अघिल्लो सरकारले हटाएको उखु किसानको अनुदानलाई वर्तमान सरकारले निरन्तरता दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले किसानलाई दिइआएको सरकारी अनुदानबापतको प्रतिक्विन्टल ७० रुपैयाँलाई निरन्तरता दिने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । त्यस्तै, यो वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
‘आर्थिक वर्ष ०८२/८३ का लागि उखु कृषकले पाउने न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ र अनुदान ७० रुपैयाँ कायम गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले भने । चालू आवको बजेट सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उखु किसानले ३० वर्षदेखि पाउँदै आएको अनुदान कटौती गरेका थिए । त्यस्तै, गत आर्थिक वर्ष ०८१/८२ मा पाउने अनुदानबापतको रकम पनि आधा घटाएर ३५ रुपैयाँ मात्रै कायम गर्ने निर्णय गरेको थियो ।
तर, अनुदान कटौती र खारेजीको विरोधमा किसानहरूले सडक आन्दोलन गरेर निरन्तरताका लागि दबाब दिएका थिए । जेन–जी आन्दोलनपछि गठित सरकारलाई पनि युवाहरूले अनुदान सुरु गर्न दबाब दिएका थिए । सुदन गुरुङ नेतृत्वको जेन–जी समूहका मधेश प्रदेश संयोजक शिव यादवले पटक–पटक कृषिमन्त्री डा. मदन परियारलाई भेटेर उखु किसानले पाउँदै आएको अनुदानलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
‘मन्त्रीज्यूलाई धेरैपटक भेटेर उखु किसानको अनुदान सुचारु गर्नुस् भनेका थियौँ, सोमबारको मन्त्रिपरिषद् बैठकले अनुदानलाई निरन्तरता दिने निर्णय भएको सुन्न पाउँदा खुसी लागेको छ,’ उनले भने ।
यो वर्ष दुई करोड क्विन्टलभन्दा बढी उखु क्रसिङ हुने अनुमान छ । जसकारण अनुदानबापत करिब डेढ अर्ब खर्च हुने सरकारी प्रक्षेपण छ । सरकारले अनावश्यक क्षेत्रमा विनियोजित बजेट कटौती गरेका कारण किसानलाई अनुदानबापतको रकम भुक्तानी गर्न स्रोतको चाप नहुने अर्थ मन्त्रालयको भनाइ छ । सरकारले न्यूनतम समर्थन मूल्य पनि विगतको भन्दा बढाएको छ । गत वर्ष प्रतिक्विन्टल पाँच सय ८५ रुपैयाँ समर्थन मूल्य तोकिएकामा किसानले असन्तुष्टि जनाएका थिए । त्यसअघि ०८०/८१ मा पाँच सय ६५ रुपैयाँ प्रतिक्विन्टल समर्थन मूल्य निर्धारण गरिएको थियो ।
यसपटक उखुको क्रसिङ हुनै लाग्दा सरकारले समर्थन मूल्य निर्धारण हो । मोरङ, सुनसरी, सिराहा, महोत्तरी, सर्लाही, नवलपरासी, कपिलवस्तु, कैलाली र कञ्चनपुरमा धेरै उखु खेती हुने गरेको छ ।