जेन–जी आन्दोलनमा भएको क्षतिको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले उच्चपदस्थको बयान लिन थालेको छ। आयोगले बिहीबारदेखि तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङको बयान लिन थालेको छ । दुवैजनाले अवकाश पाइसकेका छन्।
२३ र २४ गतेको जेन–जी आन्दोलनमा उनीहरू जिम्मेवारीमा थिए। उनीहरूको बयान सकिन तीन–चार दिन लाग्ने आयोगका एक अधिकारी बताउँछन् ।
आयोगले यसअघि फिल्डमा खटिएका प्रहरी तथा उनीहरूका कमान्डरसँग बयान लिइसकेको छ । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापासँग दुई साताअघि नै बयान लिइसकेको छ।
सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई पनि आयोगले बोलाइसकेको छ। त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई शुक्रबार बोलाइएको स्रोत बताउँछ। उनी २४ भदौको आन्दोलनमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख थिए। सोही विषयमा उनीसँग आयोगले सोधपुछ गर्न लागेको हो ।
आइजिपी र गृहसचिवको बयान सकिएपछि तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बोलाउने आयोगको तयारी छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद अब दुई साता मात्र बाँकी छ। सोही कारण आयोगले बयानलाई तीव्रता दिएको हो।