ग्लोबल आइएमई बैंकले पुष्पखेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएसन नेपालबिच पुष्पखेती तथा आलंकारिक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सोका लागि सहज कर्जा प्रणालीको विकास गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ। उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख असिम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकहरूलक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको हो। साथै, फ्लोरिकल्चर एसोसिएसन नेपालले आफ्नो सदस्यहरूलाई बैंकको कृषि कर्जा योजनाबारे जानकारी प्रदान गर्नेछ । 

यसबाट व्यवसायी तथा कृषकहरूको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरूको प्रवर्द्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ । साथै यस सहकार्यले जलवायु अनुकूलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसात् गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । 

बैंक र एसोसिएसनबिचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गरी वित्तीय पहुँच विस्तारको साथै फुल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ। ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक इएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ । 

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।  

बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ ।

सुझावित समाचार