जेन–जी आन्दोेलनको क्षति बिमा दाबीमा चार अर्ब ३८ करोड अग्रिम भुक्तानी

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका कारण भएको क्षतिको बिमा दाबीमा कम्पनीहरूले चार अर्ब ३८ करोड ४८ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेका छन् । आन्दोलनका कारण कम्पनीहरूमा २३ अर्ब ४४ करोड रुपैयाँबराबरका तीन हजार तीन सयवटा दाबी परेका छन् । 

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणले सोबराबरको अग्रिम दाबी भुक्तानी भएको देखाएको हो । कम्पनीहरूले अन्तिम दाबी भुक्तानी भने सर्भेयर प्रतिवेदन आएपछि दिनेछन् । प्रतिवेदन आउन समय लाग्ने भएपछि कम्पनीहरूले बिमितको सहजताका लागि तत्काललाई आंशिक रकम अग्रिम दाबीबापत दिएका हुन् । सरकारले पनि प्रारम्भिक प्रतिवेदनका आधारमा ५० प्रतिशत अग्रिम भुक्तानी गर्न ५ असोजमै निर्देशन दिएको थियो । 

तथ्यांकअनुसार सम्पत्ति बिमातर्फ १९ अर्ब एक करोडबराबरका सात सय १० वटा दाबी परेका छन् । त्यसमा तीन अर्ब १२ करोड २७ लाख अग्रिम भुक्तानी गरिएको छ । यस्तै, मोटर बिमातर्फ तीन अर्ब ४८ करोड रुपैयाँबराबरका दुई हजार तीन सय आठवटा दाबी परेका छन् । त्यसमा हालसम्म एक अर्ब नौ करोड अग्रिम भुक्तानी गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा ५५ करोड ५५ लाखबराबरका दुई सय ५५ वटा दाबी परेका थिए, त्यसमा ६ करोड ८१ लाख अग्रिम भुक्तानी गरेको देखिन्छ । परिवहन बिमातर्फ एक करोड ६९ लाखबराबरका १२ वटा दाबी परेका थिए, त्यसमा ६६ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । अन्य बिमामा ३८ करोड ४० लाखबराबरका ४५ वटा दाबी परेका थिए, त्यसमा हालसम्म ४९ लाख अग्रिम भुक्तानी गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

बाढीबाट परेको दाबीमा एक करोड ८८ लाख अग्रिम भुुक्तानी 
१८–२० असोजको वर्षा तथा बाढीपहिरोबाट आएको दाबीमा कम्पनीहरूले एक करोड ८८ लाख भुक्तानी दिएका छन् । उक्त बाढीका कारण निर्जीवन बिमा कम्पनीहरूमा चार अर्ब चार करोड रुपैयाँबराबरका सात सय ८१ वटा दाबी परेका छन् । त्यसमा कम्पनीहरूले एक करोड ८८ लाख अग्रिम भुक्तानी गरेका छन् । ६९ वटा संख्यामा अग्रिम दाबी भुक्तानी गरिएको छ । विभिन्न १३ निर्जीवन बिमा कम्पनी र दुईवटा लघु निर्जीवन बिमा कम्पनीमा यसअन्तर्गतका दाबी परेका छन् ।

सम्पत्ति बिमामा तीन अर्ब ४५ करोड ३५ लाखबराबरका चार सय १० वटा दाबी परेका छन् । त्यसमा २० संख्यामा ८३ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको छ । यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा ५० करोड ३७ लाखबराबरका एक सय ६ वटा दाबी परेका छन् । त्यसमा हालसम्म ६ संख्यामा दुई लाख अग्रिम भुक्तानी गरिएको छ । कृषि तथा बाली बिमामा चार करोड १४ लाखबराबरका दुई सय १० वटा दाबी परेका छन् । त्यसमा हालसम्म ३१ संख्यामा १३ लाख अग्रिम दाबी भुक्तानी दिइएको छ । यस्तै, मोटर बिमा (निजी)मा तीन करोडबराबरका ४० वटा दाबी परेका छन् । त्यसमा हालसम्म नौ संख्यामा ८७ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी गरिएको छ । 

यसैगरी, सामुद्रिक बिमातर्फ १० लाखबराबरका तीनवटा दाबी परेका छन् । त्यसमा तीन लाख बिमितलाई भुक्तानी भएको छ । मोटर बिमा (सार्वजनिक)तर्फ एक करोड आठ लाखबराबरका १० वटा र लघुबिमातर्फ १२ लाखबराबरका दुईवटा दाबी परेका छन् । तर, भुक्तानी भने सुरु भएको छैन ।

नेपाल रिले दियो दुई अर्ब ५६ करोड अग्रिम भुक्तानी 
नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि)ले आन्दोलनका कारण भएको क्षतिबापत निर्जीवन बिमा कम्पनीहरूलाई दुई अर्ब ५६ करोड अग्रिम भुक्तानी दिएको छ । कम्पनीहरूले हुलदंगाको पुनर्बिमा नेपाल रिमै गरेका थिए । त्यसअन्तर्गत नेपाल रिमा कम्पनीहरूले १५ अर्ब ८१ करोडबराबरका २८ सय ६१ वटा दाबी गरेका छन् । त्यसमा नेपाल रिले पनि अग्रिम दाबी भुक्तानी दिन सुरु गरेको हो । 

See More On

सुझावित समाचार