संसद् पुनर्स्थापना गर्न देउवा–ओली निरन्तर संवादमा

राष्ट्रिय सभा चुनाव मिलेर लड्न पनि छलफल

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

माघ दोस्रो साता हुँदै छ राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचन

संसद् पुनर्स्थापनामार्फत गुमेको ‘राजनीतिक कमान्ड’ पुनः आफ्नै हातमा लिने दाउमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच सोमबार भेटवार्ता भएको छ । उनीहरूबिच जेन–जी आन्दोलनको धक्कापछि विघटित प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षरसहित पुनर्स्थापनाको पूरक रिट लिएर सर्वोच्च अदालत जाने सहमति बनेको छ । कांग्रेस–एमाले जेन–जी आन्दोलनपूर्वको सत्तासाझेदार दल हुन् । 

११औँ महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित भएपछि ओली देउवालाई भेट्न उनकै निवास महाराजगन्ज पुगेका थिए । ओली महासचिव शंकर पोखरेलसहित पुगेका थिए भने देउवासँग पत्नी आरजु राणा देउवा पनि थिइन् । उनीहरूबिच आसन्न राष्ट्रिय सभा निर्वाचनमा सहकार्यबारे पनि छलफल भएको छ । माघ दोस्रो साता राष्ट्रिय सभाका १८ सदस्यका लागि निर्वाचन हुँदै छ । 

देउवानिकट एक नेताले दुई नेताबिच राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा मिलेर पूरक रिट लिएर सर्वोच्च अदालत जाने समझदारी भएको बताए । ‘संकटबाट मुलुकलाई पार लगाउन मिलेर अगाडि बढ्ने समझदारी छ,’ ती नेताले भने ।

यस्तै, ओलीनिकट एक नेताले बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा पूरक निवेदन लैजाने र अन्य दललाई सहभागी गराउने विषयमा छलफल भएको बताए । ‘हामी पूरक निवेदन लिएर सर्वोच्च जाँदै छौँ । यसमा अन्य दललाई सहभागी गराउनेसहितका विषयमा उहाँहरूबिच छलफल भएको छ,’ ती नेताले नयाँ पत्रिकासँग भने । 

एमाले र कांग्रेसका सांसदहरूले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका छन् । पछिल्लोपटक उनीहरूले बहुमत सदस्यको हस्ताक्षर जुटाएर पूरक रिट लिएर जाने गृहकार्य गरेका हुन् । कांग्रेस सचेतक सुशीला थिङले मंगलबार पूरक रिट दर्ता गर्ने तयारी रहेको बताइन् ।  ‘मंगलबार हामी पूरक निवेदन लैजान्छौँ । प्रतिनिधिसभाका बहुमत सांसदको तर्फबाट निवेदन दिन्छौँ,’ उनले भनिन्, ‘असंवैधानिक रूपमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्नुको विकल्प छैन । यो संवैधानिक अधिकार हो ।’ कांग्रेसको संस्थागत निर्णय भने २१ फागुनको निर्वाचनमा जाने छ । 

देउवा र ओलीबिच यसअघि गत १९ मंसिरमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तापछि कांग्रेसका निवर्तमान सांसदले संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसअघि नै एमालेका सांसदले रिट दायर गरेका थिए । हाल कांग्रेसका पनि बहुमत निवर्तमान सांसदले हस्ताक्षर गरिसकेका छन् । कांग्रेस महामन्त्री गगन थापा पक्षधर सांसदले भने हस्ताक्षर गरेका छैनन् । डा. शेखर कोइरालाले पनि आफूले हस्ताक्षर नगरेको बताएका छन् । उनले हस्ताक्षर गर्ने विषय व्यक्तिको स्वतन्त्रता भएको प्रतिक्रिया दिएका छन् ।

संसद् ब्युँताउन आज पूरक रिट लिएर सर्वोच्च जाँदै 

सुझावित समाचार