काठमाडौं । गुरुमञ्जरी अस्ट्रेलियाको आयोजनामा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटेलमा काठमाडौं उपत्यकाका करिब १,१०० पण्डित तथा पुरोहितको सहभागितामा विशेष सम्मेलन आयोजना गरिएको छ ।
सम्मेलनका अवसरमा अभियानका परिकल्पनाकार पण्डित प्रकाश ढोडारीले नेपाली धार्मिक परम्परामा आवश्यक पर्ने सामग्री नेपालीले नै उत्पादन गर्ने र त्यसको बजार व्यवस्थापन गर्ने उद्देश्यले गुरुमञ्जरी स्थापना गरिएको बताए । पण्डित तथा पुरोहितको हित र धार्मिक सामग्रीको शुद्धता कायम गर्ने अभियानबारे जानकारी गराउन सम्मेलन आयोजना गरिएको उनको भनाइ छ ।
कार्यक्रममा गुरुमञ्जरी अस्ट्रेलियाका प्रशिक्षक ठाकुर भुसालले अभियानअन्तर्गत उत्पादन गरिने सामग्री तथा तिनको बजारीकरणबारे विस्तृत जानकारी दिएका थिए । गुरुवन्दना, भक्तिसंगीत तथा सामूहिक स्वस्तिवाचनबाट सुरु भएको कार्यक्रममा धार्मिक क्षेत्रका अगुवा तथा विद्वानहरूले अभियानको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
विश्व हिन्दु महासंघ नेपालका राष्ट्रिय सभापति अरुणकुमार पाण्डेले धर्मसँगै अर्थ पनि पुरुषार्थ भएकाले पण्डित तथा पुरोहितहरूले आर्थिक स्वावलम्बनका लागि अग्रणी भूमिका खेल्नुपर्ने बताए । राष्ट्रिय स्वाभिमानका लागि आर्थिक आत्मनिर्भरता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले गुरुहरूले धर्मपूर्वक आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिए ।
नायब बडागुरुज्यू प्रा. डा. माधव भट्टराईले पण्डित तथा पुरोहितहरू एकताबद्ध भएर अधर्मका विरुद्ध काम गर्नुपर्ने बताए । प्रा. डा. देवमणि भट्टराईले धर्मशास्त्रको मर्यादा कायम राख्न गुरुहरू अनुशासन र मर्यादामा रहनुपर्ने धारणा राखे । डा. कान्ता भट्टराईले आवश्यक पूजा सामग्री आफैँ उत्पादन गर्न सके त्यसको शुद्धता कायम गर्न सकिने बताइन् ।
नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष ज्योतिषी लेखनाथ न्यौपानेले बजारमा हवनका लागि अखाद्य तथा विषाक्त घिउ बिक्री भइरहेको भन्दै चिन्ता व्यक्त गरे । आफूले उपभोग गर्दा बिरामी हुने घिउ भगवानका लागि हवनमा प्रयोग गर्दा धार्मिक फल प्राप्त नहुने र पापसमेत लाग्न सक्ने उनको भनाइ थियो ।
ॐकार टेलिभिजनका अध्यक्ष मुकुन्द शर्मा हुमागाईंले आगामी कोटीहोमका लागि आवश्यक पर्ने पूजा तथा हवनका शुद्ध सामग्री गुरुमञ्जरीबाट अर्डर गरेको जानकारी दिए । ज्योतिषी तथा जनैधागो उत्पादक जनार्दन न्यौपानेले तिलको तेल, घिउ, पञ्चपल्लव र ग्रह समिधालगायत सामग्री बजारमा शास्त्रअनुसार शुद्ध रूपमा उपलब्ध हुन नसकेको उल्लेख गर्दै तिनको उत्पादनमा गुरुहरूको ध्यानाकर्षण गराए ।
लक्ष्मीनारायण मठ मटिहानीका महन्त रविन्द्रदास वैष्णवले मठको सयौँ बिघा जमिन बाँझो रहेको उल्लेख गर्दै ती जग्गामा जौ, तिललगायत धार्मिक सामग्री उत्पादन गर्न दिन तयार रहेको बताए । उपप्राध्यापक दीनानाथ पण्डितले कार्यक्रमको सफलताको शुभकामना दिए ।
गोव्रती योगी सोमराजले ब्राह्मण पुरोहितहरूले गौदानबाट प्राप्त रकम गौशालालाई दिनुपर्नेमा जोड दिँदै स्थानीय जातका गाई पालन गर्नुपर्ने बताए । स्थानीय जातका गाईबाट प्राप्त हुने पञ्चगव्य बढी महत्त्वपूर्ण हुने उनको भनाइ छ । युवा अभियन्ता निगम हुमागाईंले अस्ट्रेलियामा राम्रो सेवा दिइरहेको गुरुमञ्जरीले नेपालमा पनि अभियान सुरु गरेकोमा खुसी व्यक्त गर्दै युवाहरूलाई यस अभियानमा जोड्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय संस्कृत विभागका अध्यक्ष प्रा. डा. नारायण गौतम, नेपाल पुरोहित संघका अध्यक्ष देवेन्द्र लम्साल, पत्रकार गोपीकृष्ण ढुंगानालगायतको उपस्थिति थियो । सञ्चारकर्मी दृष्टि वाणी धितालले सञ्चालन गरेको कार्यक्रममा गुरुमञ्जरी नेपालका प्रमुख रवीन ढोडारी र गुरुमञ्जरीका कार्यकारी प्रमुख रुपेश ढोडारीले व्यवस्थापन गरेका थिए । कार्यक्रममा सहभागी पण्डित तथा पुरोहितका लागि गुरुभोजन र दक्षिणाको समेत व्यवस्था गरिएको थियो ।
गुरुमञ्जरीले आफ्नो मोबाइल एपमार्फत पूजा सामग्री तथा गुरु–पुरोहितका सेवा सहज रूपमा उपलब्ध गराउने जनाएको छ । आगामी दिनमा नेपालका सातै प्रदेशमा प्रदेशस्तरीय पुरोहित सम्मेलन आयोजना गर्ने योजना रहेको संस्थापक पण्डित प्रकाश ढोडारीले बताए ।
सन् २०१८ देखि अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतलगायत हिन्दु धर्मावलम्बीको बसोबास रहेका विभिन्न देशमा धार्मिक पूजा सामग्री उपलब्ध गराउँदै आएको गुरुमञ्जरीले यस वर्षदेखि नेपालमा पनि बजार तथा अनलाइन सेवामार्फत पूजा सामग्री उपलब्ध गराउन थालेको जनाएको छ ।