हेटौँडामा सडक विस्तारका लागि विशेष टास्क फोर्स गठन

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

हेटौँडा बजार क्षेत्रमा लामो समयदेखि विवाद हुँदै आएको सडक विस्तार प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रशासनले सक्रिय भएको छ । पटक–पटक सूचना प्रकाशनमा मात्र सीमित हुँदै आएको सडक विस्तार कार्यलाई कार्यान्वयनतर्फ अघि बढाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरोकारवाला सबै निकायको संयुक्त सहभागितासहित विशेष ‘टास्क फोर्स’ गठन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार बसेको बैठकले सडक डिभिजन कार्यालय मकवानपुरका इन्जिनियर यादव सुवेदीको संयोजकत्वमा टास्क फोर्स गठन गरेको छ । उक्त टोलीमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित कार्यालयका प्रतिनिधिहरू सदस्य रहेका छन् । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै रहने व्यवस्था गरिएको छ ।समितिले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत सडक सीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनाहरूको रेखांकन गर्ने, रङ लगाउने तथा आवश्यक कानुनी कारबाही अघि बढाउने जिम्मेवारी पाएको छ । टोलीले बुधबारबाटै माइकिङसहित प्रारम्भिक काम सुरु गरिसकेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सडक विस्तारका क्रममा विद्युत्, खानेपानी, टेलिफोनजस्ता अत्यावश्यक सेवा अवरुद्ध नहोस् भनी सम्बन्धित कार्यालयसँग निरन्तर समन्वय भइरहेको छ । यसले काम सहज हुने अपेक्षा गरिएको छ । प्रदेश राजधानीसमेत रहेको हेटौँडालाई सुरक्षित, सुन्दर र बस्नयोग्य सहरका रूपमा विकास गर्न सडक विस्तार अनिवार्य भएको उनले बताए । 

एसियाली विकास बैंक (एडिबी)बाट आवश्यक स्रोत सुनिश्चित भइसकेकाले अब यो आयोजना कुनै हालतमा नरोकिने उनको भनाइ छ । ‘सीमाक्षेत्रभित्र पर्ने संरचना घरधनी स्वयंले हटाइदिए सडक विस्तार अझ सहज हुन्छ,’ उनले भने, ‘सबैलाई जितको अनुभूति हुने गरी पारदर्शी र प्रभावकारी ढंगले काम अघि बढाउँछौँ ।’

सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन १५ दिनको समय दिएको छ । रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्य भागबाट दायाँ–बायाँ २५–२५ गजभित्र पर्ने स्थायी तथा अस्थायी संरचना स्वत: हटाउन आग्रह गरिएको छ । 

See More On

सुझावित समाचार