दाङको तुलसीपुर उपमहानगरपालिका– १२, हरिपौरीका अशोककुमार शर्मा मौरीपालनका लागि कुनै वेला विदेशबाट चाका ल्याउँथे । कहिले भारतबाट त, कहिले चीनबाट चाका ल्याएर मौरीपालन गर्नुपर्ने अवस्था थियो । तर, अहिले उनी आफैँले मौरीका चाका तयार गरी आयात प्रतिस्थापन गर्दै अन्य जिल्लामा बिक्री गर्दै आएका छन् । ‘पहिले बाहिरबाट ल्याउँथेँ,’ उनले भने, ‘तर, अहिले आफैँ चाका उत्पादन गरेर बिक्री गर्दै आएको छु ।’ उनले दाङसहित रुकुम पश्चिम, सल्यान, रोल्पा, प्युठान, बाँकेलगायतका जिल्लामा चाका बिक्री गर्ने गरेको बताए ।
शर्माले सञ्चालन गरेको आचार्य माहुरी कृषि तथा पशुपक्षी फार्ममा ५० प्रतिशत अनुदानमा मेसिन ल्याएपछि चाका बनाउन थालेका हुन् । आर्थिक वर्ष ०८१/८२ मा मेसिन ल्याएर चाका उत्पादन सुरु गरिएको हो । गएको वर्ष मात्रै १० क्विन्टल आधार चाका उत्पादन भएको उनले बताए । यस वर्ष १५ क्विन्टलजति उत्पादन गर्ने लक्ष्य रहेको शर्माले बताए ।
चाका एक हजार रुपैयाँ किलोका दरले बिक्री हुने गरेको छ । स्थानीय स्रोत–साधनलाई प्रयोग गरेर चाका बनाउने गरिएको छ । ‘हामीले भारत, चीनबाट ल्याउँदा रसायन भएको हुन्थ्यो,’ उनले भने, ‘तर, हामीले उत्पादन गरेका चाकामा त्यस्तो समस्या छैन, मौरीले पनि धेरै मन पराउँछन् ।’ चाकाबाटै गएको वर्ष पाँच लाख आम्दानी गरेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मौरी सुपरजोन) परियोजनाले ५० प्रतिशत अनुदानमा उक्त मेसिन उपलब्ध गराएको हो । ०६२ सालदेखि मौरीपालन गर्दै आएका उनले वार्षिक १५ क्विन्टलसम्म मह उत्पादन गर्ने गरेको बताए । जसमा खुद आम्दानी वार्षिक पाँच लाखसम्म हुने गरेको छ ।