तीन लाखसम्म बुझाएर गएका आठ नेपाली महिला कतारमा अलपत्र

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण
  • कम्पनी छाडेको भन्दै उल्टै म्यानपावर कम्पनीका अध्यक्षले हाले उजुरी, दूतावासले सुनुवाइ नगरेको पीडितको गुनासो

श्रम स्वीकृति लिएर कोटेश्वरको रेसनल ओभरसिज म्यानपावर कम्पनीमार्फत कतारमा ड्राइक्लिनरको काममा लगिएका आठ नेपाली महिला सम्झौताअनुसार पारिश्रमिक नदिई अन्य काममा लगाएको भन्दै दूतावास गुहार्न पुगेका छन् । 

पाँचथरको हिलिहाङ गाउँपालिका– ३ गोपेटारकी फुपु शेर्पा, उनकी दिदी दालामु शेर्पा, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–६ इचोककी मंगली तामाङ र उनकी फुपू दिदी राम्री तामाङ कतारस्थित नेपाली दूतावास गुहार्न पुगेका हुन् । त्यस्तै, भोजपुरको भोजपुर नगरपालिका– १२ टक्सारकी शर्मिला कार्की र रामप्रसाद राई नगरपालिका– ५ मानेभन्ज्याङकी विनिसा थापा, डोल्पाको जगदुल्ला गाउँपालिका– ६ ज्याकोटकी सम्झना रोकाया र बाँकेको बैजनाथ गाउँपालिका– २ नौबस्ताकी चन्द्रकला सुनारसहित आइतबार बिहान ११ बजे दूतावास गुहार्न पुगेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले बताए ।

दूतावासमा बिहान ११ बजेदेखि अप्ठ्यारोमा परेका नेपाली पुगेको थाहा पाएलगत्तै एनआरएनएका द्वितीय उपाध्यक्ष सन्तोष पौडेल र तृतीय उपाध्यक्ष जहागिर आलमलाई पठाएर कार्यालय समयसम्म घचघच्याउँदा पनि दूतावासले बेवास्ता गरेको उनले बताए । ‘कतारमा कार्यरत नेपाली श्रमिकहरूका लागि एनआरएनसँग दूतावासले समन्वय नै गर्न चाहँदैन,’ तृतीय उपाध्यक्ष आलमले भने, ‘कार्यालय समय सकिएसँगै साँझ ५ बजे आश्रयस्थल छैन भन्दै कार्यवाहक राजदूत कुमार राईसहितका कर्मचारीहरू हिँडेपछि राति करिब साढे ८ बजेतिर आठजनाको कानुनी प्रक्रिया नहुन्जेलसम्मका लागि कतारस्थित महिला समाजको जिम्मा लगायौँ ।’ 

मासिक पारश्रमिक पाँच सय, त्यो पनि दिएनन् 
काठमाडौं महानगरपालिका– ३२ कोटेश्वरस्थित रेसनल ओभरसिजमार्फत दैनिक आठ घण्टा काम गरेबापत मासिक एक हजार पाँच सय रुपैयाँ पाइने भन्दै कतार पुर्‍याइएपछि पासपोर्टसमेत खोसेको सिन्धुपाल्चोकको हेलम्बु घर भएकी मंगलीले बताइन् । ‘अस्पतालको कामको भिसा भनेपछि म्यानपावरलाई दुई लाख ७० हजार रुपैयाँ बुझाएर गत २० असारमा कतार आएकी हुँ,’ नयाँ पत्रिकासँगको टेलिफोन सम्पर्कमा बैजनाथ– २ नौबस्ता घर भएकी चन्द्रकला सुनारले भनिन्, ‘अहिलेसम्म एक महिनाको पाँच सय कतारी रियालबाहेक तीन महिनाको पारिश्रमिक नै दिएको छैन ।’ स्थानीय कम्पनीले पठाएको ठाउँमा हरेक दिन बिहान सबेरैदेखि राति १२ बजेसम्म काममा जोतिनुपरे पनि पारिश्रमिक भनेबमोजिम नपाएपछि दूतावासलाई गुहार्न आएको उनले बताइन् ।

म्यानपावरका कर्मचारी र एजेन्टमार्फत झुक्याएर कतार पुर्‍याइएपछि भनेअनुसारको काम र पारश्रमिक नपाउनेले काठमाडौंमै दुई लाख ४० हजारदेखि तीन लाख रुपैयाँसम्म बुझाएको पीडित रोकायाले बताइन् । ‘हामीलाई भनेअनुसारको काम र पारिश्रमिक दिइनुपर्‍यो,’ उनले भनिन्, ‘अन्यथा अर्को कम्पनीमा काममा लगाइदिनुपर्‍यो ।’  काठमाडौंस्थित म्यानपावरका अध्यक्षसमेत रहेका लोकेन्द्रबहादुर कार्कीले कतारमा आफ्नो नाममा अमाज साइन र श्रीमतीको नाममा स्पेयर फाइभ सर्भिस दर्ता गरेर चलाइरहेको पीडितहरूले सुनाए । ‘काठमाडौंबाट कतार ल्याएपछि त्यही कम्पनीमा आउने अनलाइन मागका आधारमा हामीलाई पठाइनेरहेछ,’ भोजपुर मानेभन्ज्याङ घर भएकी विनिसा थापाले भनिन्, ‘ड्राइक्लिनरको काम भनेर लगियो, तर काम र पारिश्रमिकको टुंगो छैन ।’

कम्पनी छाडेर भागेको भन्दै फर्जी उजुरी
ऋण कर्जा गरेर कतार पुगेकाले काम र पारिश्रमिकको टुंगो नभएपछि दूतावास गुहार्न गएकै दिन आइतबार अध्यक्ष कार्कीले उल्टै कम्पनी छाडेर भागेको भन्दै स्थानीय सर्च एन्ड फलो डिपार्टमेन्टमा उजुरी दिएको पीडितहरूको गुनासो छ । ‘हामी कम्पनी छाडेर भागेका होइनौँ,’ भोजपुर टक्सारकी कार्कीले भनिन्, ‘डिपार्टमेन्टबाट तत्काल हाजिर हुनु भनेपछि महिला समाज र परिषद्को सहजीकरणमा सोमबार त्यहाँ पुगेर आफूहरूको भनाइ राखेका छौँ ।’

राम्रो काम र पारिश्रमिक पाइन्छ भन्दै नेपालबाट लगिएका चेलीहरूलाई भनेअनुसारको काम र पारिश्रमिक नदिएको विषयमा कार्कीले बोक्ने कतारको ह्वाट्सएप नम्बरमा पटक–पटक सम्पर्कको प्रयास गरिए पनि सम्भव नै भएन । काठमाडौंस्थित कार्यालयका कर्मचारीले बोक्ने नम्बरमा म्यासेज गरिए पनि कुनै प्रतिक्रिया आएन । 

सुझावित समाचार