दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को मंगलबार पहिलो क्वालिफायर खेल हुँदै छ । आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिच हुने क्वालिफायर वानका सबै टिकट सोल्ड आउट भएका छन् । खल्ती बाई आइएमईका सिइओ प्रवीण रेग्मीले पहिलो प्लेअफका सबै टिकट बिक्री भएको जानकारी नयाँ पत्रिकालाई दिएका छन् ।
‘विराटनगर र सुदूरपश्चिमबिच हुने खेलका सबै टिकट बिक्री भइसक्यो’ रेग्मीले भने । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यो खेलको १० हजार टिकट बिक्री भएको छ ।
क्यानको आयोजनामै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १ मंसिरदेखि एनपिएल चलिरहेको छ । क्यानले क्वालिफायर र फाइनलका टिकटदर परिवर्तन गरेको छ । क्यानले यी खेलका साधारण प्यारापिटमा एक हजार र प्रिमियरमा दुई हजार रुपैयाँ तोकेको छ ।
क्यानले यसपटक सबै टिकट खल्ती बाई आइएमईबाट बिक्री गरेको हो । यसअघि क्यानले विकेन्ड दिनबाहेक लिग चरणका सबै खेलका टिकटमा साधारण प्यारापिटतर्फ पाँच सय र प्रिमियरमा एक हजार रुपैयाँ राखेको थियो । शनिबार हुने खेलमा दर्शकले १५ सय रुपैयाँ खर्चेर खेल हेरेका थिए ।
