कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टी दर्ता

दर्ता भएका दलको संख्या १२९ पुग्यो

शुक्रबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

ऊर्जामन्त्री कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

२७ साउनमा दल दर्ताका लागि निवेदन परेकोमा मन्त्री घिसिङले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा पार्टी पुनर्गठन गरी २५ कात्तिकमा अद्यावधिक कागजात पेस गरेका थिए। ५१ सदस्यीय केन्द्रीय समिति र ‘बलेको चिम’ चुनाव चिह्न भएको दललाई आयोगले शुक्रबार दर्ता गरेर प्रमाणपत्र दिएको हो।

पार्टीका केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकालले दल दर्तासँगै पार्टीको बृहत् घोषणासभाको तयारी भइरहेको बताए। उनका अनुसार १७ मंसिरमा प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणासभा हुनेछ। पार्टीको घोषणापत्र पनि अन्तिम चरणमा रहेको भन्दै ढकालले समृद्धि र सुशासनको उज्यालो कार्यक्रम ल्याइने बताए।

ढकालले निर्वाचन प्रयोजनका लागि तोकिएको समयभित्रै दल दर्ता गर्ने बताए। उनले पार्टीले एकीकृत वैकल्पिक शक्ति बनाउन थुप्रै पक्षसँग  बृहत् संवाद गरिरहेको पनि बताए।

‘आज हाम्रो देशलाई सुशासन र समृद्धिको उज्यालोले ढकमक्क ढाक्ने महान् उद्देश्यका लागि नेतृत्व गर्न सक्ने यो विशिष्ट शक्तिको जन्म भएको छ। साँच्चै भविष्यले लेख्ने त्यो विकासको गीत हामी कोर्दै छौँ,’ ढकालले भने, ‘छिट्टै भव्य पार्टी घोषणासभा गरिने हुँदा त्यसमा सबै केन्द्रीय सदस्य समर्पित हुने निर्णय भएको कारण आज निर्वाचन आयोगमा खास कुनै विशेष कार्यक्रम नगरिएको  हो।’

ढकालले उज्यालो नेपाल पार्टी मध्यमार्गी सोचको पार्टी भएको र गन्तव्य उन्नत समाजवाद भएको बताए। ‘त्यसैले उन्नत मध्यमार्गी समाजवादको सिद्धान्तबाट यो निर्देशित छ। हाम्रो मुख्य उद्देश्य भनेको गुणस्तरीय पूर्वाधार र समग्रतामा आर्थिक समृद्धि र क्रान्ति नै हो। व्यवस्थामा परिवर्तन आयो, अवस्थामा आएन। किनभने डेलिभरी दिनसक्ने योग्य मान्छेहरू राजनीतिमा आएनन्। गफै गर्ने मान्छे धेरै भए। अब विज्ञहरू, युवामा पनि आर्थिक रूपमा स्वतन्त्र र केही व्यवसाय गरेका आन्टरप्रिनर युथहरूको वर्चश्व हुने गरी हामीले पार्टी बनाएका छौँ,’ ढकालले भने।

विभिन्न स्वरूप र समूहमा रहेका वैकल्पिक स्वतन्त्र शक्तिलाई जोडेर मूलधारको शक्तिको रूपमा अघि बढ्ने बताउँदै उनले थपे, ‘यो सुरुवात मात्र हो। यो स्वतन्त्र वैकल्पिक एकताको मियो हो। हामी विभिन्न स्वरूप र समूहमा रहनुभएका वैकल्पिक स्वतन्त्र शक्तिहरू, अभियन्ताहरू र इमानदार कार्यकर्ताहरू जोडेर एउटा नयाँ मूलधारको शक्तिको रूपमा अघि बढ्न चाहेका छौँ । जसले निर्वाचनपछि यो देशको सत्ता सम्हाल्नेछ।’

उनका अनुसार समानुपातिक सहभागिता, मेरिटोक्रेसी, सही व्यक्त, सही ठाउँलाई पार्टीले मूल मन्त्र बनाएको छ। ‘नेपालको राजनीतिमा लोडसेडिङको अन्धकार थियो। त्यसलाई चिर्नको लाग, गुम्सिएर बसेको चिजलाई जेन–जीहरूले आँटे। यही विद्रोहको जगमा एकखालको उज्यालोको अपेक्षा हो। विकासको अपेक्षा हो। यहाँनेर डेलिभरी दिन विज्ञहरू आउनुपर्याे। भिजनरी युवा आउनुपर्याे, जेन–जीले साथ दिनुपर्याे भन्ने हो,’ उनले भने।

शुक्रबारै योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी र प्रशान्त सिंहको पिपुल फर्स्ट पार्टी पनि दर्ता भएका छन्। यससँगै आयोगमा दर्ता भएका दलको संख्या १२९ पुगेको छ।

सुझावित समाचार