घोराही–तुलसीपुर ग्राभेल तिहारपछि

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण

दाङ/दाङको घोराही–तुलसीपुर चार लेन सडकमा तिहारलगतै ग्राभेल गर्ने तयारी गरिएको छ । निर्माण कम्पनी श्री दिवा–वन्दना भगवती जेभीका इन्जिनियर सुनील ढुंगानाका अनुसार अहिले वाल र नाली निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

वाल र नालीको काम सकिनेबित्तिकै ग्राभेलको काम सुरु हुने उनले बताए । हाल सोही सडकमा १६ प्रतिशत भौतिक प्रगति भएको छ भने १५ प्रतिशत आर्थिक प्रगति भएको इन्जिनियर ढुंगानाले बताए । ४० करोड रुपैयाँबराबरको काम पूरा भएको उनको भनाइ छ ।

‘अहिले स्ट्रक्चरको काम भइरहेको छ,’ उनले भने, ‘त्यो पनि तिहारसम्म सकिन्छ, अनि ग्राभेलको काम हुन्छ ।’ उनका अनुसार १८ किलोमिटर वालको काम पूरा भइसकेको छ भने नालीको काम पनि अन्तिम चरणमा छ । त्योसँगै ग्राभेलको काम सुरु हुने इन्जिनियर ढुंगानाको भनाइ छ ।

लामो समयदेखि अलपत्र रहेको उक्त सडक पुनः ठेक्का लगाएर हाल काम सुरु भएको हो । ०८२ असारमा सम्झौता भएपछि निर्माण कम्पनीले काम गरिरहेको छ । त्योभन्दा अघि पाँच वर्षसम्म त्यो सडक अलपत्र अवस्थामा थियो ।

तर, अहिले काम नरोकिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले बताए । उनका अनुसार दसैँको समयमा सबै मजदुर पनि घर गएकाले केही समय रोकिए पनि दसैँ सकिएकाले अबको एक–दुई दिनमा काम सुरु हुनेछ । सबै मजदुर कामका लागि आउन थालिसकेका छन् । 

सुझावित समाचार