मोटरेबल स्थायी पुल राजदुवालीका लागि २० करोड, मेची करिडोरको माईखोलामा मोटरेबल स्थायी पुल बेलासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेलीब्रिज निर्माण गर्न पाँच–पाँच करोड र मेची राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको मेची करिडोरका लागि १४ करोडको स्रोत सुनिश्चितता गरेको छ । 

स्रोत सुनिश्चितता भएसँगै सडक डिभिजन इलामले तत्काल ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । बर्खाअगावै काम गरेर बर्खामा विनाअवरोध सडक सञ्चालन गर्ने तयारी गरिएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । ‘जुन–जुन ठाउँका लागि तोकेर बजेट आएको छ, त्यो सडक सञ्चालन गर्नका लागि यो बजेट पर्याप्त छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेर १५ फागुनदेखि काम गर्ने योजना छ । ठेक्का बहुवर्षे लाग्ने भए पनि संवेनदशील ठाउँ हेरेर काम गर्छौँ । बर्खाअगाडि नै संवेदनशील ठाउँमा काम गरेर सडक सञ्चालन गर्ने योजना छ ।’ 

यद्यपि, यही बजेटले बर्खामा पनि मेची राजमार्ग सञ्चालन गर्न सकिनेमा सडक डिभिजन कार्यालय इलाम ढुक्क छैन । ‘जुन सडकका लागि बजेट तोकेर आएको छ, त्योभन्दा बाहेक खर्च गर्न पाउँदैन । केही सडक मर्मत गर्नैपर्ने ठाउँमा बजेट छुटेको छ । जसका कारण बर्खामा मेची राजमार्ग सधैँ सञ्चालन हुनेमा ढुक्क छैनौँ,’ उनले भने, ‘मेची राजमार्गका लागि सधैँ दु:ख बनेको राजदुवाली खण्ड गत वर्षकै ठेक्का हो । यसपटक झनै क्षति भएर कसरी काम गर्ने अध्ययन गरिरहेका छौँ । पुरानै ठेक्कामा काम गर्ने भन्नेछ । तर, ५०–६० वर्ष पुरानो समस्या भएकाले केही महिना काम गरेर पर्याप्त हुँदैन ।’ सिमलगोलाई–तिल्केनी सडकका लागि पर्याप्त बजेट नआएको सडक डिभिजनका प्रमुख भट्टराईले बताए । 

पर्यटकीय केन्द्र श्रीअन्तु जाने सडक परेन
अविरल वर्षासँगै आएको बाढीपहिरोले इलामको प्रमुख पर्यटकीयस्थल श्रीअन्तु जाने फिक्कल–श्रीअन्तु सडक पनि पहिरोले क्षतविक्षत भएको छ । अहिले सडक डिभिजन इलामले सामान्य मर्मत गरेर सवारी चलाएको छ । त्यो पनि साना सवारी मात्र आवतजावत गर्न सकिन्छ । ठुला सवारी आवतजावत नगर्दा पर्यटकको संख्या पनि घटेको छ । तर, सरकारले यो सडकका लागि बजेट विनियोजन गरेको छैन । जसका कारण बर्खामा समस्या हुने सडक डिभिजन इलामका प्रमुख भट्टराईले जानकारी दिए । ‘श्रीअन्तु पर्यटकीय हब हो । त्यहाँ ठुला पर्यटन बस पनि जानुपर्ने हुन्छ । तर, अहिले जान सक्ने अवस्था छैन,’ उनले भने, ‘ठुला सवारी जान नसक्दा पर्यटन व्यवसाय नै धरापमा परेको त्यहाँका व्यवसायीले दुखेसो गरिरहनुभएको छ । त्यहाँ अहिले मर्मत गर्न सकिएन भने बर्खामा थप क्षति भएर कनेक्सन टुट्ने अवस्था छ । यो सडकका लागि स्रोत सुनिश्चितता भएन । मैले सडक विभागमा भनेको छु । अरू विकल्पमा पनि कुरा भइरहेको छ ।’

See More On

सुझावित समाचार