- संलग्न चार चिनियाँ देशनिकाला
- पर्यटन भिसामा आएकी चिनियाँलाई उद्योग विभागको सिफारिसमा बिजनेस भिसा
- बारामा प्रहरीले रोक्यो चिनियाँसँग मध्यरातमा हुन लागेको बालविवाह
नेपालमा चिनियाँको अपराध पछिल्ला वर्ष बढ्दै गएको छ । उनीहरूले साइबर अपराध, कल बाइपास, अवैध मुद्राको कारोबारदेखि सुन तस्करी मात्रै होइन, नेपाली युवतीलाई ‘दुलही’ बनाएर चीन तस्करी गर्नेसम्मको धन्दा चलाएका छन् । बुधबार अध्यागमन विभागले देशनिकाला गरेका चार चिनियाँ रुई झाओ, लुई युफान, पुइजेन अलन वाङ र च्या यान बोको धन्दा पनि नेपाली युवतीलाई ‘दुलही’ बनाएर चीन तस्करी गर्ने नै थियो ।
नेपालमा होटेल तथा रेस्टुरेन्टमा लगानी गर्ने भन्दै बिजनेस भिसा लिएका उनीहरूले काठमाडौं म्हेपीमा अवैध म्यारिज ब्युरो चलाएका थिए । अध्यागमन विभागका अनुसार सिंगै घर भाडामा लिएका उनीहरूले ह्वाट्सएप, इन्स्टालगायत सामाजिक सञ्जाल प्रयोग गरेर आकर्षक तलबको प्रलोभनमा नेपाली युवती भेला गर्थे । म्यारिज ब्युरोको नाममा घरभित्र कोठी नै सञ्चालन गरेका थिए । सम्पर्कमा आएका युवतीलाई घरभित्र लगेर प्रभाव र दबाबमा पारी नंग्न फोटो र भिडियो खिच्थे । आफैँले शारीरिक शोषणसमेत गरेपछि चीनमा रहेका नागरिकसँग ह्वाट्सएपमार्फत सम्पर्क गराउँथे । चिनियाँ नागरिकलाई युवतीसँग विवाहको प्रस्ताव राख्न लगाउँथे । सहजै प्रस्ताव स्वीकार नगर्ने युवतीलाई नग्न फोटो र भिडियोको त्रास देखाउँदै बाध्य बनाउँथे । यस प्रयोजनका लागि उनीहरूले भाषा ट्रान्सलेटर नै राखेका थिए । यही प्रक्रियाबाट उनीहरूले एक सयभन्दा धेरै युवतीलाई जबर्जस्ती ‘दुलही’ बनाएर चीन तस्करी गरेको विभागको दाबी छ ।
तर, पीडित कोही पनि उजुरी दिन तयार नभएपछि अनुसन्धान प्रक्रिया अघि नबढेको र चारै चिनियाँलाई देशनिकाला गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले बताए । ‘उनीहरूले म्हेपीमा सिंगै घर भाडामा लिएका रहेछन् । उक्त घरमा नेपाली युवती भेला गर्ने रहेछन् । उनीहरूलाई सामाजिक सञ्जालमार्फत चीनमा रहेका चिनियाँ युवासँग भेट गराइदिने रहेछन् । उताबाट विवाहको प्रस्ताव आउने र युवतीलाई उक्त प्रस्ताव स्वीकार गर्न बाध्य पार्दा रहेछन् । त्यसपछि दुलही बनाएर चीन पुर्याउने रहेछन्,’ अनुसन्धानमा संलग्न ढकालले भने, ‘अनुसन्धानका क्रममा उनीहरूको साथबाट १५० नेपाली युवतीको सूची भेटिएको छ । यसले ठुलो संख्यामा नेपाली युवतीलाई दुलही बनाएर चीन लगेको देखाउँछ । तर, कुनै पनि युवती जाहेरी दिन तयार छैनन् ।’
उनीहरूले अवैध धन्दा चलाएको सूचनापछि काठमाडौं अपराध अनुसन्धान कार्यालयको सहयोगमा विभागको टोली गत साता म्हेपीस्थित उनीहरूले लिएको भाडाको घरमै पुगेको थियो । घरको गेट बन्द थियो । गेट तोडेर भित्र छिर्दा ई झाओ, लुई युफान, पुइजेन अलन वाङ र च्या यान बो घरमै थिए । प्रहरीसहितको टोली घरभित्र छिरेपछि उनीहरूले उल्टै आक्रमण गर्न खोजेका थिए । उनीहरूले आसपासमा रहेका चिनियाँ नागरिकलाई समेत बोलाएका थिए । प्रहरीको चेतावनीपछि मात्रै उनीहरू हच्किएका थिए ।
प्रहरीका अनुसार कोठाभित्र प्रवेश गर्दा एक चिनियाँ नागरिक नेपाली युवतीसँग नग्न अवस्थामा भेटिएका थिए । कोठा असरल्ल देखिन्थ्यो । प्रहरीले उनीहरूका अन्य सामग्रीसहित मोबाइल बरामद गरेको थियो । मोबाइलमा नेपाली युवतीको नांगो भिडियो, फोटोलगायत आपत्तिजनक दृश्य कैद भएको भेटियो ।
‘उनीहरूले भाडामा लिएको घरमा पुग्दा एक चिनियाँ नागरिक नेपाली युवतीसँग आपत्तिजनक अवस्था भेटिए । घरमा अन्य युवती पनि थिए । चिनियाँ नागरिक पक्राउ परे । उनीहरूको मोबाइल बरामद गरेर अनुसन्धान गर्दा नेपाली युवतीको नग्न भिडियो, फोटोलगायतका दृश्य फेला पर्यो । उनीहरूले नेपाली युवतीलाई शोषणसमेत गरेको देखाउँछ,’ विभागका प्रवक्ता ढकालले भने ।
विभागले उनीहरूलाई अध्यागमन ऐन, २०४९ को दफा ९(१) अनुसार प्रतिव्यक्ति ५० हजार जरिवाना र तीन वर्षसम्म नेपाल आउन नपाउने गरी देशनिकाला गरेको छ । भिसाविपरीत गतिविधिमा संलग्न रहेको भेटिएपछि देशनिकाला गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।
‘चार चिनियाँ नागरिकलाई देशनिकाला गरिएको छ । उनीहरू विगत वर्ष दिनदेखि नेपाल बस्दै आएको देखिन्छ । उनीहरूले होटेल तथा रेस्टुरेन्टमा लगानी भित्र्याउने भनेको देखियो । तर, गतिविधि हेर्दा हालसम्म उनीहरूले एक रुपैयाँ पनि लगानी ल्याएको देखिँदैन । बरु उल्टो महिलाविरुद्धको अपराधमा संलग्न रहेको देखियो । त्यसैले देशनिकाला गरिएको हो,’ उनले भने ।
अध्यागमन नियमावली, २०५१ को नियम २०(१)मा ‘विदेशीले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो सोबाहेक काम गर्न नपाउने’ उल्लेख छ । सोही नियमावलीको नियम २८ मा ‘भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशी नागरिकको भिसा विभागले जुनसुकै वेला रद्द गर्न सक्ने’ भनिएको छ । नियम २८(झ) मा भनिएको छ, ‘जुन उद्देश्यका लागि भिसा प्रदान गरिएको हो, सोअनुरूपको कार्य नगरी अन्य काम–कुरा गरेमा वा जुन प्रयोजनका लागि भिसा लिएको हो, सो समयअगावै त्यस्तो प्रयोजन समाप्त भएमा अध्यागमनले त्यस्ता विदेशी नागरिकको भिसा रद्द गर्न सक्नेछ । विशेषगरी भिजिट र बिजनेस भिसामा नेपाल बस्ने विदेशी नागरिकको गतिविधि अध्ययन गरी शंकास्पद देखिएमा कारबाही प्रक्रिया अघि बढाउनेछ ।’ अध्यागमन अधिकृतले अनुसन्धान गर्दा कसुरदार देखिए विभागका महानिर्देशकले त्यस्ता विदेशी नागरिकलाई ५० हजार जरिवाना र देशनिकालासम्म गर्न सक्ने व्यवस्था छ ।
पर्यटन भिसामा आएकी चिनियाँलाई उद्योग विभागको सिफारिसमा बिजनेस भिसा
देशनिकाला गरिएकामध्ये पुइजेन अलन वाङ (महिला) ५ नोभेम्बर ०२४ मा नेपाल आएकी थिइन् । पर्यटन भिसामा नेपाल बसेकी उनी अधिवक्ता गोविन्द सापकोटा (पूर्वसिडिओ)को सम्पर्कमा पुगिन् । बिजनेस भिसा बनाउन सघाउन भनिन् । सापकोटाले एक लाख रुपैयाँ लिएर आवश्यक कागजात तयार पारिदिएको अनुसन्धानमा खुलेको छ । सापकोटाले नै कम्पनी रजिस्ट्रारको कार्यालयमा ह्वाइट ड्रयागन नेपाल प्रालि नामको उद्योग दर्ता गराइदिएका थिए । २१ असोज ०८२ मा दर्ता भएको उद्योगमा सेयरहोल्डर जियन झी फेङ, हु नन्दु, अङि फे, दान यु रहने भनिएको छ । उनीहरूको कम्पनीमा ५० लाख रुपैयाँ लगानी रहने भनिएको छ । तर, उक्त उद्योग कतै फेला पर्न सकेको छैन ।
देशनिकाला गरिएका रुई झाओ १८ मे ०२५ मा नेपाल आएका थिए । पर्यटन भिसामा नेपाल बस्दै आएका उनलाई पनि सापकोटाले नै एक लाख लिएर बिजनेस भिसाका लागि आवश्यक कागजात बनाइदिएका थिए । उक्त कागजात उद्योग विभागमा दर्ता गराएपछि विभागले निर्णय नं. ६७०१ मार्फत झाओलाई ३० साउन ०८२ मा बिजनेस भिसा दिन सिफारिस गरिदिएको थियो । विभागमा पेस गरिएको कागजातअनुसार झाओले होटेल तथा रेस्टुरेन्टमा लगानी गर्ने भनेका छन् । जसमा स्थिर पुँजी सात करोड २५ लाख र चालू पुँजी ७५ लाख रुपैयाँ गरी कुल आठ करोड राखिएको छ । प्रस्तावना–पत्रमा उल्लेख भएअनुसार उनीहरूले ६३ जनालाई रोजगार दिने, ६० सिटको रेस्टुरेन्ट र २४ बेडको होटेल खोल्ने भनिएको छ । तीन सिफ्टमा काम हुने भनिएको उक्त होटेल र रेस्टुरेन्ट काठमाडौं महानगरपालिका– १ मा रहने भनिएको छ ।
उनीहरूसँगै देशनिकालामा परेका लुई युफानले पनि होटेल तथा रेस्टुरेन्टमा नै लगानी गर्ने भनेका छन् । उनको कागजात पनि अधिवक्ता सापकोटाले नै तयार गरेका हुन् । आठ करोड ल्याउने भनिएको उक्त होटेल तथा रेस्टुरेन्टमा स्थिर पुँजी सात करोड २४ लाख र चालू पुँजी ७६ लाख राखिएको छ । काठमाडौं– २८ मा सञ्चालन गर्ने भनिएको उक्त होटेल तथा रेस्टुरेन्टमा पनि ६३ जनाले रोजगार पाउने, ६० सिटको रेस्टुरेन्ट र २४ बेडको होटेल हुने, दिनमा तीन सिफ्ट काम हुने भनिएको छ ।
त्यस्तै, देशनिकालामा परेका च्या यान बोको भने भिसा सकिएको थियो । ओभर स्टे भएपछि उनलाई विभागले देशनिकाला गरेको हो । सोचनीय के छ भने होटेल तथा रेस्टुरेन्टमा लगानी गर्ने भनेर कम्पनी खोलेका कसैले पनि हालसम्म एक रुपैयाँ पनि लगानी भित्र्याएका छैनन् । न उनीहरूले कम्पनी रजिस्ट्रारको कार्यालय र उद्योग विभाग नै देखेका छन् ।
प्रहरीसँगको बयानमा उनीहरूले भनेका छन्, ‘हाम्रो सबै कागजात गोविन्द सापकोटाले तयार गरेका हुन् । हामी उनीबाहेक अन्य कसैलाई चिन्दैनौँ । कम्पनी रजिस्ट्रारको कार्यालय र उद्योग विभाग कहाँ छ थाहा छैन । हामीले हालसम्म कुनै लगानी भित्र्याएका छैनौँ । बिजनेस भिसामा नेपाल बस्दा सजिलो हुन्छ भनेर साथीहरूले सुनाए । हामीले सापकोटालाई आग्रह गर्यौँ । सबै कागजात उनैले तयार गराइदिएका हुन् । त्यसबापत एक लाख रुपैयाँ दिएको हो ।’
अनुसन्धानमा खटिएका अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भने–पीडित कोही पनि उजुरी दिन तयार नभएपछि अनुसन्धान प्रक्रिया अगाडि बढ्न सकेन
चिनियाँहरूले म्हेपीमा सिंगै घर भाडामा लिएर नेपाली युवती भेला गर्ने रहेछन् । उनीहरूलाई सामाजिक सञ्जालमार्फत चिनियाँ युवासँग भेट गराइदिने, उताबाट विवाहको प्रस्ताव राख्न लगाउने र युवतीलाई प्रस्ताव स्वीकार्न बाध्य पारिँदो रहेछ । त्यसपछि दुलही बनाएर चीन पुर्याउने रहेछन् । अनुसन्धानका क्रममा उनीहरूको साथबाट १५० युवतीको सूची भेटिएको छ । यसले ठुलो संख्यामा नेपाली युवतीलाई दुलही बनाएर चीन लगेको देखाउँछ । तर, कुनै पनि युवती जाहेरी दिन तयार छैनन् ।
उनीहरूले भाडामा लिएको घरमा पुग्दा एक चिनियाँ नेपाली युवतीसँग आपत्तिजनक अवस्था भेटिए । घरमा अन्य युवती पनि थिए । चिनियाँ नागरिक पक्राउ परे । उनीहरूको मोबाइलमा नेपाली युवतीको नग्न भिडियो, फोटोलगायतका दृश्य फेला पर्यो । उनीहरूले युवतीलाई शोषणसमेत गरेको देखाउँछ ।
चीन पुर्याएपछि बनाइन्छन् यौनदासी र घरेलु मजदुर
नेपालबाट ‘दुलही’ बनाएर चीन पुर्याइएका युवतीले त्यतिवेला मात्रै आफूलाई फसाइएको थाहा पाउँछन्, जब त्यहाँ यौनदासी र घरेलु मजदुर बनाइन्छन् । प्रहरीका अनुसार ‘दुलही’ बनाएर चीन लगिएका युवतीहरूलाई यौनदासी बनाउने, घरेलु मजदुरका रूपमा प्रयोग गर्ने, शारीरिक तथा मानसिक यातना दिने हर्कत हुन्छ । यातना भोगेर नेपाल फर्किएका कैयौँ युवतीले प्रहरीमा उजुरी दिएका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार उनीहरूको भोगाइ दर्दनाक छ । ‘दुलहीका रूपमा नेपाली युवतीको चीनमा तस्करी हुने गरेका घटना धेरै छन् । केहीलाई हामीले कारबाहीसमेत गरेका छौँ,’ उनले भने, ‘चिनियाँ युवा नेपाल आएर नेपाली युवतीलाई अनेक प्रलोभन दिएर विवाह गर्छन् । चीन लगेपछि घरेलु मजदुर बनाउनेदेखि अनेक यातना दिने गरेको पाइन्छ ।’
प्रहरीले रोक्यो चिनियाँसँग मध्यरातमा हुन लागेको बालविवाह
बारामा इन्दीप कोइराला
चिनियाँ युवासँग मध्यरातमा हुन लागेको बालविवाह प्रहरीले रोकेको छ । बाराको करैयामाई गाउँपालिका– १ मा मुस्लिम समुदायकी १८ वर्षीया नावालिग र पर्यटक भिसामा नेपाल आएका २२ वर्षीय चिनियाँ नियु युबिनबिच बुधबार राति विवाहको तयारी भइरहँदा प्रहरीले रोकेको हो । चीनको गान्सु प्रान्तका युबिनसहित बालिका र उनका बाबुलाई पक्राउ गरी अनुसन्धान पनि अघि बढाएको छ । नेपालको कानुनले विवाहका लागि २० वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरेको छ ।
‘चिनियाँ युवकसँग विवाहको उमेर नै नपुगेकी बालिकाको मध्यरातमा विवाह हुँदै छ भन्ने सूचना पाएपछि तत्कालै प्रहरी विवाहस्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको छ,’ बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले भने, ‘उनीहरूलाई जिप्रका कलैयामा राखेर थप अनुसन्धान गरिरहेका छौँ ।’ प्रहरीले यो घटनालाई मानव बेचबिखन तथा आर्थिक प्रलोभनमा आधारित विवाह र अन्तर्राष्ट्रिय बिचौलियाको संलग्नताजस्ता अनेक कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौंमा बस्ने युवतीका आफन्तसँगको नेटवर्कमार्फत चिनियाँ युवकसँग विवाहको प्रबन्ध मिलाइएको र ती युवक विवाहकै उद्देश्यले युवतीको घरमा आएको सूचना आफूले पाएको वडाध्यक्ष सोनालाल साहले बताए ।