कर्णालीले अन्तिम खेलमा दियो जनकपुरलाई एक सय ३० रनको लक्ष्य

आइतबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

कर्णाली याक्सले दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई एक सय ३० रनको लक्ष्य दिएको छ । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २९ रन बनायो । 

कर्णालीको लागि डेब्यु खेल खेलेका ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए । ३२ बलमा समान एक चौका र एक छक्का हिर्काएका इमरानलाई ललित राजवंशीले संजय कृष्णमुर्थीबाट क्याच गराएका थिए । २० बलमा १९ रन बनाएका गुल्शन झालाई माज सादकतले अनिलकुमार शाहबाट क्याच आउट गराए । 

भारतीय चर्चित खेलाडी प्रियांक पाञ्चालले १८ बलमा १६ रनको योगदान गरे । तीन चौका प्रहार गरेका उनलाई ललित राजवंशीले कारीको हातबाट क्याच आउट गराएका हुन् । १५ र बनाएका विलियम बोसिस्टोलाई आदित्य महराले बोल्ड गरेका थिए । नाजिबुल्लाह जाद्रनले पनि १३ रन मात्रै बनाए । कप्तान सोमपाल कामी भने १८ रन बनाएर अविजित रहे । 

दोस्रो एनपिएलमा पहिलो सतक प्रहार गरेका मार्क वाट ७ बलमा ४ रन बनाउँदा एलबिडब्लू धराप परे । पवन सरार्फ पनि १ रन बनाएर पेभिलियन फर्किएपछि कर्णाली सानो स्कोरमै खुम्चिएको थियो । कमब्याक गरेका अर्जुन घर्ती पनि ४ रन बनाएर रन आउट भएका थिए । 

दुई खेलमा बेन्चमै रहेर कमब्याक गरेका ललित र आदित्य महताले समान सर्वाधिक २ विकेट लिए । संगित कोरी, अनिलकुमार साह र माज सादकतले समान एक विकेट लिएका थिए ।

प्लेअफबाट बाहिरिसकेका कर्णाली र जनकपुर दुबै दोस्रो जितको खोजीमा छन् । कर्णालीले लगातार चार हारको शृंखला रोक्ने योजनामा छ । पछिल्लो खेलमा कर्णाली पोखरासँग ३४ रन, काठमाडौंसँग ५ विकेट, विराटनगरसाग ३ विकेट तथा सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो । त्यसअघि पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित कर्णाली दोस्रो खेलमा भने लुम्बिनीवरुद्ध ९ विकेटको जित निकालेको हो । 

साविक विजेता जनकपुर पनि चितवनविरुद्ध ६ विकेटले विजयी भएको थियो । त्यसअघि टोली लगातार काठमाडौंविरुद्ध ५ विकेट, विराटनगरविरुद्ध ९ विकेट, पोखराविरुद्ध २५ रन, सुदूरविरुद्ध ६ विकेट तथा लुम्बिनीविरुद्ध पछिल्लो खेलमा ४ विकेटले पराजित भएको थियो । 

यसअघि शीर्षस्थानमा रहँदा सुदूरपश्चिम, दोस्रो स्थानको विराटनगर किंग्ससहित तेस्रो काठमाडौं र चौथो लुम्बिनी प्लेअफमा स्थान बनाइसकेका छन् । कर्णाली र जनकपुरसँगै पोखरा र चितवन पनि समूह चरणबाटै बाहिरिएका छन् ।  योसँगै आजबाट लिग चरणका खेल सकिनेछन् ।

See More On

सुझावित समाचार